वामको नाममा स्वाधीनताको हितविपरीत लाग्नेसँग एमाले सरकार बनाउन लाग्दैन : गोकर्ण विष्ट (भिडिओ) – Nepal Press

वामको नाममा स्वाधीनताको हितविपरीत लाग्नेसँग एमाले सरकार बनाउन लाग्दैन : गोकर्ण विष्ट (भिडिओ)

बुटवल । नेकपा एमालेका सचिव गोकर्ण विष्टले निर्वाचन परिणामबाट एमाले दोस्रो ठूलो दल बनेकाले प्रतिपक्षमै रहेर जनताका मुद्दालाई उठाउनुपर्ने बताएका छन् ।

आइतबार बुटवलमा पत्रकारसँग कुराकानी गर्दै उनले सबभन्दा ठूलो दल कांग्रेसले सरकार गठन गर्न नसकेमात्र एमाले अघि सर्नुपर्ने आवश्यकता औंल्याए । तत्काल एमालेका निम्ति सरकार प्राथमिकताको विषय नभएको विष्टको भनाइ छ ।

‘एमालेलाई प्रतिपक्षमा बस्ने जनताले म्याण्डेट दिएका छन् । त्यसैले सत्तामा बस्नका लागि अवान्छित गतिविधि गर्ने पक्षमा हामी छैनौ, सरकार निर्माणका लागि एमालेलाई हतारो छैन । तर, बाध्यात्मक परिस्थिति आयो भने लोकतान्त्रिक मूल्य मान्यताअनुसार नेतृत्व लिन पहल पनि गर्छौं,’ विष्टले भने ।

यो निर्वाचनले वाम आन्दोलन, राष्ट्र र जनताको हितको लागि महत्वपूर्ण सन्देश दिएको उनले बताए । एमालेलाई कमजोर बनाउन चौतर्फी घेराबन्दी भए पनि जनताले एमालेलाई समानुपातिकमा पहिलो पार्टीको रूपमा अनुमोदन गरेको भन्दै उनले मतदातालाई धन्यवाद दिए ।

वाम पार्टीको नामबाट राष्ट्रिय स्वाधीनताको हितविपरीत लाग्ने तथा दक्षिणपन्थीसँग गठबन्धन गर्नेहरूसँग गठबन्धन गरेर सरकार बनाउन आफूहरू नलाग्ने उनले बताए ।

चुनावबाट कसैको बहुमत नआएकाले आउँदो पाँच वर्ष मुलुकमा अस्थिरता भइरहने र अर्थतन्त्र संकटमा पर्नसक्ने भन्दै एमालेले जिम्मेवार प्रतिपक्षको भूमिका खेल्ने विष्टको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर