पृथ्वीनारायण शाह- राष्ट्रिय एकताका प्रतीक कि राजसंस्था पुनः स्थापनाको कसी ? – Nepal Press
सन्दर्भ : पृथ्वी जयन्ती

पृथ्वीनारायण शाह- राष्ट्रिय एकताका प्रतीक कि राजसंस्था पुनः स्थापनाको कसी ?

औपचारिक शिक्षा नभएका वेला ज्ञान र सीपको हस्तान्तरण अनौपचारिक तवरले एक पुस्तादेखि अर्काे पुस्तासम्म गरिन्थ्यो । यसैले नै वर्गीय समाजको बिजारोपण गरेको हो । औपचारिक शिक्षाको व्यवस्था नहुँदासम्म सायद यही नै समाज सञ्चालनको उत्कृष्ट विकल्प थियो । यति भनिरहँदा काम र पेशाका आधारमा हुने विभेद जुनसुकै वेलाको पनि औचित्य पुष्टि गर्न सकिँदैन । पूर्वीय सभ्यताका लेखनहरूलाई आधार मान्दा पनि दासी पुत्र ज्ञानकै कारण विधुर भए, रत्नाकर डाकु महर्षि बाल्मीकि भए । अनि वेदव्यासकी आमा एक माझी समुदायकी थिइन् । तर, त्यसवेला यस्ता उदाहरणहरू एकदमै न्यून हुने गर्थ्यो । आशय के हो भने ज्ञान र सीपले मानिसलाई उसको उचित स्थान निर्धारण गर्ने मानव सभ्यता विकास हुँदादेखिकै हो । जसै औपचारिक शिक्षाको विकास हुँदै गयो, त्यसै पुस्तान्तरणभन्दा पनि ज्ञान, सीप र स्वेच्छाले मानिसको कर्म निर्धारण गर्न थाल्यो ।

मैले वंश र पुस्तान्तरणको थोरै इतिहास जोड्नुको उद्देश्य आजको युगको राजनीतिक बहस के हुनुपर्छ र के हुनै हुँदैन भन्ने हो । प्राचीन युगदेखि आधुनिक युगसम्म विभिन्न कालखण्डमा जुनसुकै किसिमको राजनीतिक व्यवस्था रहे पनि सधैं अटल र अपरिवर्तनीय रहेको चाहिँ नागरिक सर्वोच्चता हो । नागरिकको स्वीकार्यताले नै विभिन्न शासकीय प्रणालीहरू अस्तित्वमा रहे भने उनीहरूकै अस्वीकार्यताले ती प्रणालीहरू परिवर्तन भए । सामाजिक चरित्रले पनि एकै समयमा फरक-फरक भूगोलमा फरक किसिमका शासकीय प्रणालीहरू अस्तित्वमा रहेको पाइन्छ ।

संसारका दुई शक्तिशाली देशहरूमा दुई फरक ध्रुवका शासकीय प्रणाली छन् । संयुक्त राज्य अमेरिका पूँजीवादी देश हो भने जनवादी गणतन्त्र चीन एक कम्युनिष्ट राज्य हो । थाइल्याण्ड एउटा राजतन्त्रात्मक देश हो भने भारत संसारकै ठूलो लोकतान्त्रिक गणतन्त्रात्मक देश भएकोमा गर्व गर्छ । नेपालकै सन्दर्भमा हेर्ने हो भने पनि प्रत्यक्ष राजतन्त्रात्मक, राणा शासन, प्रजातन्त्र, पञ्चायती व्यवस्था, संवैधानिक राजतन्त्र हुँदै आजको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालसम्म आइपुगेको हो ।

प्राचीन युगदेखि आधुनिक युगसम्म विभिन्न कालखण्डमा जुनसुकै किसिमको राजनीतिक व्यवस्था रहे पनि सधैं अटल र अपरिवर्तनीय रहेको चाहिँ नागरिक सर्वोच्चता हो ।

हरेक समाजमा एक या सोभन्दा बढी व्यवस्थाविरोधी तप्का हुन्छन् नै । यसका कारणहरू फरक–फरक हुन सक्छन् । कोही साँच्चिकै भिन्न र भविष्यको सोचबाट उद्वेलित हुन्छन् भने कोही परिवर्तनपछि आफूले गुमाएका अवसरहरूका कारण आन्दोलित हुन्छन् । नेपालको सन्दर्भमा पनि मुख्य रुपमा दुई किसिमका सोचका बीच द्वन्द्व भइरहेको देखिन्छ । पहिलो, सामान्य रुपमा देखिने राजनीतिक परिवर्तनपछिको स्थिरताको चाहना जसको आडमा विकास र समृद्घिको सपना साकार हुने प्रवल सम्भावना रहन्छ । यी चाहना पूरा हुन नसकेको निराशाले फेरि अर्को आन्दोलनको बिगुल फुक्छ । दोस्रो, परिवर्तनपछि शक्ति गुमाएकाहरूको अस्थिरताको चाहना जसको आडमा पुनः शक्तिमा फर्किने खेल खेल्न सजिलो होस् । यो स्थिरता र अस्थिरताबीच सामान्यतः जीत स्थिरताकै हुन्छ । किनकि जनता सधैं विकास र समृद्घिकै पक्षमा हुन्छन् ।

अस्थिर अवस्थामा भने दुईवटा सम्भावना रहन्छ । पहिलो, पुरानै शक्तिको पुनर्बहाली या नयाँ शक्तिको उदय । पुरानै शक्तिको पुनर्बहाली भएका उदाहरणहरु संसारमा एकदमै कम छन् । नेपालमा २०६२÷६३ पछिको परिवर्तनले राजसंस्था र तिनका नजिकका समूहलाई एकदमै कमजोर बनायो । परिवर्तन संस्थागत नभएर अस्थिरता भएको अवस्थामा मात्र आफ्नो पुनरागमन सम्भव हुने सामान्य बुझाइअन्तर्गत नै उनीहरु अस्थिरता सृजना गर्नतिर केन्द्रित रहनु सामान्य हो ।

यसै सन्दर्भमा नजिकिँदै गएको नेपालका भौगोलिक एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ का दिनलाई राष्ट्रिय एकता दिवसका रुपले मनाउने र त्यस दिन सार्वजनिक बिदाको घोषणा गरियोस् भन्ने माग जोडदार किसिमले उठेको देखियो । यसमा आफ्नो इतिहासलाई जस्ताको तस्तै बुझेर गौरव गर्ने सदीक्षा राख्ने एउटा ठूलो जमात छ । अर्को चाहिँ यही नै राजसंस्था पुनःस्थापना गर्ने कसी हो भनेर कुव्याख्या गरिरहेका छन् । आफ्नो इतिहास र जरो बिर्सेर कुनै पनि मुलुकले प्रगति गर्न सक्दैन । साथै सत्य के पनि हो भने विगतमा अल्झेर सुन्दर भविष्यको परिकल्पनालाई सार्थकता दिन सकिँदैन ।

भौगोलिक एकता गरेर नेपाल राष्ट्र- जसमा हामी गौरव गर्छौं- निर्माण गर्ने एक राजालाई सम्मान गर्दा न गणतन्त्रवादीहरू आत्तिन जरुरी छ न त राजतन्त्रवादीहरू मात्तिन ।

राजतन्त्र, राणा शासनलगायत हाम्रो इतिहास हो । आफ्नो विगत कुनै आग्रह पूर्वाग्रह नराखी तथ्यगत विश्लेषण गर्नु उचित हुन्छ । भौगोलिक एकता गरेर नेपाल राष्ट्र- जसमा हामी गौरव गर्छौं- निर्माण गर्ने एक राजालाई सम्मान गर्दा न गणतन्त्रवादीहरू आत्तिन जरुरी छ न त राजतन्त्रवादीहरू मात्तिन । बरु राजतन्त्रभित्रका हरेक राजाहरूका बारेमा सही ज्ञान प्रवाह गर्नु जरुरी छ । राणाकालीन समयलाई एकमुष्ट जहानियाँ निरकुंश शासन भनिरहँदा उदारवादी लोकतान्त्रिक सोच भएका ११४ दिने राणा प्रधानमन्त्री देव शमशेरमाथि अन्याय नहोस् ।

तियाइनमेन स्क्वायरको पूर्वी भागमा अवस्थित राष्ट्रिय संग्रहालय चीनले आफ्नो कला, संस्कृति र इतिहासका बारेमा ज्ञान प्रवर्द्धन गर्ने उद्देश्यका साथ निर्माण गरेको थियो । कम्युनिष्ट राज्य स्थापना हुँदा पनि त्यहाँ कुनै इतिहासलाई मास्ने काम भएको छैन । करिब १७ लाख वर्ष पुरानो यानमो मानदेखि विभिन्न वंशका राजाहरूसम्मका ऐतिहासिक तथ्यहरूलाई सकुशल राखिएको छ । यस्तै विभिन्न देशहरूमा विभिन्न तरिकाले आफ्ना इतिहासलाई सुरक्षित राखिएको हुन्छ ।

इतिहास र संस्कृतिमाथि गरिने राजनीति एकदम निम्नस्तरको हो । जुनसुकै वाद र जुनसुकै शासकीय प्रणाली अपनाए पनि राजनीति त निश्चित उद्देश्य प्राप्तिका लागि गरिने हो । हुने खानेभन्दा पनि हुँदा खाने वर्गको आधारभूत आवश्यकता पूर्ति राज्य सञ्चालनको पहिलो सर्त हो । तसर्थ हामी कुन परिस्थिति पार गर्दै आजको समयसम्म आइपुगेका हौं भन्ने ज्ञात हुनु जरुरी छ । गर्विलो इतिहासमा गर्व गर्ने र प्रतिकूल कुराहरुबाट शिक्षा लिएर अघि बढ्नु नै आजको आवश्यकता हो ।

पुस २७ ले अखण्ड नेपालको निर्मातालाई स्मरण गर्नुका साथै सम्पूर्ण नेपालीलाई एक सूत्रमा बाँध्ने राष्ट्रिय एकता दिवसको माग गरेको हो, राजतन्त्र पुनःस्थापनाको कदापि होइन । न केही राजाहरूलाई देखाएर राजतन्त्रको देवत्वकरण गर्न जरुरी छ न त अरु केहीलाई देखाएर दानवीकरण । हामी लोकतन्त्रको उच्चतम अभ्यास गरिने कानूनी राज्यमा छौं । हामीले चाहेका परिवर्तनहरु यसै संविधानअनुरुप सम्भव छन् । निःशुल्क र गुणस्तरीय स्वास्थ्य र शिक्षा, सर्वसुलभ सार्वजनिक यातायात, प्रभावकारी सामाजिक सुरक्षा र अर्थपूर्ण दायित्वबोधसहितको सामाजिक न्याय आजको राजनीतिका प्रमुख मुद्दाहरू हुन् ।

पुस २७ ले अखण्ड नेपालको निर्मातालाई स्मरण गर्नुका साथै सम्पूर्ण नेपालीलाई एक सूत्रमा बाँध्ने राष्ट्रिय एकता दिवसको माग गरेको हो, राजतन्त्र पुनःस्थापनाको कदापि होइन ।

पृथ्वीनारायण शाहका उपदेश या योगी नरहरिनाथले नामकरण गरेअनुसारको दिव्योपदेशका अंशहरूलाई केलाउने हो भने पनि उनले कहींकतै मुख्य रुपले वंशमा आधारित कुरा गरेको पाइँदैन । राजा र दरबारको प्रयोग राज्य सञ्चालनमा शक्ति केन्द्रका विम्बका रुपले मात्र प्रयोग भएको पाइन्छ । आर्थिक, विदेश र आन्तरिक गरी तीन भागमा वर्गीकरण गर्न मिल्ने उनका उपदेशभित्र उवेला पनि सहअस्तित्व स्वीकार्य देखिन्छ । ‘यो मुलुक चार वर्ण छत्तीस जातको साझा फूलबारी हो’ भन्ने सन्देशभित्र ‘एक जाति एक भाषा’भन्दा पनि उवेलाको समाजअनुरुपले बहुलवादप्रतिको स्वीकार्यता हो ।

पृथ्वीनारायण शाहलाई सम्झना गरिरहँदा वंशवादी राजतन्त्र र धर्म सापेक्षताको मुद्दा उठाउनु उनी र उनका उपदेशमाथिको ठाडो अपमान ठहरिन्छ । आज म एउटा नेपाली नागरिकभन्दा मसँग कुनै सम्बन्ध नै नभएको एक निश्चित वंश बढी राष्ट्रवादी हो भन्ने कुरालाई मैले किन पत्याइदिनुपर्ने ? राष्ट्रप्रेम र देशभक्तिको मापन कुनै वंश, धर्म, जात, लिंग या वर्गले हुन सक्दैन । यति भनिरहँदा म यस देशका सनातन धर्म संस्कृतिप्रति कुनै किसिमको पनि अन्याय हुनुहुन्न भन्ने नै मत राख्दछु । गरिबी र अप्ठ्यारा परिस्थितिको फाइदा उठाएर गरिने धर्म परिवर्तनबाहेक लोकतन्त्रमा धार्मिक स्वतन्त्रता हुनुका साथै राजनीति धर्मभन्दा पर नै रहनुपर्छ । हामीले चाहँदानचाहँदा पनि यस देशभित्र विभिन्न धर्मका मानिसहरुको बसोबास छ । अझ पछिल्लो चरणमा जबरजस्ती धर्म परिवर्तनका कुराहरू पनि आइरहेका छन् ।

तर, भुल्न नहुने कुरा के हो भने ती सबै नेपाली नागरिक नै हुन् । देशप्रतिको माया उनीहरूमा पनि मभन्दा कुनै किसिमले कम छैन भनेर नै विश्वास गर्छु । बरु सनातन धर्म-संस्कृतिलाई राजनीतिभन्दा पर राखेर यसको प्रवर्द्धन, पुनर्जागरण र यसलाई धार्मिक पर्यटनका हिसाबले विकास गर्दै जानु उचित रहन्छ । २१औं शताब्दीको राजनीतिको माग पनि त्यही होे । कट्टरवादी आदर्श बोकेकाहरुले धर्म सापेक्षताभित्र पनि एक निश्चित धर्म र त्यसको संवर्द्धनका लागि राजसंस्था चाहिने भनेर तर्क गरिरहँदा सही मानेमा नरम संवर्द्धनवादका नारा बोकेकाहरू ओझेलमा परेका छन् । बुझनुपर्ने कुरा के हो भने धर्म, संस्कृति र वंशमा आधारित राजतन्त्रको एक-अर्कामा कुनै साइनो नै छैन ।

हो, यो संविधान अकाट्य छैन । यसमा पनि कमि-कमजोरी छन् । यसको कार्यान्वयनमा खटिएका राजनीतिक दल र तिनका पात्रहरूमा प्रश्न उठ्न सक्ला । तर, त्यसको मूल्यांकन गरी जनताले परिवर्तनका लागि शान्त आन्दोलन यही संविधानअनुरुप गर्ने रहेछन् भनेर हालसालैको आम निर्वाचनको नतिजाले देखाइसकेको छ । मौका मिलेका र हरेक प्रतिकूल अवस्थामा समस्याको समाधान दिनुको साटो फेरि पनि इतिहास भइसकेको राजसंस्थाको वकालत गरेर अस्थिरता सृजना गर्नुले देशको हित कहिल्यै गर्दैन । पुस २७ को दिनलाई राष्ट्रिय एकता दिवसका रुपले मनाउँदै गर्दा एकताका प्रतीकका रुपले रहनुपर्ने पृथ्वीनारायण शाहमाथि कुनै किसिमको राजनीति नहोस् ।


प्रतिक्रिया

One thought on “पृथ्वीनारायण शाह- राष्ट्रिय एकताका प्रतीक कि राजसंस्था पुनः स्थापनाको कसी ?

  1. राजाको हिसावले होईन नेपालको अस्तित्व संभव गराउने नेताका रूपमा वहाँलाई चिन्नु्पर्छ । भारतीय दलालहरूले यसको विरोध गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *