एमालेका तीन नेता मुख्यमन्त्री बन्ने निश्चित, मधेसमा जसपा र जनमतको दाबी – Nepal Press

एमालेका तीन नेता मुख्यमन्त्री बन्ने निश्चित, मधेसमा जसपा र जनमतको दाबी

सुदूरपश्चिम र बागमती माओवादीले पाउने सम्भावना

काठमाडौं । नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धन छाडेपछि प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस सत्ता बाहिर हुने भएको छ ।

कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै छाड्न नसक्ने अडान कसेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले नेतृत्वको गठबन्धनमा गएर नेपालको ४४ औं प्रधानमन्त्री नियुक्त भइसकेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गरिसकेकी छन् । उनलाई प्रतिनिधिसभाका १७० जना सांसदको समर्थन रहेको छ ।

माओवादी र एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्त पार्टीले समर्थन गरेका छन् । गठबन्धन फेरिएसँगै संघीय सरकारदेखि प्रदेशसम्मको सत्ता समीकरणमा फेरबदल आएको छ ।

७ प्रदेशमध्ये तीनवटामा एमालेका नेता मुख्यमन्त्री बन्ने निश्चित भएको छ । प्रदेश १ मा हिक्मत कार्की, कर्णालीमा यमलाल कँडेल र गण्डकीमा खगराज अधिकारी मुख्यमन्त्री बन्ने निश्चित भएको हो । उनीहरु तीनै जना एमाले स्थायी कमिटी सदस्य भएकाले मुख्यमन्त्री बन्ने निश्चित छ । कँडेललाई यसअघि मुख्यमन्त्री बन्ने बेला आफ्नै पार्टीका सांसदहरुले फ्लाेर क्रस गरेर माओवादीका महेन्द्रबहादुर शाहीलाई विश्वासकाे मत दिएका थिए ।

तर, मधेस प्रदेशमा जसपा र जनमतको टकराव पर्ने देखिएको छ । १०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि ५४ सांसद आवश्यक पर्छ ।

प्रदेशसभामा २३ सांसदसहित नेकपा एमाले प्रदेशसभाको सबैभन्दा ठूलो दल बनेको छ भने २२ सांसद रहेको कांग्रेस दोस्रो स्थानमा छ । जसपा १६, जनमत पार्टी १३, लोसपाका ९, माओवादी केन्द्रसँग ८ र एकीकृत समाजवादीसँग ७ सांसद छन् ।

मधेस प्रदेशसभामा ६ जना स्वतन्त्र सांसद छन् । त्यस्तै राप्रपाका २, संघीय समाजवादी पार्टी तथा नागरिक उन्मुक्ति पार्टीले एक–एक सांसद पाएका छन् ।

५४ सांसद आवश्यक पर्नेमा एमाले, माओवादी, राप्रपा, जसपा, नागरिक उन्मुक्ति, जनमत मिल्दा ६३ सांसद पुग्छन् । एमालेले प्रदेश १, कर्णाली र गण्डकी प्रदेशको नेतृत्वमा पाउँदा जनमत र जसपाको दाबी रहने देखिन्छ ।

यस्तै, सुदुरपश्चिममा माओवादीको खगराज भट्ट मुख्यमन्त्री बन्ने सम्भावना छ । बागमती पनि माओवादीले पाउने सम्भावना छ । बागमतीमा माओवादीका शालिग्राम जमरकट्टेल र सरल सहयात्री पौडेलबीच कडा टक्कर छ । यदि माओवादीले लुम्बिनी पाएमा बागमती एमालेले पाउनेछ ।

लुम्बिनीमा सत्ता समीकरण मिलाउँदा एमाले, माओवादी या नागरिक उन्मुक्ति पार्टीमध्ये एकले पाउने सम्भावना छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर