बागमतीमा सरकारलाई विश्वासको मत दिन कांग्रेसले माग्याे सभामुख – Nepal Press

बागमतीमा सरकारलाई विश्वासको मत दिन कांग्रेसले माग्याे सभामुख

हेटौ‌ंडा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिएर राष्ट्रिय राजनीतिमा हलचल पैदा गरेको नेपाली कांग्रेसले बागमती प्रदेशमा पनि सभामुख पाएको अवस्थामा गठबन्धनको सरकारलाई विश्वासको मत दिने जनाएको छ ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले केन्द्रमा जस्तै प्रदेशमा पनि आफूहरु विश्वासको मत दिन तयार रहेको तर त्यसको लागि सत्तापक्षले कांग्रेसलाई सभामुख दिनुपर्ने बताए ।

नेपालप्रेसँग कुरा गर्दै नेता लामाले केन्द्रमा पनि सरकारलाई विश्वासको मत दिएको कांग्रेसले यहाँ दिन असहज नहुने तर सभामुख सहितका केहि विषयमा सत्तापक्ष लचिलो हुनुपर्ने बताए ।

उनले भने, ‘राजनीतिमा केही पाउँदा केही गुमाउन पनि पर्छ भन्ने मान्यताबारे सत्तापक्षका नेताहरु प्रस्ट हुनुपर्छ, उहाँहरुले हामीलाई मत माग्दा हाम्रो पनि माग सुन्नुभयो भने हामी सकारात्मक छौं ।’

लामाले अहिलेसम्म आफूहरुलाई सत्तापक्षबाट विश्वासको मतको लागि भने कुनै प्रस्ताव आइनसकेको बताए ।

आगामी माघ ३ गते बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिँदैछन् । प्रदेशमा रहेको सात मध्ये ५ दलको ७० जना सभासदको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेललाई कांग्रेसको साथ नहुँदा पनि कुनै समस्या भने छैन ।

तर, केन्द्रमा विकास भएको राजनीतिक घटनाक्रमपछि कांग्रेसले सभामुखको माग अघि सारेको हो । तर, सत्तापक्षले भने राप्रपाका भुवन पाठकलाई सभामुख बनाउने गरी बिहीबार मनोनयन दर्ता गर्ने भएको छ ।

सत्तापक्षले आफूहरुसँग कुनै पनि छलफल र सहमति नगरेको हुँदा कांग्रेसले पनि सभामुख पदमा उम्मेदवारी दर्ता गर्ने लामाले बताए ।

जम्कट्टेललाई ३ जना सांसद रहेको नेपाल मजदुर किसान पार्टीले भने विश्वासको मत नदिने जनाइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर