हिमालयन टेकवेमार्फत् पिज्जाको सुगन्ध फैलाइरहेका शेर्पा र वैजु – Nepal Press
उद्यमीका कथा

हिमालयन टेकवेमार्फत् पिज्जाको सुगन्ध फैलाइरहेका शेर्पा र वैजु

काठमाडौं । विशाल वैजु र नावाङ शेर्पा कुनै समयका स्कुले साथी थिए । दुवैले काठमाडौंको बाबा बोर्डिङ हाईस्कुलमा ८ कक्षासम्म सँगै पढेका थिए । दुवैले सन् २०१२ मा एसएलसी उत्तीर्ण गरे । तर, ८ कक्षादेखि छुटेको दुवैको मित्रता भने ‘हिमालयन टेकवे’ले पुनः जोडिदियो ।

वैजु बाआमाले बोलाएपछि प्लस टु पास गरेर युरोप हान्निएका थिए । शेर्पा चाहिँ प्लस टुपछि काम गर्न युरोप पुगे । युरोपमा आआफ्नै दुनियाँमा रमाइरहेका शेर्पा र वैजुको भेट नौ वर्षपछि भयो । त्यो भेट यसकारण पनि अर्थपूर्ण थियो कि वैजु र शेर्पालाई नेपालमै केही न केही गर्नुपर्छ भन्ने हुटहुटी जो थियो ।

पाल्पा जिल्लामा जन्मेका वैजु सानै उमेरमा काठमाडौं छिरेका थिए । किनभने उनका बुवाआमा काठमाडौंमै बसिरहेका थिए । त्यही कारण उनको स्कुले जीवन बाबा बोर्डिङमै बित्यो । शेर्पा पनि सानै उमेरमा ओखलढुंगाबाट काठमाडौं आएका थिए । उनी पनि बाबा बोर्डिङमै भर्ना हुन पुगे । दुवैको मित्रता त्यही झांगियो ।

बाल्यकालदेखि किशोरकालसम्म सँगै बिताएका दुई साथी युरोपमा भेट भएपछि उनीहरुले मित्रतालाई मात्रै निरन्तरता दिन चाहेनन्, व्यवसायलाई पनि सँगसँगै लाने निर्णय गरे । मित्रताको जगमा निर्मित विश्वासमा उनीहरुले नेपालमै पिज्जा हाउस सञ्चालन गर्ने निर्णय गरे ।

तीन वर्षअघि उनीहरुले काठमाडौंको स्वयम्भूमा सुरु गरे हिमालयन टेकवे पिज्जा हाउस । त्यसवेला ३० लाख पूँजीबाट सुरु गरेको उनीहरुको पिज्जा व्यवसाय अहिले एक करोडभन्दा बढी पूँजीको बनिसकेको छ ।

विदेशी बजारमा एकदमै रुचाइएको फस्टफूडमा आधारित पिजाको रेसिपी उनीहरुले युरोपियन देशबाट ल्याएका हुन् । उनको पिजा स्पेशल इटालियन रेसिपीमा बनेको छ । जसको स्वाद एकपटक लिएपछि ग्राहकहरुले बारम्बार त्यही पिज्जा खोज्ने गरेको वैजु र शेर्पाको अनुभव छ । अहिले हिमालयन टेकवेको स्पेशलमा इटालियन पिजा, ब्रग, हटडग, चिकेनका प्रकार, फ्राइजलगायतका फस्टफूड हुन् ।

पिज्जालाई ग्राहकले औधी रुचाएपछि उनीहरुले हिमालयन टेकवेलाई स्वयम्भूमा मात्रै सीमित गरेनन् । त्यसलाई विस्तार गर्दै ठमेल र बुढानिलकण्ठमा आउटलेट खोलिएको छ । उनीहरुले यसलाई ब्राण्डिङसमेत गरिरहेका छन् । उनीहरुको फ्रेन्चाइजको मूल्य पाँच लाख छ, यदि कसैले नयाँ ठाउँमा हिमालयन टेकवे खोल्न चाहेमा ।

वैजु भन्छन्, ‘हाम्रो सुरुवातदेखि नै नेपालमै केही गर्नुपर्छ भन्ने मान्यता थियो । तर, परिस्थितिले विदेशिनुपर्‍यो । पछि नेपाल फिरेर व्यवसाय सुरु गर्‍यौं । अहिले हाम्रो सानो पहलले ४० भन्दा बढीले रोजगारी पाइरहनुभएको छ ।’

हिमालयन टेकवेका आउटलेटमा महिला ब्रान्च म्यानेजर छन् । महिला सशक्तीकरणलाई आफूहरुले प्राथमिकतामा राखेकाले पनि उनीहरुलाई अवसर दिइएको दुवैको तर्क छ । व्यवसाय सुरु गर्दाताकाको दिन सम्झँदै शेर्पा भन्छन्, ‘सुरुमा हामीले एकदमै धेरै चुनौतीहरुको समाना गर्नुपर्‍यो । सानो क्षेत्रफलमा सुरु भएको हुनाले धेरैले हामीले यो के गरेको भन्दै नराम्रो प्रतिक्रिया पनि दिए । तर, अहिले त्यही सानो ठाउँबाट विस्तारै फैलँदै गइरहेका छौं ।’

बजारमा प्रतिस्पर्धा र नयाँ नयाँ चुनौतीबीचमा दुवैले व्यवसायलाई अगाडि बढाएका थिए । उनीहरुले यसअघि होटेल क्षेत्रमा काम गरेको अनुभव हिमालयन टेकवेमा मिसाए । त्यही मेहनतले गर्दा उनीहरुले स्वयम्भूमा खोलेको दुई वर्षपछि नै ठमेलमा नयाँ ब्रान्च खोले, लगत्तै बुढानिलकण्ठमा ।

अहिले कसरी हुन्छ, व्यवसाय बढाउनेतिर मात्रै दुवैको जोड छ । त्यसका लागि व्यवसायको विस्तारको सम्भाव्यतादेखि आइपर्ने चुनौतीहरुको सामना कसरी गर्ने भनेर छलफल गरिरहेका छन् उनीहरु । अहिले ४० जनालाई रोजगारी दिइरहेका उनीहरु सयदेखि दुई सय जनालाई रोजगारी सृजना गर्ने प्रयासमा छन् ।

शेर्पा भन्छन, ‘अहिलेको अवस्थामा हामी यसलाई बढाउनेतिर बढी जोड दिइरेहका छौं । यसलाई हामी युरोपमा पनि लैजाने सोचमा छौं । किनभने यसको सुरुवात नै युरोपबाट भएको हो ।’

अहिले काठमाडौं उपत्यकामा व्यवसाय विस्तार गरिरहेका वैजु र शेर्पाले पोखरा, बुटवल, नेपालगञ्जलगायत शहरहरुमा व्यवसाय विस्तार गर्ने गुरुयोजना बनाइरहेका छन् । उनीहरु दुवैको मत छ, काम गर्न चाहेमा नेपालमै प्रशस्तै सम्भावना छ । मात्रै केही नयाँ काम गर्ने जाँगर र जोश हुनुपर्‍यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *