मेसी र डि मारियाको मित्रता : ओलम्पिक र कोपा हुँदै विश्वकपमा सफलता – Nepal Press

मेसी र डि मारियाको मित्रता : ओलम्पिक र कोपा हुँदै विश्वकपमा सफलता

इटहरी । स्पेनका शक्तिशाली क्लबहरु बार्सिलोना र रियल म्याड्रिडको प्रतिस्पर्धा सधैं हुन्छ । १२३ वर्ष पुरानो क्लब बार्सिलोना र १२० वर्ष पुरानो रियल म्याड्रिडले गर्ने भिडन्तलाई स्पेनमा वेग्लै नाम दिइएको छ । ‘एल क्लासिको’ भनेर उनीहरुले प्रतिस्पर्धालाई नामसमेत दिएका छन् । स्पेनको राजधानीको क्लब रियल र क्याटालोनिया क्षेत्रको विद्रोही प्रान्तको राजधानीको क्लब बार्सिलोनाबीच फुटबल शत्रुता छ । त्यो मैदानमा मात्रै सीमित हुन्न । मैदान बाहिर पनि हुन्छ । क्लब-क्लबमा मात्रै हैन, दर्शकस्तरमा त्यो देखिन्छ ।

जतिवेला अर्जेटिनाका कप्तान तथा बार्सिलोनाका खेलाडी लियोनल मेसीले विवाह गरे, त्यहाँ पनि बार्सिलोना र रियलबीचको शत्रुताको एक अंश देखियो । मेसीले २०१७ जुन ३० मा विवाह गर्दा रियलसँग जोडिएका खेलाडीहरुलाई निम्तो गरेनन् । रियल लिगेसी जोडिएका उनका विवाहका निम्तालुमा बोलाइएका एक्ला अनुहार थिए डि मारिया । त्यसको हेडलाइन धेरै मिडियाहरुले बनाए ।

मेसी र डि मारियाको मित्रता फुटबल मैदान बाहिरमात्रै होइन फुटबल मैदानमा पनि देखिन्छ । उनीहरुको मित्रताले अर्जेन्टिनाले धेरै इतिहास रचेको छ । जसमा मेसी र डि मारियाले रचेको विश्वस्तरीय इतिहासमध्ये एक सन् २००८ को बेइजिङ ओलम्पिकको फुटबल स्वर्ण थियो । ब्राजिललाई सेमिफाइनलमा पराजित गरेर अर्जेन्टिना फाइनल पुगेको थियो । सन् २००८ अगस्ट २३ मा चीनको राष्ट्रिय रंगशालामा झन्डै नब्बे हजार दर्शक उपस्थित फाइनलको निर्णायक गोल डि मारियाले नै गरेका थिए । डि मारियाले गरेको ५८ औं मिनेटको एकमात्रै गोल अर्जेन्टिनाको जीतको प्रमुख माध्यम बन्यो ।

बेइजिङ ओलम्पिकको अन्तिम गोल डि मारियाले गरेजस्तै प्रथम गोल भने मेसीले गरेका थिए । अगस्ट ७ मा सांघाई रंगशालामा भएको खेलको ४३ औं मिनेटमा मेसीले आइभोरी कोस्टविरुद्ध पहिलो गोल गरेका थिए । बेइजिङ ओलम्पिक जित्दा मेसी र डि मारिया निर्णायक थिए ।

विश्वकप जित्नु अगाडिका धेरै अन्तर्वार्ताहरुमा मेसीले आफूलाई सबैभन्दा धेरै खुशी दिलाएको अर्जेन्टिनाको जर्सी लगाएर खेलेको खेल बेइजिङ ओलम्पिक भएको बताएका थिए । स्पेनिस मिडिया ‘स्पेनिस इस्केरे’सँग मेसीले सन् २०१७ को एक अन्तर्वार्तामा भनेका थिए, ‘सन २००८ को ओलम्पिक स्वर्णलाई नै म सबैभन्दा धेरै महत्व दिन्छु किनभने यो जीवनमा एकपटकमात्रै खेलिने र धेरै खेल क्षेत्रका खेलाडीहरु सहभागी हुने प्रतियोगिता हो ।’

बेइजिङ ओलम्पिकपछि मेसी र डि मारिया मिलेर अर्जेन्टिनालाई जिताएको अर्को महत्वपूर्ण उपाधि सन् २०२१ को कोपा कप हो । ब्राजिलको आइकोनिक रंगशाला माराकानामा डि मारियाले २२औं मिनेटमा गरेको गोल नै निर्णायक थियो । त्यही डि मारियाको गोलकै कारण मेसी नेतृत्व पहिलोपटक महादेशीय प्रतियोगिता चुम्न सफल भएको थियो । सन् २०१४ को विश्वकप फाइनल पुगेर अतिरिक्त समयमा हार्नुदेखि सन् २०१५ र २०१६ मा कोपा फाइनलसम्म पुगेर तारकातार पेनाल्टी सुटआउटमा हार्नुले विक्षिप्त अर्जेन्टिना र मेसीलाई डि मारियाको कोपा फाइनलमा ब्राजिलविरुद्धको गोलले धेरै राहत दिएको थियो ।

बेइजिङ ओलम्पिकमात्रै होइन आइतबार मध्यरात सम्पन्न फिफा विश्वकपमा पनि डि मारिया र मेसीको जोडी चम्कियो । कतारको लुसेल रंगशालामा भएको खेलमा साविक विजेता फ्रान्ससँगको फाइनलमा मेसीले २३औं मिनेटमा पेनाल्टी पाएर गोल गरेका थिए । पेनाल्टी पाउने फल डि मारियालाई गरिएको थियो । यस्तै पहिलो हाफको ३६औं मिनेटमा डि मारियाले अर्को गोल थपे । उनले मेसी र आफ्नो साझेदारी सम्झेर हर्षका आँसु झारे । अथवा अर्जेन्टिनाको लामो समयको कुराइपछिको उपाधि दौडले सार्थकता पाउने आश पलाएकाले उनी भावुक भएका हुन् ।

पहिलो हाफमा २-० गोलको अग्रता बनाएर दोस्रो हाफमा प्रवेश गरेको अर्जेन्टिना डि मारिया हुँदासम्म लयमा थियो । उनलाई बेन्चमा ल्याएपछि अर्जेन्टिनाको ताल बिग्रियो । पहिलो हाफमा सहज लिड गरेको अर्जेन्टिनाले अन्तिममा ३-३ को बराबरी गरेर पेनाल्टीमा धकेलिनुपरेको थियो । पेनाल्टीमा अर्जेन्टिनाको जीत भएको गणित देखिए पनि खेलमा जीतका प्रमुख अंशियारहरु मेसी र डि मारिया नै भएको विश्वभरका फुटबल पण्डितहरुले भन्दै आएका छन् ।

बेइजिङ ओलम्पिक २००८, कोपा अमेरिका २०२१ र फिफा विश्वकप २०२२ मात्रै होइन सन् २००५ को अन्डर २० विश्वकपमा समेत मेसी र डि मारियाको मित्रतामा अर्जेन्टिनाले सफलता हात पारेको थियो । कतिपयले त सन् २०१४ को विश्वकप फाइनलमा पनि मेसी र डि मारिया भएको भए अर्जेन्टिनाले जर्मनीलाई हराउन सक्ने तर्क गर्दै आएका छन् । चोटका कारण २०१४ को फाइनल डि मारियाले खेल्न पाएनन् ।

उमेरले मेसी (३५) भन्दा एक वर्ष कान्छा डि मारियाले मेसीसँग देशको जर्सीमा सबैभन्दा धेरै खेलेका छन् । व्यक्तिगत रुपमा मेसीपछि अर्जेन्टिनाको जर्सीमा सबैभन्दा धेरै खेल्नै शीर्ष चार खेलाडीमा डि मारिया एक हुन् । डि मारियाले मेसीको खुलेर तारिफ गर्दै आएका छन् । विश्वकप फाइनल अगाडि ‘ला नासिओन’ मिडियासँगको अन्तर्वार्तामा डि मारियाले भनेका थिए, ‘मलाई लियोको टोलीबाट खेल्नु सबैथोक हो । उनी विश्वका उत्कृष्ट हुन् । एलियन हुन् । म फेरि पनि भन्छु, मेसीसँग खेल्नु मेरो खेल जीवनकै सबैभन्दा सुन्दर कुरा हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *