रास्वपा सरकारबाट हट्दैछ ? पार्टीभित्र आज ‘निर्णायक’ छलफल


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्री दिन आनाकानी गरेपछि आज सो पार्टीभित्र निर्णायक छलफल हुने भएको छ । यसका लागि दिउँसो साढे ४ बजे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको हो ।
सत्तारुढ गठबन्धनभित्र भएको भागबण्डाअनुसार गृहमन्त्री आफूहरूले नै पाउनुपर्ने रास्वपाको अडान छ । सभापति रवि लामिछाने सो मन्त्रालयमा फर्किन दौडधुप गरिरहेका छन् । तर, प्रधानमन्त्रीका तर्फबाट सकारात्मक संकेत नआएपछि सरकारबाट हट्ने मनस्थितिमा रवि पुगेको स्रोत बताउँछ ।
रास्वपाले गृहमन्त्रालयको विकल्पका अर्को मन्त्रालय नस्वीकार्ने बताइसकेको छ । साथै गृहमा कसलाई मन्त्री बनाउने भन्ने निर्णय लिने अधिकार पार्टीसँगै रहने उसको भनाइ छ । तर, प्रचण्ड रविलाई गृहमन्त्री बनाउन तयार छैनन् । गृहमन्त्रालय माओवादीसँगै राख्ने रणनीति उनको छ ।
‘यदि गृह मन्त्रालय नपाउने हो भने सरकारबाट हट्नुको विकल्प हुँदैन,’ पार्टी स्रोतले भन्यो ।
अध्यक्ष लामिछानेले आज पनि बालुवाटार पुगेर प्रचण्डलाई भेटेका थिए । हिजो गृहमन्त्री बनाउने झिनो आश्वासन पाएर आशावादी बनेका लामिछाने आजको भेटपछि भने निराश बनेका छन् । उनले सामाजिक सञ्जालमा लेखेको स्टाटसले पनि त्यही संकेत गर्छ । आफ्नो मौनता आजको दिनसम्ममात्र भएको उनले लेखेका छन् ।
रास्वपा केन्द्रीय सदस्य दीपक बोहराले पार्टी सरकारमा रहने वा नरहनेबारे केन्द्रीय समिति र संसदीय दलको समितिमा छलफल हुने बताए ।
‘बैठकले जे निर्णय लिन्छ, त्यही हुन्छ,’ उनले भने ।
बैठक अपरान्ह साढे ४ मा बोलाइएको छ ।
(फाइल तस्बिर)