‘फ्रेन्च फ्राइ मुखमा हाल्न खोज्दा पनि मिडिया सम्झेर झसङ्ग हुन्छु’ (भिडिओ) – Nepal Press

‘फ्रेन्च फ्राइ मुखमा हाल्न खोज्दा पनि मिडिया सम्झेर झसङ्ग हुन्छु’ (भिडिओ)

काठमाडौं । उनी न सिने क्षेत्रमा कसैको बुई चढेर आएकी थिइन् न त उनलाई डोर्‍याउने नै कोही थिए । उनले आफ्नो बाटो आफैं खनिन् । लड्दै-पड्दै हिँडिरहिन् । र, आज आफ्नो एउटा अलग नाम बनाउन सफल भएकी छन् ।

हो, यहाँ कुरा हुँदैछ नायिका आँचल शर्माको । सात वर्षअगाडि ‘नाईं नभन्नु ल’ को चौंथो सिक्वेलबाट नेपाली फिल्म इन्डष्ट्रीमा पाइला राखेकी आँचल अहिले चल्तापुर्जा नायिकाको सूचीमा पर्छिन् । उनलाई चर्चाको कमी कहिल्यै भएन । तर, विवादले पनि कहिल्यै नाता तोडेन । अनेक खालका कन्ट्रोभर्सीका बीच उनले दिनदिनै आफूलाई निखार्दै लगेकी छन् ।

आँचल अभिनित पछिल्लो चलचित्र ‘नाईं नभन्नु ल ६’ अहिले हलहरुमा चलिरहेको छ । यो त्यही सिक्वेल हो, जसबाट उनले डेब्यु गरेकी थिइन् । त्यसैले उनका लागि विशेष हुने नै भयो । आँचल त्यो दिन सम्झिरहेकी छन्, जब उनी ‘नाईं नभन्नु ल ४’का लागि अडिसन दिन पुगेकी थिइन् । कसैले प्रोत्साहन दिएर होइन, आफ्नै सुरले अडिसन दिन गएकी आँचल पहिलो प्रयासमै सफल भइन् ।

पहिलो चलचित्र गर्दा उनलाई यस क्षेत्रबारे केही ज्ञान थिएन । चलचित्रका लागि त उनी एउटा बच्चा जस्तै थिइन्, जसलाई यस क्षेत्रको नीति-नियमबारे केही थाहा थिएन । यहाँ अभिनय गरेरमात्रै पुग्दैन, चाकडी, चाप्लुसी र राजनीति पनि गर्नुपर्छ भन्ने पत्तो थिएन । उनी भिज्दै गइन् । विस्तारै समयसँगै परिपक्व हुँदै गइन् । यद्यपि अझै पनि बेलाबेला उनी चिप्लिरहन्छिन् अक्सर आफ्नो बोलीले गर्दा ।

धेरै कमलाई थाहा छ, आँचल एउटा सौन्दर्य प्रतियोगिताको विजेता पनि हुन् । एसएलसी सकिएलगत्तै उनले विभिन्न सौन्दर्य प्रतियोगिताहरुमा सहभागिता जनाएकी थिइन् । त्यसमध्ये २०१५ मा आयोजना भएको ‘मिस ंप्लस २ नेपाल’ मा उनी पहिलो भइन् । त्यसपछि नै उनमा ग्ल्यामर क्षेत्रप्रति नजानिँदो आकर्षण बढेको हो ।

सौन्दर्य प्रतियोगिताहरुबाट केही हदसम्म ग्रुम भएर आए तापनि त्यो बेला उनी धेरै कुरामा अञ्जान नै थिइन् ।

विगतमा फर्कँदै भन्छिन्, ‘साँच्चै भन्ने हो भने त्यो आँचललाई यस क्षेत्रमा यति धेरै वर्ष निरन्तरता दिनु नै थिएन । तर, नचाहँदा नचाहँदै आज मेरो अभिनयको यात्रा ७ वर्षको भइसकेछ । अब भने यो क्षेत्रलाई कसरी अंगाल्ने भनेर लागिपरेको छु ।’

उनको अनुहार अचानक भावुक देखिन्छ, ‘म त्यो बेला एकदमै सीधा रहेछु । चाहिनेभन्दा पनि धेरै सीधा । म सधैं म भएँ । दायाँबायाँ मलाई मन पर्दैन थियो । तर, मलाई हेर्ने व्यक्तिहरुले भने म अर्कै भएर निस्कियोस् भन्ने चाहनुहुँदोरहेछ । जुन म कहिल्यै भइनँ ।’

आफ्नो अन्तरमुखी स्वभावका कारण सदैव विवादको शिकार भएको हुनसक्ने आँचलको अनुमान छ ।

उनी भन्छिन्, ‘त्यो समय म अलि लचिलो, सहज र खुला किताब झैँ भइदिएको भए अहिले यसरी पल-पल विवादमा पर्दिन थिएँ होला । मान्छेहरुमा कलाकार भएपछि अलि खुला होस्, हाँसेर बोल्दियोस्, सहज भइदियोस्, हग गरोस्, किस-सिस खाइदियोस् भन्ने धारणा हुँदोरहेछ । तर, यसका लागि म कहिल्यै तयार थिइनँ ।’

आफू जे हो त्यसैमा प्रस्तुत हुन रुचाउने आँचल आफैंसँग रमाउन मनपराउँछिन् । चित्त नबुझेको कुरामा उनी चुप रहन सक्दिनन् । उनलाई काम पाउनैमात्र भनेर चाप्लुसी गरेको र मीठो बोलेको मन पर्दैन रे ! बरु रुखो बोल्ने तर सत्य बोल्ने मान्यतामा विश्वास गर्छिन् ।

‘मलाई कुनै व्यक्तिले राम्रो अफर गर्दै हुनुहुन्छ । तर, उहाँले मलाई हेपेको, तल पार्न खोजेको अथवा ममाथि हावी हुन खोजेको जस्तो महसुस भयो भने म त्यो काम छाड्दिन्छु । मलाई आफ्नो आत्मसम्मान गुमाएर कुनै काम गर्नु थिएन र छैन’, उनी खुलिन् ।

सुरुका दिनहरुमा उनलाई आफ्ना यस्तै बानीहरुले यस क्षेत्रमा टिक्न गाह्रो हुन्छ कि जस्तो महसुस हुन्थ्यो । तर, त्यस्तो भएन ।

‘आफ्नो काम धर्म निभाएर गर्छु । तर, कामको लागि आफ्नो धर्म छाड्दिनँ । भोलिको दिनमा फर्केर हेर्दा आफैंप्रति गुनासो नहोस्’, नेपाल प्रेससँग गफिँदै भन्छिन्, ‘म फेक छैन, जसको फलस्वरुप आज मेरो घर राम्रो छ । आज म व्यक्तिगत र व्यवसायिक दुवै ठाउँमा खुशी छु । आजको स्थानसम्म आइपुग्न मैले कदम कदममा मेहनत गरेकी छु । जस्तो कठिनाइमा पनि हिम्मत नहारी जग हालेकी छु । त्यतिकै घर कहाँ बन्छ र ?’

प्रेम र विवाह

आँचलको जिन्दगीमा सन् २०१८ ले नयाँ ट्विस्ट ल्यायो । उनी प्रेममा परिन् । सहजै कसैसँग नपग्लिहाल्ने आँचलको लभस्टोरी कसरी सुरु भयो ? त्यो पनि विल्कुलै फरक क्षेत्रको व्यक्तिसँग ? यो पनि खोतलिहालौं ।

बालुवाटारमा अवस्थित ‘हेल्दी च्वाइस’ का सञ्चालक उदीप श्रेष्ठ पेशाले डाक्टर हुन् । उनी कपाल प्रत्यारोपणमा चर्चित छन् । पोषण विशेषज्ञ (डाइटिसियन)समेत हुन् ।

आँचलको उदीपसँग पहिलो भेट उनकै क्लिनिकमा भएको थियो । उनी आफ्नो तौल र डाइटबारे सल्लाह लिन त्यहाँ पुगेकी थिइन् । त्यसपछि तौल र डाइटबारे कन्सल्ट गर्न उनीहरु बेलाबेला फोनमा बोल्ने गर्थे । सोही भेट र कहिलेकाहीं हुने कुराकानी बिस्तारै प्रेममा परिणत भयो ।

प्रेमको पहिलो संकेत भने उदीपले नै जताएको आँचलले बताइन् । पहिलाका दिन स्मरण गर्दै आँचल सुनाउँछिन्, ‘उहाँसँग म डाइटको बारेमा सुझाव लिन सम्पर्क गर्थें । तर, एकदिन उहाँ व्यवसायिक हिसाबले भन्दा पनि अलि पर्सनल तवरले प्रस्तुत हुनुभयो । सधैं तपाईं भन्ने मान्छे तिमी भनिरहनुभएको थियो । त्यहीबाट मैले संकेत पाएँ ।’

केही समयको बोलचालपछि २०७५ कात्तिक १४ (२०१८, अक्टोबर ३१) मा आँचल र उदीपको पहिलो डेटवाला भेट भयो । फर्मल सर्ट पेन्ट लगाएर आएका उदीपलाई भेट्न आँचल भने विनामेकअप सामान्य हुलियामा गएकी थिइन् । सोही सामान्यपनले उदीपको मन छोएको उनको भनाइ छ ।

आँचल पनि उदीपप्रति लर्कंदै थिइन् । उदीपको सीधापन, फिटनेस र जहाँ गए पनि टिपटप भएर हिँड्ने बानीले उनलाई लोभ्याइरहेको थियो । त्यसैले अन्ततः उनले पनि ग्रीन सिग्नल दिइहालिन् । दुवै प्रेमको तलाउमा डुबुल्की मार्न थाले ।

करिब दुई वर्ष प्रेम सम्बन्धमा रहेपछि यी दुईले विवाह गर्ने निर्णय गरे । सन् २०२० मा लगनगाँठो कसियो । आँचल छोरीबाट बुहारी बनिन् । कसैकी अर्धाङ्गिनी बनिन् ।

कलाकारको विवाह हुँदा चर्चा हुनु सामान्य हो । तर, यो जोडीको विवाहले भने केही समय सामाजिक सञ्जाल नै तताएको थियो । आँचलले रिसेप्सनमा लगाएको १६ लाखको लेहेङ्गा अनि रिसेप्सन भेन्युसम्म पुग्न चार्टर्ड गरिएको हेलिकोप्टर अधिकतम समाचारको हेडलाइन बन्यो । मिडियालाई गसिपको गजब मसला मिल्यो । उनको विवाहको तडकभडकलाई लिएर प्रशस्तै ट्रोल पनि बने ।

आँचलको विवाह अन्तरजातीय पनि थियो । तर, पारिवारिक रुपमा यसले कुनै समस्या निम्त्याएन । आफूलाई अर्को संस्कृतिमा भिज्न गाह्रो नभएको उनको अनुभव छ । आर्यन समुदायमा हुर्किएकी उनलाई नेवार संस्कृति नजानेर झमेला हुन्छ कि भन्ने चिन्ता थियो । तर, विवाहपछि भने उनले आफ्नो सोचाइ र वास्तविकतामा बिल्कुलै भिन्नता पाइन् । घरमा सबै परिवार बुझ्ने र शिक्षित भएकाले सबै कुरा सजिलो भएको आँचलको बुझाइ छ ।

‘मलाई झन् फाइदा भयो । एउटै संस्कृतिको व्यक्तिसँग विवाह भएर केही थाहा नभएको भए उसलाई यति पनि किन आएन भन्ने प्रश्नहरु उब्जिन्थ्यो । तर, फरक संस्कृति भएकाले विचरा जान्दिनन् भनेर माया गरेर सिकाउनुहुन्थ्यो । एक वर्षसम्म त मैले केही छुनै परेन । विस्तारै सिक्ने मौका पाएँ । अहिले त धेरै कुराको ज्ञान भइसक्यो’, उनले फरर सुनाइन् ।

वर्ष २०२३ लागेसँगै आँचल र उदीप वैवाहिक बन्धनमा बाँधिएको तीन वर्ष पूरा भएको छ । तर, उनीहरुले बच्चाको प्लान गरेका छैनन् । अझै केही वर्ष चलचित्र क्षेत्रमा आफ्नो १०० प्रतिशत दिन चाहन्छिन् आँचल । त्यसैले पनि बच्चाका लागि उनलाई हतार छैन । आमा भइसकेपछि यस क्षेत्रबाट केही समय ग्याप लिने उनको सोच छ ।

‘बच्चाको लागि अहिले म तयार छैन । न मेरो कुनै प्लान नै छ । (राजेश हमालको डाइलग कपी गर्दै) मलाई त आफैं बच्चै छु जस्तो लाग्छ’, उनले भनिन् ।

त्यसो त आँचललाई सन्तान जन्माउने रहर उधुम छ । त्यो पनि एउटा होइन, तीनवटा ।

‘मलाई भविष्यमा भने तीन सन्तान बनाउने रहर छ’, अलिक लजाउँदै भनिन्, ‘दुइटा छोरी अनि एउटा छोरा ।’

विवाहपछि आँचलले चलचित्र ‘झिंगेदाउ’ मा काम गरिन् । यो चलचित्रले वर्ष २०७९ को धेरै कमाइ गर्ने चलचित्रको लिस्टमा आफ्नो नाम दर्ता गराउन सफल भयो । चलचित्रमा उनलाई अर्की नायिका केकी अधिकारीले साथ दिएकी थिइन् ।

‘झिँगेदाउ’ सँगै अभिनय गरेर सफलताको स्वाद चाखेका आँचल र केकी अहिले भने एक-अर्कासँग टक्कर गर्दैछन् । आँचल अभिनित ‘नाईं नभन्नु ल ६’ सँगसँगै केकी अभिनित चलचित्र ‘प्रसाद २’ पनि हलहरुमा एकै दिन रिलिज भएको हो । यसपालि यी दुईमध्ये कसले बाजी मार्लान्, त्यो भने केही दिनपछि थाहा हुनेछ ।

आँचल र कन्ट्रोभर्सी

पछिल्लो समय धेरै विवादमा पर्ने नायिकाको लिस्टमा आँचल शीर्ष स्थानमा पर्छिन् भन्दा फरक पर्दैन । उनले दिएका अधिकतम अभिव्यक्तिहरु गसिप र ट्रोलको विषय बन्छन् । केही समय अघिसम्म उनले मनाएको जन्मदिन र उनको उमेरले सञ्जाल तताएको थियो, जसलाई प्रस्ट पार्न उनले राष्ट्रिय टेलिभिजनमै आफ्नो नागरिकता सार्वजनिक गरेकी थिइन् ।

उनले विवाहपछि आफ्नो शरीरमा ल्याएको रुपान्तरण पनि अहिले चर्चाको विषय बनेको छ । उनको शारीरिक रुपान्तरणमाथि पनि अहिले विभिन्न आलोचना र प्रश्नहरु उठिरहेका छन् । आँचलका कन्ट्रोभर्सीबारे गरिएको प्रश्नोत्तरः

– तपाईंले आफ्नो शरीरमा ल्याउनुभएको रुपान्तरणको खुबै चर्चा भयो । नून खान्न भन्ने विषय त भाइरल नै भयो । यसमा के भन्न चाहनुहुन्छ ?

केही भन्ने ठाउँ नै छैन । अचेल त मलाई कन्ट्रोभर्सीले झनै प्रेरित गर्छ । मलाई कहिलेकाहीं जिम जान अल्छी लाग्छ । आज नजाउ कि भन्ने सोच्छु । आज नगरौं कि भन्ने सोच आउनेबित्तिकै फेरि म मेराबारेमा आएका आलोचनाहरु सम्झिन्छु । मिडियाहरुले मेरो बारेमा लेखेका कुराहरु सम्झिन्छु । अनि झसङ्ग हुन्छु । त्यसपछि त झन् हैन, मैले गर्नुपर्छ भनेर उठेर जिमतर्फ लाग्छु ।

कहिलेकाहीं बाहिरका खानेकुरा खान मनलाग्छ । फ्रेन्च फ्राइ टिपेर मुखमा हाल्न खोज्छु, उहाँहरुको अनुहार झल्यास्स आँखा अगाडि आउँछ । अनि म त्यो फ्रेन्च फ्राइ नै फ्याल्दिन्छु । मेरो आलोचना गर्ने अनि मेराबारे नभएको कुरा लेख्ने व्यक्तिहरुको अनुहार सम्झेर म जिममा फलाम उचाल्छु । धेरै जनाको अनुहार आँखा अगाडि आउँछ ।

– तपाईंलाई विवादमै रमाउने नायिका भन्न मिल्छ ?

मिल्दैन । म कन्ट्रोभर्सीमा पर्ने हैन, मलाई कन्ट्रोभर्सीमा पार्दिने हो । मैले अस्ति भर्खरैमात्र एकजना कलाकारको एक चिज हेरेको थिएँ । उहाँहरु आफ्नो शरीरमा परिवर्तन ल्याउन र बोसो पगाल्न मेसिनको सहायता लिनुहुँदो रहेछ । त्यस्तो अप्राकृतिक काममा कसैलाई आपत्ति नहुने, मेसिन प्रयोग गरेर शरीर बनाउने कुरा खुलेयाम सामाजिक सञ्जालमा हाल्दा उहाँहरुको किन आलोचना हुँदैन ?

‘तपाईं फिट हुनुभएको छ नि’ भन्ने प्रश्न गरेर मेसिनको सहायता लिँदा कसैलाई केही नहुने अनि म यस्तो मेहनतका साथ दैनिक जिम अनि डाइट गरेर शरीर मेन्टेन गर्दा भने सबैलाई आपत्ति हुने ? मेरो रूपान्तरणलाई अनावश्यक अरु कुराहरुसँग जोडिदिनुहुन्छ, विवाद बनाइदिनुहुन्छ । यो यस्तो ठूलो मुद्दा बनाउनुपर्ने विषय हो जस्तो त मलाई लाग्दैन । यस्ता खालका क्रियाकलापहरुले फेरि म दुःखी छैन । झन् प्रेरित गरेको छ ।

मेरो काममा मान्छेले धेरै चासो दिनुले मैले गरेका कामले मात्र मान्छेहरुलाई मेहनत गर्न प्रेरित गर्ने हो कि अथवा मैले गरेका चिजमात्र मान्छेलाई नयाँ लाग्ने हो कि भन्ने महसुस भएको छ । त्यसैले त मलाई धेरै हेरिन्छ । मेरा हरेक कुरामा दर्शकको चासो हुनु अनि अहिलेको समयमा मलाई हरेक कुरामा खोजिनुको मतलब मलाई सबैले अपार माया दर्शाउनु हो । म यसरी नै बुझ्छु ।

– अन्तर्वार्ता दिन जानु भएको ठाउँमा तपाईंको नाकको आलोचना गरियो । यस्तोमा अपमानित महसुस हुँदैन ?

आआफ्नो सोचमा भरपर्ने कुरा हो । तपाईंमा कत्तिको बौद्धिकता छ भन्ने कुरा हो । म अन्तर्वार्ता दिन गएको ठाउँमा उहाँहरुले कस्तो प्रश्न गरिरहनुभएको छ भन्नेबारे म अध्ययन गरिरहेकी हुन्छु । उहाँहरुले मेरो भलो होस् भन्ने सोचले प्रश्न गरिरहनुभएको छ कि, मलाई पेल्न खोज्नुभएको छ कि वा अरुको कुरा सुनेर मलाई गिराउन खोज्नुभएको छ कि, त्यो म सबै बुझ्छु ।

आँचल शर्मा त्यसै आँचल शर्मा भएको होइन नि ! म त मेरोबारेमा जस्तो आलोचना गरे पनि ओके हो । म आउने हरेक बाधाहरुलाई सामना गर्न तयार छु । अहिलेको समयमा म सबैको चासोको विषय भएछु । जसले गर्दा मलाई धेरैजनाले पछार्न खोज्नुहुन्छ । तपाईं रफ्तारमा भर्‍याङ चढ्दै हुनुहुन्छ भने तपाईंको खोजी हुन्छ, आलोचना हुन्छ, तपाईंलाई कसरी खसालौं वा जिरोमा ल्याउँ भन्ने प्रयत्नहरु हुन्छ । यस्ता आरोप अनि विवादहरु देखेपछि मलाई म कुदिरहेको छु जस्तो लाग्यो ।

यस्ता कुरामा मैले फोकस गर्न थालें भने म तल झर्न सक्ने सम्भावना हुन्छ । म अहिले कसरी माथि जाने वा भनौं झन् रफ्तारमा कसरी भर्‍याङ चढ्ने भन्ने कुरामा केन्द्रित छु । मलाई मेरो घरपरिवार र नजिकबाट चिन्ने साथीसर्कलबाट कति धेरै तारिफ अनि हौसला आउँछन् । उहाँहरु मेरो रुपान्तरणको तारिफ गर्नुहुन्छ । मलाई त्यति भए पुग्यो । मैले मेरो परिवारको लागि गर्ने हो । मेरो भलो चाहनेहरुको लागि खट्ने हो । बाँकी अरुले के भन्छन्, त्यो मेरो लागि कुनै सरोकारको कुरै भएन । सबैलाई खुशी पार्न कहाँ सकिन्छ र ? उकालो चढ्ने क्रममा बाधा त कति आउँछन् आउँछन् । जसले आफ्नो गन्तव्य छाड्दैन, त्यही मान्छेले नै सफलता हासिल गर्ने हो ।

– अन्तर्वार्तामा खुलेयाम आफ्नो श्रीमानको पूर्वप्रेमिकाबारे बोल्दा आलोचित हुनुभयो । श्रीमानले यसबारे के भन्नुभयो ?

केही नाईं । उहाँ मलाई सधंै समर्थन गर्ने मान्छे हो । यी सबै मान्छेको बौद्धिक क्षमतामा निर्भर हुने कुरा हुन् । मैले बोलेका कुराहरुमा मेरो श्रीमानलाई कुनै आपत्ति छैन । मेरो रुपान्तरणले उहाँ खुशी हुनुहुन्छ । म कुनै कार्यक्रममा गएर मैले झूटो बोलेको भए चाहिँ उहाँ दुःखी हुनुहुन्थ्यो ।

उहाँलाई मेरो इमानदारीसँग माया छ । उहाँले बरु मैले झूटो बोलेको मन पराउनुहुन्न । अलिकति पढेलेखेको र दुनियाँ देखेको मान्छेले यस्ता सानातिना कुरालाई सहजै सामना गर्छन् । उहाँको सोच्ने शक्ति नै फरक छ । उहाँ मभन्दा धेरै परिपक्व र बौद्धिक हिसाबले पनि अब्बल हुनुहुन्छ । तिमी केही हौ, त्यसैले तिम्रो चर्चा हुन्छ भन्नुहुन्छ । उहाँको लागि यस्ता कुराहरु सामान्य हुन् ।

– जन्मदिन मनाएको विषय पनि कन्ट्रोभर्सी बन्यो, यसमा दुःख लागेन ?

मैले व्यक्तिगत रुपमा आफ्नो परिवारसँग मिलेर जन्मदिन मनाएको पनि यहाँ अरुलाई पच्दैन । आफैं हेर्नुहोस् न, मैले आफ्नो परिवारसँग बसेर आफ्नो जन्मदिन मनाएको त यत्रो खण्डन गर्नुहुन्छ भनेपछि उहाँहरुले मलाई कति माथि राख्नुभएको रहेछ ! म कोही नभएको भए मेरो यत्रो खण्डन नै हुँदैन थियो । उहाँहरुले मलाई आफूभन्दा माथि सोच्नुहुन्छ । त्यसैले मेरा हरेक कुरा नियाल्नुहुन्छ । मेरा चिजहरुमा उहाँहरुको चासो जान्छ ।

मेरो उमेरलाई लिएर उहाँहरुले गर्नुभएको टिप्पणी देखेर त मलाई हाँसो लाग्यो । म जन्मेकोसमेत मान्छेहरुले खण्डन गर्न थाले । मलाई त उहाँहरुले पाइदिनुभएको होइन । मेरो वास्तविक जन्ममिति मेरो बुवाआमालाई थाहा हुनुपर्ने हो । त्यत्रो सपरिवारसहित मनाएको जन्मदिनमा २८ लागेर पनि २५ भए भन्नलाई के म मूर्ख हो ? मिडिया बोलाएर २५ लेखेको भए प्रश्न उठ्नु स्वाभाविक थियो । तर, परिवारसँग बसेर कसैले झूटो उत्सव मनाउँदैन । न त्यो केक मैले नै ल्याएकी हो । त्यो सरप्राइज केक थियो । एउटा बहिनीको तर्फबाट, अर्को उदीपजीको तर्फबाट । अब त मैले नागरिकता नै देखाइदिएकी छु । नागरिकता नै हेरेपछि सायद अहिले धेरैजना मेरो उमेरबारे प्रस्ट हुनुहुन्छ होला ।

– तपाईंको विवाहमा लेहेंगा र हेलिकोप्टरको खुब चर्चा भएको थियो । यसमा पनि मिडिया पूर्वाग्रही भए जस्तो लाग्छ ?

(हाँस्दै) १६ लाखको कमाल होला जस्तो लाग्छ सबै । यो १६ लाख भन्ने कुरा कहाँबाट आयो भन्नेसमेत मलाई थाहा छैन । मैले आफैं त समाचार देखेर थाहा पाएकी हुँ । त्यो लुगा मलाई उदीपजीको घरबाट दिनुभएको थियो । श्रीमानको घरबाट आएको लुगा र गहना कतिको हो भनेर सोध्ने कुरा पनि हुँदैन । म ट्रायलमा चाहिँ गएकी थिएँ । ड्रेसहरु ट्राइ गरेर आएकी हुँ । तर, ती कपडाहरु मैले छानेकी हैन । त्यो सबै मेरो श्रीमानको घरबाट छानिएर आएको हो ।

उहाँहरुको लागि त्यो पैसा अनि त्यो कपडा कुनै ठूलो मुद्दा बनाउनुपर्ने विषय पनि होइन । त्यो उहाँहरुले लाइराख्ने कुरा हो । म चाहिँ ग्ल्यामर क्षेत्रमा भएकाले गर्दा यो कुरा के के नै जस्तो भयो ।

मैले त्यस्तो व्यक्तिसँग विवाह गरेकी छु जहाँ म काम नै नगरी बसीबसी खान्छु भन्दा पनि पुग्छ । मैले केही काम नै नगरी चुप लागेर घरमा बसे पनि हुन्छ । मैले यत्तिको लेभलको मान्छे पाउँदा पनि आफैं खटिएर आफैंलाई ग्रुम गर्दैछु । आफूलाई पहिलाभन्दा अझ राम्रो बनाउँछु भनेर लागिपरेकी छु । सबैले त्यो कुरालाई उपयोग गरेर रुपान्तरण ल्याउन सक्दैनन्, जुन मैले गरिरहेकी छु । बौद्धिक क्षमता नभएका मान्छेले जे देखे पनि खण्डन गरिराख्छन् । हलिउड, बलिउडतिरका कलाकारलाई हेरेर प्रेरित हुने मान्छेहरु आफ्नै कलाकारले गरेका चिजहरुमा भने प्रश्नचिन्ह ठड्याइराख्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर