सुनकोशीका विद्यालय : भवन छ, शिक्षक छन् तर विद्यार्थी नै छैनन् ! – Nepal Press

सुनकोशीका विद्यालय : भवन छ, शिक्षक छन् तर विद्यार्थी नै छैनन् !

सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिका–७ मा सञ्चालित कालिकादेवी आधारभूत विद्यालयमा कक्षा–३ सम्म पढाइ हुन्छ । चैत अन्तिममा सञ्चालन भएको वार्षिक परीक्षामा जम्मा सहभागी विद्यार्थी १५ थिए । कक्षा ३ सम्म सञ्चालन भएपनि १ कक्षामा भने एक जना पनि विद्यार्थी छैनन् ।

बाल विकास (इसीडी) मा ७ कक्षा २ मा ५ र तीन मा ३ जना मात्रै विद्यार्थी छन् । १५ जना विद्यार्थी पढाउनका लागि बाल विकास र विद्यालय सहयोगी सहित ४ जना शिक्षक छन् ।

सोही वडाको कापिङ आधारभूत विद्यालय कक्षा–५ सम्म सञ्चालनमा रहेको छ । विद्यार्थी संख्या–९ रहेको छ । कक्षा ५ सम्म सञ्चालन भएपनि कक्षा–४ मा एक जना पनि विद्यार्थी छैनन् ।

अन्तिम परीक्षामा कक्षा–४ बाट विद्यार्थी सहभागी नभएपछि यो वर्ष कक्षा–५ सञ्चालन नै नहुने भएको छ ।

सुनकोशी–३ कै भुमेश्वरी आधारभूत विद्यालयमा जम्मा विद्यार्थी संख्या–७ रहेको छ । बाल विकासमा ४ र कक्ष १ देखि ३ सम्म एक÷एक जना मात्रै विद्यार्थी रहेका छन् ।

आधारभूत विद्यालयमा मात्रै होइन माविसम्म सञ्चालन भएका विद्यालयहरूको अवस्था पनि उस्तै छ । भवन छ, शिक्षक छन् तर विद्यार्थी भने छैनन् । सुनकोशी–७ मा जाल्पा मावि कोठे १२ कक्षा सम्म सञ्चालनमा रहेको छ ।

वाल विकासमा ३, कक्षा १ मा ३, २ मा १, ३ मा ३ र ५ मा पनि ३ जना नै विद्यार्थीहरू छन् । कक्षा –१२ मा त जम्मा एक जना मात्रै विद्यार्थी रहेका छन् । एक जना विद्यार्थीलाई पढाउन पनि शिक्षकहरू भने विषय अनुसार कै खटिनु पर्ने बाध्यता विद्यालयहरूलाई रहेको छ ।

सुनकोशी गाउँपालिकामा आधारभूत र माध्यमिक तह समेत गरेर विद्यालय संख्या ३३ रहेको छ । केही विद्यालय बाहेक प्रायः सबै विद्यालयहरूमा विद्यार्थी संख्या असाध्यै न्यून रहेको छ ।
भूकम्पपछि अधिकांश विद्यालयका भवन भव्य बनेका छन् । ठूला कक्षा कोठा, पर्याप्त शिक्षक तर कुनै कक्षा कोठामा एक जना विद्यार्थीलाई एकै जना शिक्षकले पढाइरहेका छन् भने कतै विद्यार्थी नभएपछि कक्षा नै बन्द गर्नुपर्ने अवस्था विद्यालयहरूमा रहेको छ ।

विद्यार्थी संख्या न्यून भएपछि सुनकोशी गाउँपालिकाको शिक्षा समितिले सामाजिक विकास शाखाका संयोजक एवम २ नम्बर वडाका अध्यक्ष पूर्णबहादुर महतको संयोजकत्वमा सबै विद्यालयहरूमा पुगेर स्थलगत अनुगमन गरेर शिक्षक र विद्यार्थीको संख्या यकिन गरेर ल्याएको गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

विद्यार्थी संख्या न्यून भएपनि दिवा खाजाको रकम माग गर्दा भने विद्यार्थी संख्या बढाउने गरेको र वास्तविकता पत्ता लगाउन अन्तिम परीक्षा सञ्चालन भइरहेको बेला शिक्षा समितिका पदाधिकारीहरूलाई विद्यालयमा पठाइएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

विद्यार्थी संख्या न्यून भएपछि यो शैक्षिक सत्रदेखि भने १० जना भन्दा कम विद्यार्थी रहेका विद्यालयहरूले नजिकको विद्यालयमा भर्ना गराउनु पर्ने व्यवस्था गरेको छ । विद्यालय मर्ज नगर्ने तर १० भन्दा कम विद्यार्थी भएको विद्यालयलाई भने नजिककै विद्यालयमा लैजाने निर्णय गरेका छौ गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले भने ।

अर्को वर्ष विद्यार्थी संख्या थप भएमा पुन त्यही विद्यालयमा नै विद्यार्थीहरूलाई भर्ना गरेर विद्यालय सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए ।

बाल विकास सञ्चालन भएका विद्यालयहरूमा भने वालविकास कक्षा लाई भने कायम नै गर्ने अधिकृत दुलालले जानकारी दिए ।

विद्यार्थी मात्रै होइन ,शिक्षकहरू पनि नजिकैको विद्यालयमा नै गएर अध्यापन गर्नुपर्ने गाउँ शिक्षा समिति र कार्यपालिकाको बैठकले निर्णय गरेको दुलालले जानकारी दिए ।

कार्यपालिकाले गरेको निर्णय कार्यान्वयनका लागि सबै विद्यालयहरुमा पत्र पठाएको र कार्यन्वयन गर्नलाई आग्रह गरिएको गाउँपालिकाका शिक्षा अधिकृत निमराज बुढाथोकीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर