गठबन्धनमा ओलीको ‘सर्जिकल स्ट्राइक’- यसरी पुग्दैछ नयाँ सरकारको बहुमत – Nepal Press

गठबन्धनमा ओलीको ‘सर्जिकल स्ट्राइक’- यसरी पुग्दैछ नयाँ सरकारको बहुमत

काठमाडौं । सत्ता गठबन्धनमा कुरा नमिलेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ गठबन्धनको तयारी भएको छ। कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै नछाड्ने अडान लिएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गठबन्धन छाडेर बालकोट पुगेका छन् ।

प्रचण्डको साथमा माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ पनि सहभागी छन् । राष्ट्रपतिले सरकार गठन गर्न दिएको समय बेलुकी ५ बजेसम्म छ । बहुमत पुर्‍याउन एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपाका शीर्ष नेताहरु बालकोटमा छन् ।

सरकार गठन गर्न २७५ सांसद रहेको प्रतिनिधिसभामा १३८ चाहिन्छ। गठबन्धन टुटेपछि एमाले ७८, माओवादी ३२, रास्वपा २०, राप्रपा १४ र जसपा १२ गरेर १५६ सांसद पुग्छन् । त्यसो हुँदा सहज रुपमा सरकार गठन गर्न सुविधाजनक बहुमत पुग्ने देखिएको छ ।

तर, प्रचण्डलाई नेतृत्व स्वीकार गर्न राप्रपाले नमान्ने अवस्था छ । ओलीको आग्रहमा राप्रपा अध्यक्ष लिङदेन गठबन्धनमा आउन सक्ने आकलन छ ।

अहिले कांग्रेसले ८९, एमालेले ७८, माओवादीले ३२, राष्ट्रिय स्वतन्त्र पार्टीले २०, राप्रपा १४, जसपाले १२, नेकपा एसले १०, जनमत पार्टीले ६ सीट ल्याएको छ ।

लोसपाले ४, नागरिक उन्मुक्ति ३, राष्ट्रिय जनमोर्चा र नेमकिपाले १/१ सीट जितेका छन् । स्वतन्त्र सांसद ५ जना छन् ।

सत्ता गठबन्धन टुटेर एमाले क्याम्पमा सबै माओवादी, रास्वपा, राप्रपा, जसपासँग लोसपा, जनमत, नागरिक उन्मुक्ति र केही स्वतन्त्र आएपछि दुईतिहाइ बहुमत नजिक पुग्नसक्ने देखिन्छ ।

प्रचण्डलाई प्रधानमन्त्री नदिने अडान राखेको कांग्रेस संघदेखि प्रदेशसम्म सरकारबाट बाहिर बस्नुपर्ने  सम्भावना बढेको छ । माधव नेपाल नेतृत्वको नेकपा एस पनि खाली हात बस्नुपर्ने देखिएको छ ।

बालकोटामा प्रचण्डसहित जसपा संघीय परिषद् अध्यक्ष अशोक राई, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, रास्वपा सभापति रवि लामिछाने लगायत नेताहरु बालकोट पुगेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर