कर्णालीमा भागबन्डा: मुख्यमन्त्रीसहित माओवादीलाई ४ र एमालेलाई ३ मन्त्रालय – Nepal Press

कर्णालीमा भागबन्डा: मुख्यमन्त्रीसहित माओवादीलाई ४ र एमालेलाई ३ मन्त्रालय

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच ४ बुँदे सहमति भएको छ । नेकपा माओवादी केन्द्रबाट नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्मा र एमालेका प्रदेश इन्चार्ज यामलाल कँडेलबीच चारबुँदे सहमति भएको हो ।

सातदलीय गठबन्धनको शीर्ष तहमा कर्णालीको मुख्यमन्त्री माओवादीलाई एकलौटी दिने निर्णय भए पनि प्रदेशस्तरमा एमालेसँग आलोपालो गर्ने सहमति भएको छ ।

आलोपालो सहमतिअनुसार पहिलो चरणमा साढे २ वर्ष शर्मा र दोस्रोमा एमालेका यामलाल कँडेलले नेतृत्व गर्ने माओवादीका प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए ।

शर्मा र कँडेलबीच ८ रहेको मन्त्रालय घटाएर ७ कायम गर्ने, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ४ माओवादी र ३ नेकपा एमालेले लिने सहमति भएको छ ।

मुख्यमन्त्रीमा माओवादीका शर्माले नियुक्त भइसकेका छन् । उनले भोलि पद तथा गोपनीयताको शपथ गर्नेछन् ।

४० सदस्य रहेको कर्णाली प्रदेशसभामा बहुमतका लागि २१ सांसद चाहिन्छ । सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १४ जना, माओवादी केन्द्रका १३ जना, नेकपा एमालेका १०, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद एकएक जना छन्।

शर्मालाई मुख्यमन्त्री नियुक्तिका लागि माओवादी केन्द्र, एमाले, राप्रपा र नेकपा एस गरी २५ सांसदको समर्थन छ । माओवादी पोलिटव्युरो सदस्य शर्मा रुकुमपश्चिम प्रदेशसभा (२) बाट निर्वाचित भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर