अर्थतन्त्रको वर्तमान अवस्थाबारे चेम्बरद्वारा एमाले अध्यक्ष ओलीको ध्यानाकर्षण – Nepal Press

अर्थतन्त्रको वर्तमान अवस्थाबारे चेम्बरद्वारा एमाले अध्यक्ष ओलीको ध्यानाकर्षण

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ ।

शुक्रवार चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल, निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, पूर्वअध्यक्ष एवं चेम्बर सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठ एवं चेम्बरका पदाधिकारी टोलीले अर्थतन्त्रको वर्तमान अवस्थाबारे अध्यक्ष ओलीलाई ध्यानाकर्षण गराएको हो ।

अर्थतन्त्र शिथिलताबाट गुज्रिरहेको भन्दै सरकारको नीति तथा कार्यक्रम र बजेट मार्फत सम्बोधन गर्नुपर्ने विषयमा चेम्बरले अध्यक्ष ओलीको ध्यानाकर्षण गराएको छ ।

अध्यक्ष कमलेश अग्रवालले अर्थतन्त्रमा आएको मन्दीले निजी क्षेत्रको सम्पत्तिमा ५० प्रतिशत सम्मको गिरावट आएको बताए । शिथिल अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन आर्थिक र वित्तीय नीतिमा सहजीकरण गर्नुपर्ने अध्यक्ष अग्रवालको भनाई छ ।

वित्तीय र मौद्रिक नीतिको प्रभावकारी समन्वय मार्फत अर्थतन्त्रलाई चलायमान एवं निजी क्षेत्रको मनोबल उकास्नुपर्ने बेला आएको अध्यक्ष अग्रवालले बताए ।

उनले भने, ‘विगतमा लिएका सङ्कुचित नीतिहरूका कारणले अर्थतन्त्र हाल शिथिल अवस्थामा पुगेको छ । व्यापार असहजिकरण, शेयर बजारको संकुचन, घरजग्गा कारोबारमा सुस्तता लगायतका कारणले आर्थिक गतिविधि खुम्चिएको छ, सरकारको नीति तथा कार्यक्रम अर्थतन्त्रलाई चलायमान गराउने गरी आउन आवश्यक छ ।’

आयकर ऐन २०५८ का अधिकांश प्रावधानहरू स्पष्ट नहुँदा अन्तःशुल्क, भन्सार आदिमा पछिल्लो समय भूत प्रभावी दायित्वहरू देखा परेको भन्दै अन्त्य गर्न चेम्बरले आफ्नो धारणा राखेको छ ।

विगतमा चरम आर्थिक मन्दीका कारण पीडित उद्यमी व्यवसायीहरूलाई कुनै जरिवाना लाग्ने अवस्था आएमा पूर्ण छुट दिने व्यवस्था गर्नुपर्ने धारणा चेम्बरले राखेको छ ।

यस्तै करका कारण विवादित मुद्दाहरुको यथाशीघ्र समाधानका लागि कर व्यवस्थापन आयोग गठन गर्न पनि चेम्बरले माग गरेको छ ।

चेम्बर पदाधिकारीसँगको भेटका क्रममा एमाले अध्यक्ष ओलीले राष्ट्रिय हितलाई सर्वोपरि ठानेर सरकारले नीति तथा कार्यक्रम ल्याउने बताए ।

निजी क्षेत्रको समस्या समाधानका लागि आफूले पहल गर्ने अध्यक्ष ओलीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *