नेम्वाङ पाँचौं पटक सभामुख नबन्ने- अबको भूमिका कि राष्ट्रपति नत्र पार्टी उपाध्यक्ष – Nepal Press

नेम्वाङ पाँचौं पटक सभामुख नबन्ने- अबको भूमिका कि राष्ट्रपति नत्र पार्टी उपाध्यक्ष

काठमाडौं । संविधानसभा अध्यक्षसमेत रहिसकेका नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले दलहरुले आवश्यकता महसुस गरे राष्ट्रपति बन्ने तर अरु पदमा आशक्ति नरहेको बताएका छन् ।

उनले मुख्य कुरा अहिले राजनीति सही ट्र्याकमा ल्याउन अध्यक्ष केपी शर्मा ओलीले उचित समयमा उचित निर्णय लिएको भन्दै आफ्ना कारण दलहरुबीच पावर शेयरिङमा समस्या नरहेको बताएका छन् ।

नेपाल प्रेससँग कुरा गर्दै नेम्वाङले दलहरुबीच समझदारीअनुसार नै सबै विषय टुंगिने बताए । नेम्वाङ राष्ट्रपति बन्ने चर्चा चलिरहेका वेला उनले यसबारेमा छलफल नभएको बताए । तर, उनले आफू अब पुनः सभामुख भने नबन्ने जानकारी नेतृत्वलाई गराएका छन् ।

नेम्वाङले भने, ‘म दुईपटक संविधानसभा अध्यक्ष भएर संविधान जारी गरें । पुनःस्थापित संसद, अन्तरिम संसदसहित चारपटक सभामुख पनि भएँ । अब पाँचौं पटक पनि सभामुख बन्ने कुरा त्यो पदप्रति मेरो आशक्ति देखिन्छ । मैले सभामुख नबन्ने भनिसकेको छु । मन्त्री बन्ने कुरा त मैले यसअघि नै मेरो अध्यक्ष प्रधानमन्त्री भएका वेला नै नमानेको हो ।’

नेम्वाङले राष्ट्रपति र प्रधानमन्त्रीबाहेक अन्य पदमा नजाने बताइसकेका छन् । प्रधानमन्त्री अध्यक्ष ओली बन्ने भएकाले आफ्नो भूमिका राष्ट्रपति वा पार्टी उपाध्यक्षको रुपमा रहने जानकारी गराएका छन् । उनले सभामुख बन्न एमालेमा योग्य नेताहरु रहेको भन्दै सरकारको नेतृत्व पार्टीका वरिष्ठतम पदाधिकारीले गर्न सुझावसमेत दिएका छन् ।

अहिलेको गठबन्धन बनाउन निर्णायक भूमिका खेलेका नेम्वाङले अध्यक्ष ओलीको सहजताका लागि आफ्नो भूमिका रहने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर