विद्या भण्डारीविरुद्ध विषवमन गरिरहने पेशेवरहरुका नामको मैजारो – Nepal Press

विद्या भण्डारीविरुद्ध विषवमन गरिरहने पेशेवरहरुका नामको मैजारो

शीतल निवासमा करिब ७ वर्षको गौरवशाली कार्यकाल पूरा गरेर देशका प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारी सम्भवतः फागुन २८ गते आफ्नो निवास फर्किनुहुनेछ । उहाँको निवास मर्मत नसकिएकाले सायद देवर डा.कैलाश भण्डारीको घरमा (नेपाल प्रेस समाचार अनुसार) बस्नुहोला ।

हामीलाई थाहा छ, विद्या भण्डारीले सरकारी आवास सुविधा नलिएको र देवरको घरमा आश्रय लिएको समाचार नेपालको अधिकांश मिडियाको समाचार बन्ने छैन । किनकि यसमा विद्या भण्डारीको आलोचना गर्ने स्पेस हुनेछैन । हाम्रा मिडियाको वर्ग चरित्रले विद्या भण्डारीको प्रशंसा गर्न मिल्दैन ।

यसको छनक राष्ट्रपति पदबहाल नहुँदै रामचन्द्र पौडेलले सडक खाली गराएर सवारी चलाउँदा यी नै व्यक्तिहरु कार्यविधि नै खराब रहेछ, राष्ट्रपतिको दोष होइन भन्ने भाष्य निर्माण गर्न लागिसकेका छन् । जबकि त्यही कार्यविधिअनुसार विद्या भण्डारीको सवारी सेनाले चलाउँदै चरित्रहत्या गर्न वरिष्ठ व्यक्तिहरु नै धुइरो लाग्थे ।

यसबाट के देखिन्छ भने जुन जुन विषयलाई लिएर राष्ट्रपतिको रुपमा विद्या भण्डारीको आलोचना, विरोध र चरित्रहत्या गरियो, त्यो रामचन्द्र पौडेलको हकमा लागू हुनेछैन । किनकि विद्या भण्डारी एमाले हुनु र त्यसमा पनि एकल महिला हुनुको थप यातना थियो त्यो, जुन कष्ट रामचन्द्रको हकमा उठाउनु पर्नेछैन । हाम्रो समाजको चरित्रअनुसार विद्या भण्डारीले झेल्नुपरेका यस्ता व्यवहार रामचन्द्रमाथि हुने छैनन् ।

विद्या भण्डारीले सरकारी आवास सुविधा नलिएको र देवरको घरमा आश्रय लिएको समाचार नेपालको अधिकांश मिडियाको समाचार बन्ने छैन । किनकि यसमा विद्या भण्डारीको आलोचना गर्ने स्पेस हुनेछैन । हाम्रा मिडियाको वर्ग चरित्रले विद्या भण्डारीको प्रशंसा गर्न मिल्दैन ।

कसैले चर्चा गरे पनि नगरे पनि, विद्या भण्डारी नेपाली महिलाहरुका आदर्श र गौरवमयी पात्र हुनुहुन्छ । उहाँले यसअघिका राष्ट्रपतिले जस्तो राज्यकोषमा आँखा लगाउनुभएन । यस्तै सादगी चरित्र आजको समाजले खोजेको हो । भलै पात्रका आधारमा आलोचना र प्रशंसा गर्ने समाजमा विद्या भण्डारीको प्रशंसा नभए पनि सत्य लुक्दैन ।

विद्या भण्डारी राष्ट्रपति भएदेखि नै देशको एउटा नकारात्मक चिन्तन राख्ने जमात विरोधमा उत्रिएको हो । सरकारले राष्ट्रपति भवनमा कार्पेट फेर्न टेण्डर गर्दा विद्या भण्डारीको विरुद्ध सम्पादकीय लेख्ने बौद्धिक पत्रकारदेखि सरकारले विदेशी राष्ट्र प्रमुख आउँदा राख्ने अतिथि गृह बनाउन खोज्दा विद्या भण्डारीलाई घर किन्न लागियो भन्नेसम्मका बौद्धिक सिण्डिकेटले कब्जा गरेको देशमा राम्रो कामको प्रशंसा हुन्न ।

विद्या भण्डारी राष्ट्रपति बनेपछि उहाँले तत्कालीन केपी अ‍ोली नेतृत्वको सरकारका अर्थमन्त्री विष्णु पौडेलमार्फत बजेटमै व्यवस्था गरेर प्रसुति व्यथाका कारण जीवन गुमाउने अवस्था भएका ग्रामीण महिलाको तत्कालै हेलिकोप्टरबाट उद्धार गर्न ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अघि बढाउँदा पनि यस्ता जमातले विरोधै गरेको थियो ।

सरकारले कार्यविधि नै बनाएर दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि हवाई उद्धार गर्न हेलिकोप्टर प्रयोग गर्दा विद्या भण्डारीले निजी हेलिकोप्टर लिएको आरोप पनि खेप्नुप¥यो । यही कार्यक्रमका कारण यसबीचमा सयौं होइन हजारभन्दा माथि प्रशव वेदनाबाट पीडित महिलाको जीवनरक्षा भएको छ । म आफैं गाउँपालिका उपाध्यक्ष भएपछि यस्ता महिलाको आफ्नै पहलमा उद्धार गरेर पठाइरहेकी भएकाले यस्ता कार्यक्रमको महत्व हामी जस्ता ग्रामीण तहकाले मात्र बुझ्न सक्छौं ।

विद्या भण्डारी राष्ट्रपति बनेपछि उहाँले तत्कालीन केपी अ‍ोली नेतृत्वको सरकारका अर्थमन्त्री विष्णु पौडेलमार्फत बजेटमै व्यवस्था गरेर प्रसूति व्यथाका कारण जीवन गुमाउने अवस्था भएका ग्रामीण महिलाको तत्कालै हेलिकोप्टरबाट उद्धार गर्न ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अघि बढाउँदा पनि यस्तो जमातले विरोधै गरेको थियो ।

सुत्केरी महिलाको मात्र के कुरा, नेपाली सेनाले विदेशी भीभीआईपीहरुको सवारीका बेला प्रयोग गर्न हेलिकोप्टर किन्न लाग्दा विद्या भण्डारीलाई निजी हेलिप्याडसहितको हेलिकोप्टर किन्न लागियो भनेर ठूल्ठूला ब्यानर हेडलाइन बने ।

मानौं, सेनाको लागि किनिएको, सुत्केरी उद्धारका लागि किनिएको हेलिकोप्टर विद्या भण्डारीले अवकाशपछि चपलीस्थित निवासमै हेलिप्याड बनाएर राख्न लागेजस्तै राष्ट्रिय बहस चलाएर जनमत निर्माण गर्न खोजियो । यसमा पेशेवर एमालेविरोधी जमातका साथै उनीहरुलाई खुराक प्रदान गर्ने रवि लामिछानेले इंगित गरेका मिडियादेखि चारतारे बौद्धिक जमात र माओवादीको एउटा हिस्सा सधैं संलग्न रह्यो ।

देशको सर्वोच्च पदमा एकजना सक्षम र देशभक्त महिला आसीन हुँदा सबैभन्दा पीडा कथित नागरिक अभियन्तादेखि यस्तै जमातलाई भएको थियो । उनीहरुले सुरुदेखि नै विद्या भण्डारीको विरोधमा संगठित मिसन चलाएका थिए । किनकि विद्या भण्डारी भूईं तहबाट उठेर आएका राजनीतिक कार्यकर्ता र सर्वसाधारण परिवारको महिला भएकाले उनीहरुको विरादरीमा नपर्नु स्वाभाविक थियो ।

विद्या भण्डारीले देशभक्ति र महिला मुक्तिको मिसाइल कायम गर्दा रामकुमारी झाँक्रीदेखि पञ्चा सिंहसम्मका छद्म वामपन्थी र मोहना अन्सारीदेखि इन्द्र अधिकारीसम्मका सम्भ्रान्त चारतारे अभियन्ताहरुले एकल महिलामाथि चरित्रहत्याको विषालु हतियार प्रहार गरेकै हुन् ।

महिलाकै अनुहारका यस्ता स्त्रीद्वेषी पात्रहरु इतिहासमा विभिन्न नाम र अनुहारमा प्रकट भइरहन्छन् । विद्या भण्डारीविरुद्ध खडा भएका यी पात्रहरु रामचन्द्रहरुको बचाउमा उत्रिइसकेका छन् । यसबाट पनि महिलाको दुश्मन महिला नै हुन्छन् र महिलाले उच्च स्थानमा पुग्दा यस्तै महिलाहरुलाई डाह तथा ऐंठन हुन्छ भन्ने पुष्टि हुन्छ ।

यस्ताखाले संगठित प्रहार विद्या भण्डारी सक्रिय राजनीतिमा लागेदेखि सुरु भएको थियो र परपीडकहरुको जमातले उहाँको कार्यकाल सकिने अन्तिम दिनसम्म पनि स्त्रीद्वेषी हमला गर्न संगठित छ । सक्ने भए यिनीहरुले महाअभियोग लगाएर हटाइसक्थे, नसक्ने भएपछि विषवमन गरेर सन्तुष्टि मेटाइरहेका छन् ।

सेनाको लागि किनिएको, सुत्केरी उद्धारका लागि किनिएको हेलिकोप्टर विद्या भण्डारीले अवकाशपछि चपलीस्थित निवासमै हेलिप्याड बनाएर राख्न लागे जस्तै राष्ट्रिय बहस चलाएर जनमत निर्माण गर्न खोजियो । यसमा पेशेवर एमालेविरोधी जमातका साथै उनीहरुलाई खुराक प्रदान गर्ने रवि लामिछानेले इंगित गरेका मिडियादेखि चारतारे बौद्धिक जमात र माओवादीको एउटा हिस्सा सधैं संलग्न रह्यो ।

जाँदाजाँदै राष्ट्रपतिले राष्ट्रघाती र महिलाविरोधी नागरिकता विधेयक रोकेर नेपाली जनतालाई र नेपाली माटोमाथि गुणमात्र लगाउनुभएन, अब आएका राष्ट्रपतिको देशभक्तिको परीक्षणको बाटो पनि खोल्नुभएको छ । हत्यारालाई उन्मुक्ति दिने अध्यादेश रोकेर उहाँले देशको र जनताको अभिभावकको भूमिकामा आफूलाई खरो उतार्नुभएको छ ।

राष्ट्रपतिले नागरिकता विधेयकमा उठाएको लैंगिक समानताको विषय यसअघि अहिलेको मूलधारका भनिएका मिडिया, कथित नागरिक अभियन्ता र ‘स्युडो फेमिनिस्ट’हरुले चर्को आवाजमा लेख्ने र बोल्ने गरेका थिए । किनकि त्यतिबेला एमाले र केपी ओली सत्तामा थिए, उनीहरुले ठूलै एजेण्डा बनाएका थिए । तर, जब यही कुरा उठाएर राष्ट्रपतिले विधेयक फिर्ता पठाउनुभयो, उनीहरु झुत्तिएर विरोधमा उत्रिए ।

जनताका तत्कालीन समस्या, महिलाले दुःख पाएका कुरा र महिला सशक्तीकरणका लागि राष्ट्रपतिको संवैधानिक सीमाभित्र रहेर विद्या भण्डारीले सधैं सरकार र सरकारी संयन्त्रहरुलाई झक्झक्याउने र मार्गदर्शन गर्ने काम गरिरहनुभयो । यतिसम्म कि राजदूत नियुक्तिमा समावेशीको प्रचलन उहाँले नै स्थापित गर्न बाध्य पार्नुभयो ।

पैतृक सम्पत्तिमा छोरीको समान अधिकारको आन्दोलनको नेतृत्व गरेर राजनीतिमा स्थापित विद्या भण्डारीले उक्त मुद्दालाई कानूनमा समेटेर इतिहास बनाउनुभएको थियो । कमलरी प्रथा अन्त्य गराउनेदेखि महिलाको ३३ प्रतिशत प्रतिनिधित्वलाई संविधानमा राख्ने उहाँको भूमिका र शीतल निवासमा गर्विलो कार्यकाल इतिहासले मूल्यांकन गर्नेछ ।

फेरि पनि दोहोर्‍याउन मनलाग्यो, राष्ट्रको अभिभावकको भूमिकामा विद्या भण्डारी खरो उत्रिनुभएको छ । उहाँलाई गठबन्धनका मतियारबाहेक बहुसंख्यक नेपाली जनताको साथ छ । आवश्यक परेमा देशले प्रथम महिला प्रधानमन्त्रीको भूमिकामा फेरि विद्या भण्डारीको खोजी गरेमा उहाँ हामीबीचमै रहनुहुनेछ । किनकि संविधानले राष्ट्रपति भइसकेको व्यक्तिलाई राजनीति गर्न रोकेको छैन र विश्वमा यस्ता धेरै उदाहरण पनि छन् ।

(अस्मिता थापा लिखु गाउँपालिका ओखलढुंगाको उपाध्यक्ष हुन् । )


प्रतिक्रिया

4 thoughts on “विद्या भण्डारीविरुद्ध विषवमन गरिरहने पेशेवरहरुका नामको मैजारो

Leave a Reply

Your email address will not be published. Required fields are marked *