नेपाल टी-२०: पोखराको पहिलो जीत, फारवेस्ट तीन विकेटले पराजित – Nepal Press

नेपाल टी-२०: पोखराको पहिलो जीत, फारवेस्ट तीन विकेटले पराजित

काठमाडौं । लगातार पाँच खेल हारेको पोखरा एभेन्जर्सले छैटौं खेलमा जीत निकालेको छ । पोखराले फारवेस्टर्न युनाइटेडलाई ३ विकेटले पराजित गर्दै जारी नेपाल टी-२० लिग क्रिकेट प्रतियोगितामा पहिलो जीत निकालेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फारवेस्टले दिएको १८८ रनको लक्ष्य पोखराले निर्धारित २० ओभरमा ४ बल बाँकी रहँदा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

पोखराका लागि ओपनर आसिफ शेखले सर्वाधिक ४५ रनको योगदान गरे । उनले ३३ बल खेल्दै दुई चौका र दुई छक्का प्रहार गरे । सुमित महर्जन २२ बलमा ५ चौका र २ छक्कासहित ३८ रनमा आउट हुँदा कुशल मल्ल २२ बलमा ५ छक्कासहित ४० रन बनाएर पभेलियन फर्किएका थिए ।

अमिर हम्जा १२ रन र सिद्धान्त लोहनीले २३ रन बनाएर आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

फारवेस्टका करण केसी, उमेर अली र प्रकाश जैशीले समान दुईदुई विकेट लिँदा भुवन कार्कीले एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको फारवेस्टले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८७ रन बनाएको थियो ।

फारवेस्टको ब्याटिङमा उमार अलिले सर्वाधिक ४२ रनको योगदान गरे । उनले २६ बलमा ५ छक्का प्रहार गरे । ओपनर देव खनाल ३१ बलमा ३ चौका र १ छक्कासहित ३३ रन बनाएर पभेलियन फर्कँदा हसिम अनसरी र भीम सार्कीले समान १७ रन जोडे ।

विनोद भण्डारी ११ रन र रासिद खान १५ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै ३२ रनमा आउट हुँदा करण केसी १२ रनमा अविजित रहे ।

पोखराको बलिङमा जाहिर खानले ४ ओभरमा २४ रन खर्चिंदै सर्वाधिक तीन विकेट लिए । अमिर हम्जा र तुलबहादुर थापाले समान दुईदुई विकेट लिए । कुशल मल्ल र आरिफ शेखले समान एकएक विकेट लिए ।

जारी लिगमा फारवेस्टले चारमध्ये एक खेलमात्रै जितेको छ ।

त्यस्तै पहिलो खेलमा काठमाडौं नाइट्सँग २६ रनले पराजित पोखरा दोस्रो खेलमा जनकपुर रोयल्ससँग ५ विकेटले, तेस्रो खेलमा लुम्बिनीसँग तीन विकेट, चौथो र पाँचौं खेलमा विराटनगर सुपर किङ्सँग क्रमशः ६ र ८ विकेटले हारेको थियो ।

पोखराले जीतसँगै दुई अंक जोडेको छ । यस्तै फारवेस्टले पहिलो खेलमा ६७ रनले नतिजा लुम्बिनीलाई सुम्पेको थियो । दोस्रो खेलमा काठमाडौंलाई ४ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा लुम्बिनीसँगै सुपर ओभरमा पराजित भएको थियो । फारवेस्टले अर्को खेलमा सोमबार जनकपुरको समाना गर्नेछ । पोखराले शनिबार अपराजित लुम्बिनीसँग खेल्नेछ ।

आज सम्पन्न पहिलो खेलमा लुम्बिनी अलस्टार्सले काठमाडौं नाइट्सलाई ३५ रनले पराजित गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *