राप्रपा सांसद बिना लामा भन्छिन्- क्रिस्चियन हुँ, तर हिन्दू राष्ट्रको पक्षमा छु – Nepal Press

राप्रपा सांसद बिना लामा भन्छिन्- क्रिस्चियन हुँ, तर हिन्दू राष्ट्रको पक्षमा छु

काठमाडाैं । राप्रपाले समानुपातिक सांसदका लागि सिफारिस पठाएसँगै चर्चामा आएकी छिन्- बिना लामा । उनको सिफारिसलाई लिएर राप्रपाका आलोचकहरुले सामाजिक सञ्जालमा विभिन्न प्रश्नहरु उठाइरहेका छन् ।

लामाको नाम विवादमा पर्नुको कारण हो, उनले मान्ने धर्म र रोजेको पार्टीबीच ‘विरोधाभाष’ । उनी क्रिस्चियन धर्माबलम्बी हुन् । हिन्दू राष्ट्रको वकालत गरिरहेको पार्टीले क्रिस्चियन धर्म मान्ने व्यक्तिलाई किन संसदमा पठायो भन्ने प्रश्न एकथरीले गरिरहेका छन् । अर्को कोणबाट क्रिस्चियन धर्म मान्ने व्यक्ति किन हिन्दूवादी पार्टीमा लागिन् भन्ने पनि प्रश्न उठेको छ ।

स्मरणीय के छ भने लामा यसअघि रुबीभ्याली गाउँपालिकाको निर्वाचित उपाध्यक्ष थिइन् । अझै बढी स्मरणीय यो छ कि उनले आफू क्रिस्चियन भए पनि नेपाल हिन्दू राष्ट्र हुनुपर्ने वकालत गर्दै आएकी छन् ।

आफूलाई धार्मिक स्वतन्त्रताको पक्षधर बताउने उनी स्पष्ट शब्दमा भन्छिन्, ‘नेपालको अन्तर्राष्ट्रिय पहिचानका निम्ति हिन्दू राष्ट्र पुनर्स्थापित गर्नुपर्छ ।’

धर्मका विषयमा उनको थप व्याख्या यस्तो छः

‘धर्मनिरपेक्षता भनेको के हो र सापेक्षता भनेको के हो भन्ने बुझ्नुपर्छ । निरपेक्ष भनेको त धर्म नै नमान्नु हो नि त । मलाई मेरो धर्मले अरुको विरोध गर, हेपेर बोल, अरुको मानहानी गर भनेर सिकाएको छैन । सबै धर्मलाई आदर गर भनेको छ । म क्याथोलिक हो तर मलाई यदि हिन्दू केटा मन पर्यो र भोलि विहे गर्नुपर्यो भने मैले सिन्दुर लगाउनुपर्ने हुन्छ ।

हामीले एक–अर्काको कल्चरलाई स्वीकार गर्नैपर्छ । यदि मेरो छोरीले मामु म अब क्रिस्चियन बन्दिनँ, मलाई हिन्दू धर्म ठीक लाग्यो भनिन् भने मलाई कुनै आपत्तिको विषय हुँदैन । सि क्यान गो । उनलाई फ्रिडम छ । मेरो हजबेन्डलाई पनि म जबरजस्ती गर्दिनँ ।

धर्मले हामीलाई अनुशासन सिकाउँछ । म त सबै धर्मलाई बराबर नै ठान्छु । जुनसुकै धर्मले पनि राम्रा कुराहरु सिकाउँछन् । हिन्दूमा पनि कसैले शिवलाई धेरै मान्छन्, कसैले कृष्णलाई । सबैको आआफ्नो आस्था हो । त्यसैले मेरो धर्मसँग कोही पनि डराउनुपर्दैन । बिना लामा संसदमा पुग्नेबित्तिकै क्रिस्चियानिटी फैलाउँछे जसरी अनावश्यक रोइलो नगर्न म अनुरोध गर्छु ।

बिनासँगको थप संवादः

मान्छेहरुलाई चासो छ, तपाईं क्रिस्चियन धर्म मान्ने मान्छे हिन्दू राष्ट्रको वकालत गर्ने पार्टीमा कसरी जोडिनुभयो ?

खासमा त मेरो पारिवारिक पृष्ठभूमिका कारण हो । मेरो बुबा र परिवारका सदस्यहरु राप्रपा समर्थक हुनुहुन्थ्यो । उहाँकै प्रभाव र पारिवारिक माहोलले मेरो पनि पहिल्यैदेखि राप्रपातर्फ झुकाव रह्यो । सक्रियतापूर्वक यो पार्टीमा लागेको चाहीँ करिब ६ वर्षदेखि हो ।

जहाँसम्म धर्मको कुरा छ, हो म क्रिस्चियन धर्ममा आस्था राख्छु । तर, यो मेरो व्यक्तिगत स्वतन्त्रताको कुरा हो । राप्रपाले अरु धर्म मान्नेलाई पार्टीमा निषेध गरेको छैन । मैले राप्रपाका आधारभूत मूल्यमान्यताहरु स्वीकार गरेर नै यो पार्टीबाट राजनीति गरेको हुँ ।

तर, राप्रपाले तपाईंलाई समानुपातिक सांसदमा सिफारिस गरेपछि सामाजिक सञ्जालमा तपाईंमाथि विभिन्न प्रश्न उठिरहेका छन् । तपाईंलाई क्रिस्चियन धर्म प्रचार गरेको तथा जबरजस्ती धमान्तरणमा संलग्न रहेको समेत आरोप लगाइएको छ । यसमा के भन्नुहुन्छ ?

मैले पनि सामाजिक सञ्जालमा नियालिरहेको छु । मैले मान्ने धर्मको विषय उठाइएको छ । धर्मप्रचारक वा मिसिनरी भनिएको छ । पास्टर भनिएको छ । यो पूर्णत झूट कुरा हो ।

म क्रिस्चियानिटीमा आस्था राख्छु, यो सत्य हो । तर, म पास्टर होइन । धर्मप्रचारक वा मिसिनरी पनि होइन । हाम्रो धर्मलाई नबुझेकाहरुले यस्तो आरोप लगाइरहेका छन् । क्रिस्चियनमा पनि दुई धार हुन्छन् । म क्याथोलिक हुँ । हाम्रो सम्प्रदायमा पास्टर हुँदैन । महिला पास्टर त झन् हुँदै हुँदैन । म धर्मप्रचार वा धर्मान्तरणमा कतै पनि संलग्न थिइनँ र छैन ।

नेपालमा धर्मनिरपेक्षता मान्छे पार्टीहरु छ्यास्छ्यास्ति छन् । तपाईंले ‘हिन्दूवादी’ पार्टी नै रोज्नुभएको किन त ?

म राप्रपालाई ‘हिन्दूवादी’ भन्दिनँ । हाम्रो पार्टीले ‘सर्वधर्म समभाव हिन्दु राष्ट्र’ भनेको छ । यो सिद्धान्तलाई मैले स्वीकार गरेको हुँ ।

मेरो एजेन्डा भर्खरै बदलिएको पनि होइन । कमल थापाको पालादेखि नै हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डा थियो । त्यसलाई आत्मसात गरेर आएको हुँ । यही एजेन्डा लिएर रुबीभ्याली गाउँपालिका उपाध्यक्षमा उठेँ । क्रिस्चियनहरुले नै भोट हालेर राप्रपालाई जिताए ।

नेपाल हिन्दू राष्ट्र हुनुपर्छ भन्नेमा भित्रैबाट तपाईं सहमत हुनुहुन्छ कि राजनीति गर्नका खातिर मात्रै हो ?

बिलकुल सहमत छु । मैले मान्ने धर्म एउटा होला । तर, हिन्दूराष्ट्र भनेको नेपालको पहिचान थियो । यसले नेपाललाई विश्वमा चिनाएको थियो । यही पहिचानलाई जिवन्त राख्न हिन्दू राष्ट्र पुनस्र्थापन हुनुपर्छ भन्नेमा म पनि सहमत छु । हिन्दू राष्ट्र हुँदैमा अन्य धर्म मान्न पाउने स्वतन्त्रता खोसिँदैन ।

तपाईं क्रिस्चियन धर्मप्रति कसरी आकर्षित हुनुभयो ?

म जन्मजात नै क्रिस्चियन हो । मेरो बुवाआमाले म जन्मिनु अगाडि नै धमान्तरण गर्नुभएको थियो । त्यसैले मैले थाहा पाएदेखि क्रिस्चियन छु ।

म जन्मेको स्थानमा अधिकांश मानिसहरु क्रिस्चियन छन् । रुबीभ्याली गाउँपालिकाको आँकडा हेर्ने हो भने हिन्दूको जनसंख्या एक प्रतिशत भन्दा पनि कम छ । रुबीभ्याली मात्र नभएर धादिङको हाम्रो पुरै उत्तरी क्षेत्रमा क्रिस्चियनको वर्चश्व छ ।

मैले सुनेअनुसार हिन्दू धर्ममा कायम रहेको बलिप्रथाले गर्दा यहाँका मानिसहरुले ठूलो संख्यामा धर्मपरिवर्तन गरेका थिए । विभिन्न धार्मिक अनुष्ठानदेखि बिरामी भएर झारफुक गर्दासमेत बलि दिनुपर्ने परिपाटीले आर्थिकरुपमा विपन्न मानिसहरुलाई भार परिरहेको थियो । जब त्यहाँ फादरहरु पुग्नुभयो, उहाँहरुले बिरामी हुँदा झारफुक होइन कि औषधि गर्नुपर्छ भन्ने चेतना जगाउनुभयो । पढ्न लेख्न प्रेरित गर्नुभयो । प्रार्थना गर्न सिकाउनुभयो । यसले गर्दा यहाँका बासिन्दामा यस धर्मप्रति आकर्षण बढेको भन्ने पाएको छु ।

तर, क्रिस्चियन धर्मप्रचारकहरुले विभिन्न आर्थिक प्रलोभनमा पारेर वा जबरजस्तिमा धर्मपरिवर्तन गराउने गरेका समाचारहरु आइरहन्छन् । यो कति सत्य हो ?

म यसलाई पुरै नकार्न त सक्दिनँ । मैले भनेँ, म क्याथोलिक हो । मैले प्रोटेस्टेन्टहरुको विरोध त गर्न खोजेको होइन, तर मेरै घरमा आएर पनि यस्तो उस्तो भनेर कुरा गर्ने गर्नुभएको छ । अनावश्यकरुपमा घर-घर पस्दै तपाईंहरु क्रिस्चियन हो, यस्तो गरेर तपाईंहरु नर्क जानुहुन्छ भनेर भड्काउने गरेको पनि पाएको छु । तर हाम्रोमा यस्तो हुँदैन ।

म सेन्टमेरिज र सेन्टजेभियर्सको प्रडक्ट हो । ती विद्यालयहरुमा अधिकांश हिन्दू धर्म मान्ने बालबालिकाहरु पढ्छन् । के त्यहाँ उनीहरुलाई जबरजस्ती धर्म परिवर्तन गराइन्छ त ? हामी क्रिस्चियन हौं भनेर स्वीकार गरेकाहरुलाई धर्मको बारेमा पढाउन एउटा अतिरिक्त कक्षा हुन्छ । अरु धर्म मान्नेलाई त्यही समयमा छुट्टै राखेर नैतिक शिक्षा पढाइन्छ । जबरजस्ती कसैलाई पनि गरिँदैन ।

हाम्रोमा पास्टर हुँदैन । फादरले धर्मप्रचारमा जाने गर्नुहुन्न । जो आजिवन विहे नगरेर सामाजिक सेवाका लागि आफ्नो जीवन लगाइरहनुभएको व्यक्तिहरु मात्रै फादर बन्न सक्षम हुनुहुन्छ ।

तपाईंको राजनीतिक अनुभव धेरै लामो छैन । पार्टीका धेरै सिनियर नेताहरुलाई पछि पारेर समानुपातिक सांसद बन्न कसरी सफल हुनुभयो ?

म कसैले कतैबाट टपक्क टिपेर सांसद बनाइदिएको व्यक्ति होइन । पाँच वर्ष गाउँपालिका उपप्रमुख भएर चलाएको हुँ । २०७४ सालको स्थानीय चुनावमा जनताको मत पाएर जितेरै उपप्रमुख भएको थिएँ । मैले सफलतापूर्वक यो जिम्मेवारी निभाएँ । एकेडेमिक क्वालिफिकेसनको कुरा गर्नुहुन्छ भने समाजशास्त्र/मानवशास्त्रमा स्नातकोत्तर गरेकी छु र पीएचडीको तयारीमा छु । मलाई लाग्दैन कि म सांसद बन्नका निम्ति अयोग्य थिएँ ।

गाउँपालिकाको उपाध्यक्षका रुपमा तपाईंले पाँच वर्षको कार्यकाल व्यतीत गर्नुभयो, अनुभव कस्तो रह्यो ?

निकै चुनौतिपूर्ण जिम्मेवारी थियो । काम गर्दै सिक्दै गएको हो । सयमा सय प्रतिशत त सफल हुन सकिँदैन । तर, जेजति काम गरेँ, वा गर्ने प्रयास गरेँ, त्यसमा सन्तुष्ट नै छु ।


प्रतिक्रिया

One thought on “राप्रपा सांसद बिना लामा भन्छिन्- क्रिस्चियन हुँ, तर हिन्दू राष्ट्रको पक्षमा छु

  1. हो बिनाज्यू हजुरले बुझ्नुभएको कुरा सही हो । रा प्र पा कुनै एउटा धर्म मान्नेको पेवा होइन । विरोध गर्नेहरु ती रा प्र पा पनि होइनन् र हिन्दु पनि होइनन्। केवल हिन्दुको नाम जप्ने र समाज भाँडेर अराजजकता मच्चाउनेहरु मात्र हुन्। निर्ध्क्क भएर अघि बढ्नुहोस शुभकामना हजुर।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर