‘बहाब’ को प्रिमियरमा सुरक्षाले किन लगिनन् श्रीमान् ? – Nepal Press

‘बहाब’ को प्रिमियरमा सुरक्षाले किन लगिनन् श्रीमान् ?

काठमाडौं । भर्खरै विवाह गरेकी अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको चलचित्र ‘बहाव’ को बुधवार राजधानीमा ग्राण्ड प्रिमियर गरियो । विवाहपछि रिलिज भएको यो उनको पहिलो चलचित्र हो ।

चलचित्रमा अरु स्टार कलाकार नभएकाले सुरक्षाको करिअरका निम्ति बहाब निकै महत्वपूर्ण छ । त्यसैले हनिमुनसमेत पेन्डिङमा राखेर सुरक्षा यस चलचित्रको प्रमोसनमा खटिएकी छन् । हिजो काठमाडौंको प्रिमियरमा सहभागी भएर उनी आज पोखरा पुगेकी छन् ।

सुरक्षाले बिहेपछिको पहिलो फिल्मको प्रिमियरमा श्रीमानलाई पनि सँगै ल्याउने धेरैको आशा थियो । तर, उनीहरुको आशा पूरा भएन । सुरक्षा एक्लै आइन् । पोखरामा पनि उनले श्रीमान लगेकी छैनन् ।

नवविवाहित नायिकाहरुले विभिन्न सार्वजनिक कार्यक्रममा श्रीमानलाई सँगै लैजाने गरेका छन् । आँचल शर्मा, केकी अधिकारी, रेखा थापालगायत नायिकाहरु यो लिस्टमा छन् । तर, सुरक्षाले अहिलेसम्म कतै पनि श्रीमानलाई सार्वजनिक गरेकी छैनन् । बिहेअघि पनि उनले आफ्नो रिलेसनशिपलाई गुपचुप राखेकी थिइन् ।

सुरक्षाका श्रीमान मानव सुवेदी पनि चलचित्र क्षेत्रमै आवद्ध छन् । सन् २०१४ मा ‘राघव’, सन् २०१९ मा ‘दुई चार दिन’ र सन् २०२० मा ‘चिनी कम रंग कडा’ जस्ता चलचित्रमा अभिनय गरेका थिए । उनी गीत-संगीतमा पनि सक्रिय छन् । कलाकारितामै रहेको भएर पनि सुवेदीलाई श्रीमतीको फिल्मप्रति उत्सुकता हुनुपर्ने हो । तर, आखिर किन उनी आफूलाई पर्दा पछाडि नै राखिरहेका छन् ?

कतिपयले त यो पनि अड्कल गरे कि चलचित्रमा आफ्नो किस सिन भएकाले सुरक्षाले श्रीमानलाई फिल्म हेराउन नल्याएकी हुन सक्छिन् । तर, यो सत्य नभएको निकटस्थ स्रोतको भनाइ छ । मानव अहिले कुनै चलचित्रको कामले उपत्यका बाहिर भएकाले आउन नसकेको स्रोतले बतायो । त्यसो त सुरक्षाले श्रीमानलाई चलचित्रमा आफ्नो डिप किस सिन रहेकोबारे अहिलेसम्म भन्न पनि नसकेको बताइन्छ ।

सार्वजनिक कार्यक्रममा नदेखिनुको कारण चाहिं मानव खासै क्यामरा फेस गर्न रुचाउँदैनन् । यो कुरा स्वयम् सुरक्षाले नै बताएकी हुन् । त्यही भएर यो जोडीले विवाहअघि वा पछि कहिल्यैपनि एकसाथ बसेर अन्तर्वार्ता दिएको छैन ।

सुरक्षा भन्छिन्, ‘हामी एकसाथ मिडियामा कहिले देखिन्छौं, त्यो मलाई पनि थाहा छैन । यो विषयमा फैसला गर्ने जिम्मा नितान्त रुपमा मैले मेरो श्रीमानलाई दिएको छु । उहाँले जहिले ओके भन्नुहुन्छ, म पनि ओके हो ।’

उनी थप्छिन्, ‘क्यामरामा देखिन नरुचाउने कोही पनि होस् चाहे त्यो मेरो परिवार वा श्रीमान, उहाँहरुलाई चित्त दुःखाइदुःखाइ जबरजस्ती क्यामरा अगाडि ल्याउन मलाई मनपर्दैन । यो नितान्त उहाँहरुको निजी कुरा हो ।’

हनिमुनमा नगएको विषयलाई प्रष्ट्याउँदै सुरक्षाले भनिन्, ‘मेरो लागि मैले माया गर्ने व्यक्ति जति महत्वपूर्ण हुनुहुन्छ, त्यति नै महत्वपूर्ण कला क्षेत्र छ । मैले लगनशील र समर्पित हिसाबले काम गरेको ठाउँ हो यो । मेरो कर्म गर्ने ठाउँ । मेरो जीवनयापन गर्न यो कर्मले जे दिएको छ, त्यो नै मेरो लागि ठूलो कुरा हो । यसको लागि मैले खट्नुपर्छ भन्ने लाग्छ । सम्बन्धमा छु । बुझ्ने सहयात्री हुनुहुन्छ । म उहाँलाई पाउनुमा नै गर्व गर्छु । अहिलेसम्म उहाँबाट नपाएको सहयोग छैन । मेरो कर्मप्रति उहाँ एकदमै खुशी हुनुहुन्छ । जिन्दगी यस्तो धन्य भएको छ कि काम गर्दा पनि काम गरे जस्तो महसुस हुँदैन । त्यसैले यो कर्मको लागि जे-जे छोड्नुपर्छ, त्यो छोडिन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *