पोखरेलले देखाए सरकार गठनका तीन विकल्प, प्रचण्ड–माधव विभिषण बनेसम्म वाम एकता असम्भव – Nepal Press

पोखरेलले देखाए सरकार गठनका तीन विकल्प, प्रचण्ड–माधव विभिषण बनेसम्म वाम एकता असम्भव

सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रचण्ड–माधव कम्युनिस्ट आन्दोलनको विभिषण भूमिकामा रहेसम्म वाम एकता वा कांग्रेसबाहेकको सरकार बन्ने सम्भावना नरहेको बताएका छन् ।

सुर्खेतमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले वाम सरकार ढालेर कांग्रेसलाई सत्ता बुझाएका प्रचण्ड–माधवले आफूलाई नीतिका आधारमा नचलाएसम्म गठबन्धन सरकारको विकल्प दिन नसकिने बताए ।

पोखरेलले भने–अहिलेको गठबन्धन रहेसम्म एमालेले चाहेर पनि सरकार बन्दैन । पाँच दलीय गठबन्धन मुलुकको लागि हानिकारक छ,जुन दिन यो भंग हुन्छ त्यस दिन एमालेले निकास दिनेछ । तर २३ सीटको कांग्रेसलाई ५८ सीटमा पुर्याउनेहरु त्यहाँ रहेसम्म उनीहरु विभिषण नै हुन् र विभिषणको भूमिकामा उनीहरु रहेसम्म गठबन्धनकै सरकार बन्ने हो ।

महासचिव पोखरेलले सरकार गठनका सन्दर्भमा अहिले तीन वटा विकल्प देखिए पनि गठबन्धनकै सरकारको सम्भावना बढी रहेको बताए । उनले देशलाई स्थिरता दिनका लागि ठूला पार्टी मिल्ने दोस्रो विकल्प रहे पनि कांग्रेसले सत्ता बाहेक राष्ट्रिय हित नसोचेसम्म त्यो सम्भावना नरहेको बताए ।

पोखरेलले भने–राष्टिय पार्टीलाई कमजोर पार्ने षडयन्त्रविरुद्ध मुलुक जोगाउन ठूला दल एक छौं भन्नका लागि ठूला पार्टी एक ठाउँ उभिन कोशिस गर्ने दोस्रो विकल्प हो । तर कांग्रेसजस्तो सत्ता स्वार्थमा डुबेको पार्टीले राष्ट्रिय हितको कुरा गर्ने सम्भावना छैन । त्यो विकल्पले मुलुकलाई फाइदा हुन्थ्यो तर कांग्रेस त्यसमा सहमत छैन ।

पोखरेलले देखेको तेस्रो विकल्प भनेको वामपन्थी एक ठाउँमा उभिने हो । तर प्रचण्ड माधव कांग्रेसको कार्यकर्ता भएसम्म त्यो सम्भावना पनि नरहेकाले गठबन्धनकै जोडजाडले मुलुक थप अधोगतिमा जानुपर्ने अवस्था रहेको महासचिव पोखरेलले बताए ।

महासचिव पोखरेलले भने–नामकै सही वामपन्थीलाई एक ठाउँमा उभ्याउने तेस्रो विकल्प छ । तर कांग्रेसलाई बलियो बनाउने अभियानको नेता प्रचण्ड माधव नै हुन् । यदि नीतिको आधारमा मुुलुकको राजनीति चल्थ्यो भने यो सम्भव थियो,नीतिका आधारमा प्रचण्ड माधव चलेका भए नेकपा फुट्ने नै थिएन । त्यसैले कांग्रेसलाई नेता मानेसम्म उनीहरु विभिषण नै हुन् ।

सामाजिक सञ्जालमा केपी ओली र प्रचण्डको फोटो शेयर लाइक गर्नेहरुले वाम एकता चाहे पनि अहिले त्यो परिस्थिति नबनेको उनले बताए । राष्ट्रिय राजनीतिले एमालेको नेतृत्वदायी भूमिका खोज्न समय भने आउने उनको दावी छ ।


प्रतिक्रिया

One thought on “पोखरेलले देखाए सरकार गठनका तीन विकल्प, प्रचण्ड–माधव विभिषण बनेसम्म वाम एकता असम्भव

  1. प्रचण्ड र माधव नेपाललाई विभिषणको संज्ञा दिंदा नेकपा एमाले रावण हो भन्ने बुझिन्छ होईन र ? तपाई एमालेको महासचिव हो कि के हो ? धाराप्रवाह भाषण गर्दा शब्दमा ध्यान दिन आवश्यक हुन्छ होला नी ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर