एसीसी प्रिमियर कपका लागि यसरी तयार गरिँदैछ मुलपानी रंगशाला (फोटो/भिडिओ) – Nepal Press

एसीसी प्रिमियर कपका लागि यसरी तयार गरिँदैछ मुलपानी रंगशाला (फोटो/भिडिओ)

काठमाडौं । एसियन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कप वैशाख ५ गतेदेखि नेपालमा आयोजना हुँदैछ । आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपको ‘रोड म्याप’का रुपमा लिइएको यस प्रतियोगितामा नेपालसहित १० राष्ट्रको सहभागिता रहनेछ ।

केहि दिनअघि एसीसीले हरेक पाँच राष्ट्रलाई दुई समूहमा विभाजन गर्दै खेल तालिका सर्वजानिक गरेको छ । एसीसीले सार्वजनिक गरेको तालिकाअनुसार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा र नेपाल क्रिकेट संघ(क्यान) को मुख्यालयमा रहेको मुलपानी मैदानमा खेलहरु हुनेछन् ।

यसअघि, पनि थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता भइसकेको त्रिवि क्रिकेट मैदानको मर्मत सम्भारगरिरहनु पर्ने जरुरत क्यानलाई छैन् । तर, मुलपानी मैदानमा भने अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजना भएका छैनन् ।

मैदान बन्नुअघि, लामो समयदेखि डम्पिङ साइटको रुपमा रहेको मुलपानी मैदानलाई यतिबेला अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन धमाधम निर्माण तथा मर्मत कार्यहरु भइरहेका छन् । मैदानभित्र मात्रै हैन बाहिर बारहरु लगाउने पार्किङ स्थल, शौचालय, ड्रेसिङ रुमदेखि लिएर सम्पूर्ण कुराहरुको यतिबेला मर्मतदेखि निर्माण कार्य क्यानले धमाधम गरिरहेको छ ।

क्यानले आयोजना गर्ने प्रधानमन्त्री कप तथा केही घरेलु प्रतियोगिता हुने गरेको मुलपानी मैदान र पिचका बारेमा खेलाडीहरु पनि सन्तुष्ट थिएनन् । तर, समूह चरण र सेमिफाइनलसहित एसीसी प्रिमियर कपका ११ खेल मुलपानी मैदानमा हुनेछ । जसमा नेपालको एक खेल छ ।

प्रतियोगिता सुरु हुन २५ दिन बाँकी रहँदा क्यानले खेल मैदानको काम लगभग सकिसकेको छ । नेपालका क्युरेटरहरुमा भर पर्नेस्थिति नदेखिएपछि करिब २० दिन अघिदेखि बंगलादेशबाट तीनजना क्युरेटर ल्याएर पिच तयार गरिएको क्यानका कोषाध्यक्ष रोशन सिंहले बताए ।

‘मैदान लगभग तयार छ । हामीले धमाधम काम गरिरहेका छौं । अबको १० दिनमा मैदान तयार हुन्छ । मैदान करिब ५२ फिट ठूलो बनाएका छौं । पिचलाई राम्रो बाउन नेपाली पिच क्यूरेटर बाट पार नलाग्ने भएर बंगलादेशबाट तीन जनालाई आव्हान गरेर बोलाएका छौं । गत २० दिनदेखि अहिलेसम्म उहाँहरु काम गर्दै हुनुहुन्छ,’ उनले भने ।

मुलपानीमा दुई क्रिकेट मैदानहरु छन् । तल्लो र माथिल्लाे मुलपानी मैदानको नामले आमदर्शकले चिन्ने गरेका छन् । तल्लो मैदान राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्वामित्वमा छ । करिब ९ वर्षदेखि निर्माणाधीन रहेको तल्लो मुलपानी अझै निर्माण भइरहेको छ ।

करोडौ बजेट खर्च भएको उक्त मैदानलाई चाँडै सम्पन्न गर्न नसक्दा अहिले विद्यालय खेलकुद र सामान्य प्रतियोगिताहरु आयोजना हुने गरेका छन् । यत्तिका वर्षमा एउटा चेन्जिङ रुम पनि बन्न नसकेको अवस्थामा सो मैदान रहेको हुँदा क्यानले आफ्नै मैदान बनाउने र त्यहीँ खेल गर्न लागेको कोषाध्यक्ष सिंहले बताए ।

‘तल्लो मैदानको निर्माण कार्य अझै भइरहेको छ । त्यहाँको आउट फिल्डको माटो राम्रो थिएन । पिच बनाउन पनि यहाँ जति समय लाग्छ त्यहाँ पनि त्यत्ति नै लाग्ने भयो त्यसैले आफ्नै मैदान बनाउँ भनेर हामीले यहाँ निमार्ण कार्य सुरु गर्यौं,’ उनले थपे ।

खेल खेल्ने मैदानको तयारी अन्तिम चरणमा रहँदा सबैको चासोको विषयको रुपमा रहेको छ दर्शक बस्ने ठाउँ । मुलपानी मैदानमा दर्शक बसेर हेर्नै ठाउँमा खाल्टो परेको छ । तर, त्यो ठाउँलाई सम्याएर खेल हेर्ने सहज वातावरण मिलाउन क्यानले नगरपालिकासँग समन्वय गरेको र आजदेखि नै काम सुरु हुने सिंहले सुनाए ।

‘दर्शक बस्ने ठाउँ र वरिपरिको पर्खालहरु भत्किएका थिए । हामीले पुरानै कुरालाई मर्मत गरेर राम्रो बनाएका छौं । नगरपालिकासँग राम्रोसँग सरसल्लाह गरेका छौं । माटो पुरेर दर्शक बस्नयोग्य मैदान बनाउँछौं । शौचालय पनि बनाउने छौं,’ सिंहले सम्पूर्ण नेपाली क्रिकेट समर्थकलाई विश्वास दिलाए ।

गेट, मैदान, ड्रेसिङ रुमदेखि मैदानमा सबैकुरा मर्मत गर्नु पर्दा निकै बजेट लाग्छ । अहिले क्यानले एसीसीबाट प्राप्त बजेटलाई सदुपयोग गर्दै सकेसम्म पुराना मर्मत गरेर प्रयोग गर्नसकिने सामानलाई मर्मत गरेर प्रयोग गरिरहेको सिंहले जानकारी दिए ।

तल्लो रंगशालामा निर्माणकार्य भइरहेको छ । त्यसलाई चाँडो सक्न सदस्यसचिवले निर्देशन दिएका छन् । यदि, सो मैदान चाँडै बने नेपालमा यू–१९ एसीसी प्रिमियर कप पनि नेपालमा आयोजना गर्न पहल गर्ने क्यानको योजना छ ।

दुईदेखि तीनवटा अन्तर्राष्ट्रिय मान्यताप्राप्त खेल यही मैदानमा यदि हुने हो भने नेपालमा एसीसी र आईसीसीको प्रतियोगिताहरु धेरैभन्दा धेरै हुने र उनीहरुलाई नेपालमा अरुतिर भन्दा लगानी गर्न पनि सहज हुने सिंह बताउँछन् । साथै, पछिल्लो समय आर्थिक पारदर्शीता भएर नेपाललाई फण्डिङ पनि बढाइदिएको उनले सुनाए ।

पछिल्लो समय लमहीको देउखुरी क्रिकेट रंगशाला सम्पन्न भएको राम्रो अवस्थामा रहँदा पनि क्यानले प्रतियोगिताहरु आयोजना नगरेको भनेर समर्थकहरुले आलोचना गरिरहेका छन् । तर, उक्त स्थानमा खेल्ने मैदान राम्रो भएपनि बाँकी कुराहरुको असुविधाका कारणले गर्दा प्रतियोगिताहरु आयोजना गर्न नसकेको सिंह बताउँछन् ।

‘लमहीस्थित देउखुरीको क्रिकेट रंगशाला राम्रो छ । नगरपालिकाले क्यानलाई हस्तान्तरण पनि गर्ने भएको छ । तर, आईसीसी र एसीसीले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न पाँचतारे होटलदेखि स्वास्थ्य सेवा राम्रो भएको स्थल खोज्छ, जुन त्यहाँ छैन । आगामी दिनमा सेवा सुविधासम्मन्न भयो भने हामी त्यहाँ पक्कै अन्तर्राष्ट्रिय खेल गराउँछौं,’ सिंहले बताए ।

प्रिमियर कपको समूह ‘ए’ मा ओमान, कतार, मलेसिया र साउदीअरब छन् भने समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।दुवै समूहका शिर्ष दुई टीमले सेमिफाइनल खेल्नेछन् ।

यस प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एशिया कपमा भारत र पाकिस्तानको समूहमा रहेर खेल्न पाउनेछ भने शीर्ष तीन टीमले जुलाईमा आयोजना हुने ‘एसीसी इमर्जिङ टिम्स’ एसिया कप खेल्न पाउनेछन् ।नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर