सकियो सिभिल बैंकको बाह्रौं वार्षिक साधारणसभा, हिमालयनसँग एक्विजिशन स्वीकृत – Nepal Press

सकियो सिभिल बैंकको बाह्रौं वार्षिक साधारणसभा, हिमालयनसँग एक्विजिशन स्वीकृत

काठमाडौं । सिभिल बैंक लिमिटेडको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंमा बिहीबार सम्पन्न साधारणसभाले चालू आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण गर्न ‘एस राई एण्ड एसोसियट्स’ लाई लेखापरीक्षकमा नियुक्त गरेको छ ।

यसका साथै सिभिल बैंक लिमिटेडलाई हिमालयन बैंक लिमिटेडले प्राप्ति (एक्विजिशन) गर्ने सन्दर्भमा उक्त बैंकको १०० कित्ता शेयर बराबर हिमालयन बैंक लिमिटेडको ८०.२८ कित्ता शेयर प्राप्त हुने गरी शेयर आदानप्रदान अनुपात कायम गरी प्राप्ति (एक्विजिशन) कार्यलाई अन्तिम स्वीकृति प्रदान गरेको हो ।

साथै सिभिल बैंकलाई हिमालयन बैंकले प्राप्ति गर्ने सम्बन्धमा भएको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनकर्ताको नियुक्ति र निजलाई भुक्तानी गरिएको पारिश्रमिक, सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन (ड्यू डेलिजेन्स अडिट रिपोर्ट), समझदारीपत्र तथा अन्तिम सम्झौतापत्रलगायतका सम्पूर्ण काम कारबाहीलाई अनुमोदन गरिएको छ ।

उक्त साधारणसभाका सबै प्रस्ताव पारित भएकोमा सभामा उपस्थित सबैलाई बैंकका अध्यक्ष प्रतापजङ्ग पाण्डेले धन्यवाद दिएका छन् । साथै सिभिल बैंकको मर्जर कमिटीलाई विशेष आभार प्रकट गर्दै नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतिपश्चात दुवै बैंकको एकीकृत कारोबार २०७९ माघभित्र गरिने योजना रहेको बैंकका अध्यक्ष पाण्डेले बताए ।

करिब ८ लाखभन्दा बढी ग्राहकलाई ११५ शाखा, १३ एक्सटेन्सन काउन्टर तथा १०२ एटीएममार्फत सेवा प्रदान गरिरहेको बैंकले हालसम्म ९६ अर्ब रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी ८६ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको बैकले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर