पेलेको गोल संख्या सधैँ विवादमा, गिनिज बुक भन्छ- १२८१ गोल – Nepal Press

पेलेको गोल संख्या सधैँ विवादमा, गिनिज बुक भन्छ- १२८१ गोल

काठमाडौं । बिहीबार राति निधन भएका एड्सन आरन्ते दोनासीमेन्तो अर्थात पेले महान् फुटबलर भएकोमा कुनै विवाद छैन । तर, उनले करिअरमा कति गोल गरेका थिए भन्ने सधैँ विवादित बन्यो । तथ्यांक राख्नेक्रम निकै पछिमात्र सुरू भएकाले पेलेको आधिकारिक गोल संख्यामा विवाद रहँदै आएको हो ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डसले सन् २०१३ मा पेलेलाई करिअरमा सर्वाधिक गोल गर्ने र सर्वाधिक विश्वकप विजेता मेडल लगाउने खेलाडीका रूपमा प्रमाणपत्र दिएको छ । गिनिज बुकको तथ्यांकमा पेलेले करिअरमा एक हजार ३ सय ६३ खेल खेल्दै १ हजार २ सय ८१ गोल गरेका थिए । सन् १९५६ सेप्टेम्बर ७ देखि सन् १९७७ अक्टोबर १ तारिखसम्म पेलेले ती गोल गरेको गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा उल्लेख छ ।

अफिसियल खेलमा उनले गरेका गोल संख्या त्यति धेरै छैनन् । सिनियर राष्ट्रिय टोलीबाट ९२ खेलमा ७७ गोल गरेका थिए भने सिनियर क्लब फुटबलमा ६ सय ८० गोल गरेको ओलम्पिक्स डटकमले लेखेको छ ।

फुटबलको तथ्यांक राख्न लामो समयदेखि काम गरिरहेको र विश्वास पाइरहेको रेक.स्पोर्ट.सकर स्टाटिस्टिक्स फाउन्डेसन (आरएसएसएसएफ) ले पेलेले सिनियर फुटबलका अफिसियल खेलमा ७ सय ७८ गोल गरेको दाबी गरेको छ । पेलेले सन् १८५६ देखि १९७४ सम्म ब्राजिलियन क्लब सान्तोषका लागि खेलेका थिए । सान्तोषका लागि उनले अफिसियल खेलमा ६ सय ६३ गोल गरेकोमा प्रायको एकमत देखिन्छ । पेलेले करिअरमा गरेको भनिएका बाँकी गोलहरू विभिन्न टुर गेम, प्रदर्शनी खेलहरूका लागि भएको दाबी गरिन्छ ।

सन् १९७४ मा ३५ वर्षकै उमेरमा सन्‍न्‍यास घोषणा गरेका पेले त्यसपछि अमेरिकी क्लबमा आबद्ध भएका थिए । तीन वर्षपछि उनले खेलाडी जीवनबाट सन्‍न्यासको घोषणा गरेका थिए ।
१५ वर्षको उमेरमा प्रिमियर क्लब फुटबलमा डेब्यू गरेका उनी १७ वर्षकै उमेरमा विश्व च्याम्पियन बनेका हुन् । सन् १९५८ मा ब्राजिलले विश्वकप जित्दा पेले १७ वर्षको मात्रै थिए । र, विश्वकप जित्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका थिए । उनले फाइनलमा गोल गर्दै विश्वकपको फाइनलमा गोल गर्ने पहिलो किशोर खेलाडी बने । पेलेपछि फाइनलमा गोल गर्ने किशोर खेलाडी एमबाप्पेमात्र हुन् ।

सन् १९९९ मा अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आईओसी) ले पेलेलाई एथलेट अफ दी सेन्चुरी अर्थात शताब्दीकै सर्वोत्कृष्ट खेलाडी घोषणा गरेको थियो । तर, त्यसबारे विवाद भएपछि साम्य पार्न फिफाले सन् २००० मा पेले र म्याराडोना दुवैलाई प्लेयर अफ दी सेन्चुरी घोषणा गर्‍यो । टाइम म्यागजिनले २० औँ शताब्दीकै प्रभावशाली शीर्ष १०० जनाको सूचीमा पेलेलाई पनि राखेको छ ।

पेलेले करिअरको एक हजारौँ गोल गरेको दिनको खुसीयालीमा ब्राजिलको सान्तोषमा हरेक नोभेम्बर १९ लाई ‘पेले डे’ का रूपमा मनाउँदै आइएको छ । सान्तोषका लागि खेल्दै उनले उक्त गोल गरेका थिए । त्यतिबेला पेलेले गोल गरेपछि दर्शक मैदानमा पसेर करिब आधा घण्टा खेल रोकिएको पनि अन्तर्राष्ट्रिय मिडियाहरूमा भेटिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर