पश्चिम एसियामा ब्रेकथ्रु: इरान-साउदीले हात मिलाए, सिरियालाई अरब लिगमा निम्तो – Nepal Press

पश्चिम एसियामा ब्रेकथ्रु: इरान-साउदीले हात मिलाए, सिरियालाई अरब लिगमा निम्तो

काठमाडौं । पछिल्लो हप्ता लगालग चीनमा विश्वका उच्चपदस्थ अधिकारीहरु भ्रमणमा पुगे । स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेस, फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोन, युरोपेली आयोग सभापति उर्सुला भान देर लेयेन चीनमा पुगे । बोआओ फोरम फर एसियामा आएका थिए सान्चेस । म्याक्रोन र लेयेन भने विशुद्ध दुई पक्षीय कूटनीतिक भ्रमणमा आएका थिए ।

युरोपका नेताहरु तारकातार चीन किन आइरहेका छन् भन्ने बारेमा चिनियाँ विश्व सेवा सीजीटीएनले युरोपेली संघका लागि चिनियाँ राजदूत फू कोङलाई सोधेको थियो । जवाफमा राजदूत कोङले भनेका थिए, ‘युरोपले चीन पनि विश्व शक्ति हो भनेर पहिलोपटक स्वीकार गरेको घटना हो । चीनको सहभागिताविना विश्वका समस्याहरु समाधान हुन्न भन्ने बुझेर उनीहरु चीन भ्रमणमा छन् ।’

युरोपेली नेताहरुले युक्रेन तनाव अन्त्यको मुद्दा लिएर चीन भ्रमण गरेको तर्क गरे । चिनियाँ राजदूतले त्यही तर्कमा चीन विश्व शक्ति भएको तर्क गरे । तर, चीनमा भएका पछिल्ला युरोपका उच्चपदस्थ भ्रमणहरु भन्दा धेरै चर्चा चैं बिहीबारको इरानी र साउदी अरबका दुई विदेशमन्त्रीको हात मिलाइले पायो ।

इरानी विदेशमन्त्री हुसेन आमिर अब्दुल्लाहिआ र साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउदले हात मिलाए । दुवै विदेशमन्त्रीलाई हात मिलाउन बीचमा बसेर चिनियाँ विदेशमन्त्री किन गाङले सहजीकरण गरे । अमेरिकी सुरक्षा छातामा रहेको साउदी अरबले आफ्नो कट्टर धार्मिक तथा राजनीतिक दुश्मन इरानसँग चीनको समन्वयमा कूटनीतिक ब्रेकथ्रू गर्नु सामान्य घटनामात्रै नभएको टिप्पणी सुरु भएको छ ।

गत मार्च १० मा पनि बेइजिङ भ्रमण गरेरै इरान र साउदीले कूटनीतिक ब्रेक थ्रू गरेका थिए । सन् २०१६ बाट दूतावासस्तरको सम्बन्ध अन्त्य गरेका थिए इरान र साउदी अरबले । साउदीमा जन्मेका सिया मुसलमान गुरु निमिर अल निमिरलाई सन् २०१६ जनवरी २ मा मृत्युदण्ड दिइएपछि त्यसको भोलिपल्ट इरानस्थित साउदी दूतावासमा तोडफोड भएको थियो । त्यही निहुँमा दुई देशको सम्बन्ध चिसिएर कूटनीतिक सम्बन्ध अन्त्यको तहमा पुगेको थियो । ती नै कट्टर दुश्मन इरान र साउदी अरबले एक महिनाको अन्तरमा कूटनीतिक दुश्मनीदेखी दोस्तीसम्मको यात्रा तय गरेका छन् । यात्राको सारथि चीन बनेको छ । चीनले सहजीकरण गरेको छ ।

चीनबारेमा प्रायः आलोचनात्मक रहने अमेरिकी अखबार न्यूयोर्क टाइम्सका केही सामग्रीमा इरान र साउदीको कूटनीतिक ब्रेकथ्रूमा तारिफ गरिएको छ । सिया बाहुल्य इरान र सुन्नी बाहुल्य साउदी अरबको मित्रताको बाटो उच्चस्तरीय भ्रमणको प्रस्तावसम्म पुगेको छ । साउदी अरबका राजा सल्मान बिन अब्लुल्लाजिज अल साउदले इरानी राष्ट्रपति इब्राहिम राइसीलाई साउदी अरबको राजकीय भ्रमणको निम्तो दिइसकेका छन् । साउदीको निमन्त्रणालाई इरानले स्वागत गरेको छ ।

पश्चिम एसियाका दुई धार्मिक तथा राजनीतिक शक्ति हुन् इरान र साउदी अरब । सिया मुस्लिमतर्फको मुख्य शक्ति हो इरान । इरानमा गणतान्त्रिक शासन छ । सुन्नी देशहरुमा पश्चिम एसियाको प्रमुख शक्ति हो साउदी अरब । साउदी राजतन्त्रात्मक देश हो । इरान र साउदीको धार्मिक पक्षधरतामात्रै नभएर राजनीतिक व्यवस्था पनि फरक फरक छन् । उनीहरुको त्यही फरकपनाको दुश्मनी आसपासका क्षेत्रहरुमा प्रोक्सी युद्धको रुपमा देखिन्छन् ।

उदाहरणको लागि यमनमा भएको गृहयुद्धमा इरान हाउथी विद्रोहीलाई सथर्मन गर्छ । साउदी अरबले सत्ताधारी गठबन्धनलाई समर्थन गर्छ । सिरियामा सत्ताधारीलाई इरानको समर्थन छ । विद्रोहीलाई साउदी अरबको । यसरी दुई देशको दुश्मनीले दुई देशको कूटनीतिक सम्बन्धमा मात्रै होइन, छिमेकीहरुको सवालमा पनि असर गरेको छ ।

इरान र साउदी अरबको पछिल्लो कूटनीतिक ब्रेकथ्रूले यी समस्याहरुमा पनि केही सकारात्मक प्रभाव पार्ने आकलन गरिएको छ ।

थप दुई ब्रेकथ्रु : सिरियालाई अरब लिगमा निम्तो, टर्की र इजिप्ट नजिकिए

इरान र साउदी अरबको सात वर्षको तनावपछिको मिल्तीमात्रै होइन, अरु दुई ब्रेकथ्रू पनि पश्चिम एसियामा पछिल्लो एक महिनामा भएका छन् । आगामी मे १९ मा हुने २२ देश सदस्य भएको अरब लिगको बैठकमा सिरियाका राष्ट्रपति बसर अल असदलाई निमन्त्रणा गरिएको छ । साउदी अरबको रियादमा हुने बैठकमा सिरियालाई निम्तो गरिएको बेलायती समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।

सन् २०११ मा अरब लिगबाट निकालिएको थियो सिरियालाई । र, सिरियाको सत्ताधारीसँग साउदी क्रूद्ध थियो । अहिले साउदी आफैंले सिरियालाई निम्तो दिनुले धेरै सकारात्मक घटनाक्रम विकास भएको अनुमान गरिएको छ ।

पछिल्लो समयमा टर्की र इजिप्ट पनि नजिकिएका छन् । दशकदेखि दुश्मनी साँधेर बसेका यी दुई शक्तिले पछिल्लो समयमा हात मिलाएका छन् । गत फेब्रुअरी २७ मा इजिप्टका विदेशमन्त्री सामेस सुक्रीले टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुलाई भेटे । इजिप्टका विदेशमन्त्री टर्की पुगेको एक महिना नपुग्दै टर्कीका विदेशमन्त्रीले इजिप्ट भ्रमण गरे । उनी मार्च १८ मा इजिप्ट पुगेका थिए ।

सन् २०१३ मा तत्कालीन सैन्य प्रमुख अब्दुल फताह अल सिसीले मुस्लिम ब्रदरहुडबाट चुनिएका राष्ट्रपति महुमद मोर्सीलाई अपदस्त गरेपछि टर्की र इजिप्ट सम्बन्ध बिग्रेको थियो । उनीहरुले सम्बन्धलाई पुनः पुरानै लयमा पुर्याउन पहल थालेका छन् । वैदेशिक मुद्रा सञ्चितीमा तनाव झेलिरहेको इजिप्टलाई ५० करोड अमेरिकी डलर लगानी गर्ने टर्कीले प्रतिबद्धता जनाएको कतारी विश्व च्यानल अलजजिराले उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर