उपचुनावमा राप्रपालाई निराशा- तीनैजना उम्मेदवारले पानी भन्न पाएनन् ! – Nepal Press

उपचुनावमा राप्रपालाई निराशा- तीनैजना उम्मेदवारले पानी भन्न पाएनन् !

काठमाडौं । गत संसदीय चुनावमा सन्तोषजनक नतिजा ल्याएको राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन क्षत्रेमा भएको उपचुनावमा भने निराशा हात पारेको छ । पार्टीका तीनैजना उम्मेदवारले उल्लेख्य मत ल्याउन सकेनन् ।

उपचुनावमा राप्रपाले कसैसँग तालमेल नगरी एक्लै लडेको थियो । बारा-२ मा सोनालाल प्रसाद साह तेली, चितवन २ मा जीवलाल पुरी र तनहुँ १ मा शोभा गुरुङ राप्रपाबाट उम्मेदवार बनेका थिए । उनीहरू कसैको पनि जमानत नजोगिएको मात्र होइन, लज्जास्पद मत आएको छ ।

चितवन र तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीको आँधीमा ठूला पार्टी त बढारिए भने राप्रपाले अस्तित्व जोगाउनसक्ने कुरै थिएन । अघिल्लो संसदीय चुनावमा राप्रपालाई खसेका भोटहरू पनि अहिले घन्टीतिर सोहोरिएको देखिन्छ ।

तनहुँ १ मा गुरुङले २१८ भोट मात्र ल्याउन सकिन् । जबकि मंसिर ४ को चुनावमा राप्रपाका विनोद घर्तिले २ हजार ४ सय ८३ मत ल्याएका थिए ।

चितवनमा भने अघिल्लोपटक पनि राप्रपाको मत न्यून थियो । यसपालि त्योभन्दा पनि खस्केको छ । राप्रपाका उम्मेदवार जीवलाल पुरीले ३७५ मत ल्याए । अघिल्लो चुनावमा रविन अधिकारीले ९५५ मत ल्याएका थिए ।

बारा २ पनि राप्रपाको कमजोर उपस्थिति भएको क्षेत्र हो । सो क्षेत्रमा पार्टीका उम्मेदवार सोनालाल साह तेलीले केवल ११९ भोट ल्याए । मंसिर ४ को चुनावमा पनि तेली नै उम्मेदवार थिए । त्यसबेला उनले ४५९ भोट ल्याएका थिए ।

चितवन र तनहुँमा राप्रपाका उम्मेदवारहरू चौंथो स्थानमा छन् । बारामा भने १० औं स्थानमा ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले उपचुनावमा आफ्नो पार्टीले राम्रो नतिजा ल्याउन नसक्दा पार्टीकै जिम्मेवार नेताहरुले उत्साहपूर्वक अन्य दलका विजयी उम्मेदवारलाई सामाजिक सञ्जालबाट बधाई दिइरहेको भन्दै असन्तुष्टि पोखेका थिए ।

नेपाल प्रेससँगको कुराकानीमा श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीको लहरका कारण राप्रपा उम्मेदवारहरू आझेलमा परेको बताए । यद्यपि, चुनावी नतिजाका विषयमा पार्टीमा समीक्षा हुने उनको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर