एमालेका कमिटीहरू लम्बेतान भए, नेताको काम आसन ग्रहण गर्ने मात्र होइन : अध्यक्ष ओली (भिडिओ) – Nepal Press

एमालेका कमिटीहरू लम्बेतान भए, नेताको काम आसन ग्रहण गर्ने मात्र होइन : अध्यक्ष ओली (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कमिटीहरू भद्दा भएको भन्दै चुस्त र सक्रिय कमिटीहरू बनाउन निर्देशन दिएका छन् ।

प्युठान काठमाडौं सम्पर्क मञ्चले शनिवार पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले अहिलेका कमिटीहरू आसन ग्रहण गर्ने माध्यम मात्र बनेको बताए ।

अध्यक्ष ओलीले भने- नेताको काम आसन ग्रहण गर्ने होइन,जनता र कार्यकर्ताबीच जाने तथा उनीहरूलाई सक्रिय बनाउने हो । तर अहिले हाम्रो पार्टीका कमिटी लम्बेतान भए,जनताको र पार्टीको काम गर्ने होइन आसन ग्रहण गर्नका लागि मात्र बनाइएको जस्तो भयो ।

ओलीले एमालेको लागि अब संक्रमणकालीन समय सकिएर दोस्रो चरण शुरु भएको बताए । उनले निर्वाचनसँगै पार्टी र पार्टीका नेता कार्यकर्ताको भूमिका फेरिएको बताए ।

ओलीले भने- अहिलेसम्म हामी हाम्रो विरुद्ध भएका संगठित हमलाको प्रतिवाद गर्ने,प्रतिक्रियावादीसँग मुकाबिला गरेर अस्तित्व जगाउने चरणमा थियौँ । चुनावसँगै अब हाम्रो पार्टी थिग्रिएको छ । अब पार्टी कमिटीहरूलाई चुस्त बनाउने र जनतालाई सचेत गर्दै पार्टी बलियो बनाउने काममा लाग्नुपर्छ ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा प्युठानबाट नवनिर्वाचित सांसद सूर्य थापालगायतलाई सम्मानित गरिएको थियो ।


प्रतिक्रिया

One thought on “एमालेका कमिटीहरू लम्बेतान भए, नेताको काम आसन ग्रहण गर्ने मात्र होइन : अध्यक्ष ओली (भिडिओ)

  1. यी सम्पर्क कमिटीहरू पनि जिल्लाबाट काठमाडौंमा आएकाहरूले नेतासँग नजिक भएर आफ्नो दुनो सोझ्याउने थलो बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर