बहादुर हेटौंडा पुग्न नपाउँदै इन्द्र बानियाँको शक्ति प्रदर्शन, कांग्रेसका १६ सांसदको साथ (सूचीसहित) – Nepal Press

बहादुर हेटौंडा पुग्न नपाउँदै इन्द्र बानियाँको शक्ति प्रदर्शन, कांग्रेसका १६ सांसदको साथ (सूचीसहित)

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको पुस १३ गते हुने संसदीय दलको नेता छान्ने निर्वाचनको पूर्वसन्ध्यामा हेटौंडामा प्रदेश सभापतिसमेत रहेका इन्द्र बानियाँले शक्ति प्रर्दशन गरेका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति मकवानपुरको आयोजना गरिएको कार्यक्रममा बानियाँ निकट सभासदहरुको सहभागिता रहेको थियो । बानियाँ समूहको कार्यक्रम पार्टी कार्यालयमा जारी रहँदा त्यसको करिब १ किलोमिटर दूरीमा रहेको मोटल एभकाडो एण्ड अर्किड रिर्सोटमा बहादुर लामा पक्षका कार्यकर्ता तथा सांसदहरु उनलाई प्रतीक्षा गरिरहेका थिए ।

लामा पक्षले पनि आज दिउँसो २ बजे एभकाडोमा कार्यक्रम राखेको थियो । तर, काठमाडौंबाट प्लेन उड्न ढिला भएपछि लामा ४ बजेसम्म हेटौंडा आउन सकेनन् र कार्यक्रमलाई केन्द्रीय सहमहामन्त्री डिना उपाध्यय निकट नेता आनन्दराम पराजुलीले सम्बोधन गरेका थिए ।

उपाध्याय निकट मानिएका कांग्रेस हेटौंडा उपमहानगर समिति सभापति उत्सव इटेनीले अध्यक्षता गरेको कार्यक्रममा कांग्रेसका जिल्ला, प्रदेश तहका नेताहरुको सहभागिता थियो । सोही समयमा पार्टी कार्यालयमा बानियाँ निकट मानिएका जिल्ला सभापति बुद्ध लामाले अध्यक्षता गरेको कार्यक्रममा पनि कांग्रेस जिल्ला तथा प्रदेश तहका नेताहरु सहभागी थिए ।

जिल्ला कार्यालयमा भएको कार्यक्रमलाई बानियाँको शक्ति प्रदर्शनको रुपमा हेरिएको छ । नेपालप्रेसलाई प्राप्त विवरणअनुसार जिल्लाले प्रदेश सांसदलाई स्वागत गर्ने भनिएको कार्यक्रममा बानियाँसहित १६ जना प्रदेशसभा सांसद उपस्थित भएका छन् । बानियाँ निकट स्रोतका अनुसार यो संख्या अझ बढ्नेछ ।

बानियाँ निकट एक प्रदेशसभा सांसदले भने, ‘हाम्रा साथीहरु केही आउँदै हुनुहुन्छ । यो संख्यामा भारी वृद्धि हुन्छ । बानियाँले दलको नेतामा भारी बहुमतले जीत हासिल गर्नुहुन्छ ।’

तर, एभोकाडोमा भेटिएका लामा निकट नेताका अनुसार बुधबार हुने निर्वाचनमा लामाको जीत निश्चित छ । लामालाई मत हाल्न बहुमत सांसदहरु तयार रहेको उनको दाबी छ ।

बामगती प्रदेशसभामा नेपाली कांग्रेसको ३७ सीट छ । दलको नेता बन्न १९ जना सांसदको साथ आवश्यक पर्छ । आजको हेटौंडाको वातावरण हेर्दा दुबै पक्ष कडा प्रतिस्पर्धामा जाने देखिन्छ ।

बानियाँले हेटौंडा रिसोर्टमा रात्रीभोज दिने

निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेस बागमती प्रदेश समितिको नाममा प्रदेश सभापति इन्द्रबहादुर बानियाँले प्रदेशसभा सदस्यहरुलाई रात्रीभोज दिने भएका छन् । रात्रीभोजको आयोजनाबारे मकवानपुर जिल्ला सभापति बुद्ध लामाले माइकमार्फत जानकारी गराएका थिए ।

दलको नेता छान्न निर्माण गरिएको समितिले निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको अवस्थामा निर्वाचनको अघिल्लो दिन राति प्रदेश समितिको नाममा हुने भनिएको रात्रीभोज अवैध र निर्वाचन आचारसंहिताविपरीत भएको भन्दै कांग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठले विरोध गरेका छन् ।

उनले रात्रीभोजको खबर गर्ने मुख्य सचिवलाई फोन गरेर कार्यक्रम नगर्न सुझाव दिएको नेपालप्रेसलाई जानकारी दिए ।


प्रतिक्रिया

One thought on “बहादुर हेटौंडा पुग्न नपाउँदै इन्द्र बानियाँको शक्ति प्रदर्शन, कांग्रेसका १६ सांसदको साथ (सूचीसहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर