यस्तो छ राजालाई विस्थापित गरेर राष्ट्रपतीय प्रणालीको विश्व इतिहास – Nepal Press

यस्तो छ राजालाई विस्थापित गरेर राष्ट्रपतीय प्रणालीको विश्व इतिहास

काठमाडौं । रामचन्द्र पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बनेका छन् । कार्यकालका हिसाबले भने पौडेल चौथो कार्यकालका लागि राष्ट्रपति भएका छन् । नेपालमा पहिलो राष्ट्रपति २०६५ मा डा. रामवरण यादव बनेका थिए । त्यसपछि विद्यादेवी भण्डारी दुईपटक राष्ट्रपतिको कार्यकाल सम्हालेर बिदा हुँदैछिन् ।

२०६२/०६३ को जनआन्दोलन पछि नेपालमा २४० वर्षको एकतन्त्रीय राजतन्त्रात्मक शासन व्यवस्थाको विधिवत अन्त्य भएको थियो । २०७२ असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएपछि संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुकको रूपमा देश अघि बढिरहेको छ ।

तर, विश्वमा राजालाई विस्थापित गरेर देशको प्रमुख राष्ट्रपति बन्ने प्रणाली कहिलेदेखि सुरू भयो ? विश्वका पहिलो राष्ट्रपति को हुन् ? यही विषयमा यहाँ चर्चा गरिएको छ ।

विश्वमा कसरी सुरू भयो राष्ट्रपति चयनको प्रक्रिया ?

विश्वको पहिलो राष्ट्रपतिबारे चर्चा गर्दा अमेरिकी स्वतन्त्रता संग्राम बिर्सन हुन्न । ‘मृत्यु देऊ वा स्वतन्त्रता देऊ’ भन्ने नारासहित सन् १७७६ देखि १७८३ सम्म चलेको यो आन्दोलनमा अमेरिकी नागरिकले आफ्नो देशमा भएको ब्रिटिश औपनिवेशवादविरुद्ध संघर्ष गरेका थिए । यही क्रममा अमेरिकामा रहेका १३ राज्यहरू एक ठाउँमा खडा भएर संयुक्त राज्य अमेरिकी बनाएर ब्रिटिशविरुद्ध लडेका थिए । अन्ततः त्यही संघर्ष नै विश्वमा संघीयताको सूत्रपात गर्‍यो ।

सन् १७७६ जुलाई ४ मा अमेरिकी स्वतन्त्रताको घोषणा पत्र (डिक्लेरेशन अफ इन्डिपेन्डेन्स) जारी गरे । यो घोषणा पत्र थोमस जेफरसनले तयार गरेका थिए जुन एउटा यस्तो राजनीतिक दस्तावेज हो की यसकै कारण अमेरिका ब्रिटिशबाट स्वतन्त्र बन्यो । जेफरसनले तयार पारेको घोषणापत्रमा एडम्स र फ्रैंकलिनले केही संशोधन गरे त्यसलाई २८ जूनमा प्रायद्वीप कांग्रेसमा प्रस्तुत गरे र २ जुलाईमा यो विपक्षविना पारित भएको थियो ।

त्यस बेलादेखि जुलाई ४ लाई संयुक्त राज्य अमेरिकाले स्वतन्त्रता दिवसका अवसरमा सार्वजनिक बिदा दिइने गरिन्छ । वास्तवमा अमेरिकीहरूले स्वतन्त्रता संग्राम सुरु गरेको छाटो समयमै ब्रिटिश औपनिवेशवादबाट छुटकारा पाएका थिए ।

त्यसपछि विश्वको र अमेरिकाको पहिलो राष्ट्रपतिका रूपमा ३० अप्रिल १७८९ मा जर्ज वासिङटनले शपथ ग्रहण लिएका थिए ।

यसरी विश्वमा वंशीय राजालाई विस्थापित गरेर जनताको छोरा देशको राष्ट्रप्रमुख बन्ने प्रणाली अमेरिकाबाट सुरू भएको थियो ।

त्यसबेला बेलायतमा जर्ज तृतीय राजा थिए । उनको दमनको नीतिका कारण स्वतन्त्रका निम्ति विश्वव्यापी प्रयास हुन थालेको थियो । त्यही क्रममा अमेरिका पनि बेलायतको साम्राज्यवादको चंगुलबाट फुकेको हो ।

वास्तवमा अमेरिकी स्वतन्त्रताको घोषणा पत्रमा उल्लेखित महत्वपूर्ण सिद्धान्तहरूले विश्वको राजनीतिक विचारधारामा आमूल परिवर्तन ल्याइदियो ।

यसकै जगमा विश्वमा अन्य मुलुकहरूमा पनि राजतन्त्रको अन्त्यदेखि संघीयता र राष्ट्रपतिलाई राष्ट्रप्रमुख मान्ने लहड चल्यो । फलस्वरूप निकट शताब्दीपछि ब्रिटिश साम्राज्यको अन्त्यदेखि अन्य राजनीतिक कायापलटहरू विश्वमा भए ।

नेपालमा पनि विभिन्न राजनीतिक संघर्षहरूको जगमा राजतन्त्रको अन्त्य गरेको थियो ।

(तस्बिर : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल बिहीबार साँझ खुसीयाली साट्दै । )


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर