राप्रपा प्रवक्ताको प्रश्न- चुनावबाट स्थापित पाँचौ शक्तिलाई किन निशाना बनाइँदैछ ? – Nepal Press

राप्रपा प्रवक्ताको प्रश्न- चुनावबाट स्थापित पाँचौ शक्तिलाई किन निशाना बनाइँदैछ ?

'राजावादी भनिनेहरू नै रवीन्द्र मिश्रको हारको कारण होइनन् ?'

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले चुनावमार्फत् स्थापित भएको शक्तिलाई निशाना बनाइएको भन्दै टिप्पणी गरेका छन् ।

फेसबुकमा लामो स्टाटस लेख्दै उनले राप्रपाको जस्तै विचार बोक्नेहरू सधैँ प्रतिपक्षीजस्ता देखिएको उल्लेख गरेका छन् ।

‘एकाथरि मान्छेहरू राप्रपाको जस्तै विचार बोक्छन्, बोल्छन् तर राप्रपाका लागि सधैँको प्रतिपक्षी जस्ता देखिन्छन् । संगठित रूपमा राप्रपालाई अर्ती उपदेश दिन्छन्, भए नभएको प्रचार, दुष्प्रचार गर्छन्, आवश्यक परे तल्लो स्तरको टिप्पणी पनि गर्छन्, चुनावको बेला तिनले राप्रपालाई होइन कांग्रेस कम्युनिस्टलाई भोट दिन्छन् भन्ने हाम्रो आरोप छ ‘, श्रेष्ठले लेखेका छन् ।

उनले रवीन्द्र मिश्रको हारमा राजावादी भनिनेहरू नै कारक रहेको पनि बताएका छन् ।

श्रेष्ठले लेखेका छन्, ‘एकाध राजावादी छन् तिनले आफैं उम्मेदवार बनेर राप्रपाका उमेदवारलाई हराइदिए । रवीन्द्र मिश्रको हारमा राजावादी भनिनेहरू नै हारको कारण बन्न पुगेका होइनन् र ? हामीलाई जान्न मन छ, हिन्दूराष्ट्र र राजसंस्थाको मुद्दा लिएर राजनीतिक समूह बनाएका, आफ्नै उम्मेदवार खडा नगरेका १०० भन्दा बढी दल र समूहले गएको निर्वाचनमा कहाँ भोट हाले ?’

आफूहरूको साझा लक्ष्य राजसंस्था, हिन्दूराष्ट्रको पक्षमा र संघीयताको विपक्षमा जनमत बटुल्ने हुनुपर्ने भन्दै आफूलाई राम्रो बनाउने र आफ्नो अभियान सञ्चालन गर्ने क्रममा अर्कोलाई दोषी देखाउने प्रवृत्ति राष्ट्रवादी आन्दोलनको सबैभन्दा कमजोर पक्ष भएको श्रेष्ठको भनाई छ ।

‘निशाना बनाउनुपर्नेहरू अरु नै छन् तर लामो इतिहास भएको, समान विचार बोकेको, यही एजेन्डा लिएर निर्वाचनमार्फत वैधानिक रुपमा स्थापित भएको, संसदको पाँचौ र यो एजेन्डाको प्रमुख शक्ति राप्रपालाई किन निशाना बनाइँदैछ ?’, उनको प्रश्न छ ।

राजनीतिक दलमा आफ्नै सीमा र मर्यादा हुने भन्दै उनले ३३ वर्षे इतिहास भएको पार्टीमा ३३ दिनमा नेता हुने रहर गर्नेहरूको कुरा सुनेर आफूलाई बदल्ने भूल नगर्न आग्रहसमेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर