मेस्सीजस्तै लेवान्डोस्की ! – Nepal Press

मेस्सीजस्तै लेवान्डोस्की !

दोहा। विश्व फुटबलमा पछिल्लो समय पोल्यान्डको पहिचान सामान्य टोलीको छ। हुन पनि पछिल्ला ३६ वर्षमा केवल चारपटक मात्र विश्वकपमा छनोट भएको छ र यसमा एकपटक पनि पहिलो चरण पार भएको छैन।

तर पोल्यान्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्की उनको देशको हैसियतअनुसार निकै अस्वभाविक लाग्ने फुटबलर हुन् जसले विश्व फुटबलमा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको दबदबालाई अन्त्यजस्तै गरेका थिए। विश्वमा औँलामा गनिने खेलाडी छन् जसले लगातार कम्तिमा दुईपटक फिफा वर्ष खेलाडी अवार्ड जितेका छन्।

तीमध्ये एक हुन् रोबर्ट लेवान्डोस्की। उनले सन् २०२० र २०२१ मा फिफा वर्ष खेलाडी अवार्ड जितेका थिए। त्यसअघि ब्राजिलका रोनाल्डो र रोनाल्डिन्हो, अर्जेन्टिनाका मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले मात्र यस्तो सफलता हात पारेका छन्।

फिफा वर्ष खेलाडी अवार्डमा मेस्सी र रोनाल्डोको लगातार १० वर्षको बर्चस्व सन् २०१८ मा क्रो‌एसियाका लुका मोड्रिचले तोडेका थिए। त्यसको अर्को वर्ष मेस्सीले फेरी यो अवार्ड हात पारेका थिए। त्यसयता भने लगातार दुईपटक लेवान्डोस्कीले फिफा वर्ष खेलाडी अवार्ड हात पारेका हुन्।

बुन्डेस लिगा क्लब बायर्न म्युनिखबाट शसक्त प्रदर्शन गरेका लेवान्डोस्कीले त्यसक्रममा युरोपका घरेलु लिगमा सर्वाधिक गोल गर्ने खेलाडीलाई हरेक वर्ष प्रदान गरिने युरोपियन गोल्डेन बुट अवार्ड पछिल्ला दुई वर्ष आफुबाट फुत्कन दिएका छैनन्। युरोपियन गोल्डेन बुट मेस्सीले लगातार चारपटकसहित ६ पटक जितेका छन्। यस्तै रोनाल्डोले पनि चारपटक जितेका छन्।

मेस्सीले १७ वर्ष बिताएको बार्सिलोनाबाट यो सिजन खेलिरहेका छन् लेवान्डोस्की। क्लब फुटबलमा उनको लगातारको उच्च लय कायमै रहेको छ। १० पटक पोलिस वर्ष फुटबलर, तीनपटक पोलिस वर्ष खेलाडी पनि घोषित भइसकेका लेवान्डोस्कीले क्लब फुटबलमा जित्न बाँकी अब कुनै प्रतियोगिता बाँकी छैन, घरेलु लिग, युरोपियन च्याम्पियन्स लिगदेखि क्लब विश्वकपसम्म। व्यक्तिगत अवार्डहरु पनि उनले सबै जसो जितिसकेका छन्।

बायर्न म्युनिखबाट बार्सिलोनामा आएयता लेवान्डोस्कीले मेस्सीको स्थान बनाउने विश्लेषण गरिएको थियो। लेवान्डोस्की त्यसका लागि मिहेनत पनि गरिरहेका छन्। मेस्सी र रोनाल्डोका सफलतालाई पछ्याउन सक्ने क्षमता उनमा देखिन्छ। तथ्यांकहरु नै त्यसका लागि पर्याप्त छन्।

लेवान्डोस्की च्याम्पियन्स लिगका सर्वकालिन सर्वाधिक गोलकर्तामा तेस्रो स्थानमा छन्। उनले ९१ गोल गरेका छन्। रोनाल्डोले एक सय ४० र मेस्सीले एक सय २९ गोल गरेका छन्। यस्तै सिनियर अन्तर्राष्ट्रिय फुटबलमा लेवान्डोस्कीको ७७ गोल  छ र अब एक गोल गर्न सके ब्राजिलका पेलेलाई पछाडि पार्नेछन्।

मेस्सीले ९३ र रोनाल्डोले एक सय १८ गोल गरेका छन्। तर राष्ट्रिय टोलीको समग्र प्रदर्शनबाट उनले अन्तर्राष्ट्रिय उपाधिको अपेक्षा गर्न त्यति सहज देखिँदैन। सन् २००८ मा पहिलोपटक युरोकप खेलेका पोल्यान्डले त्यसयता लगातार यो प्रतियोगिता खेलिरहेपनि क्वाटरफाइनलभन्दा अगाडिको यात्रा तय गर्न सकेको छैन। विश्वकपमा पनि पोल्यान्ड पहिलोपटक, लगातार दोस्रोपटक सहभागि भइरहेको छ।

जारी कतार विश्वकपमा समूह सीमा रहेको पोल्यान्ड तुलानात्मकरुपमा नकआउट चरण प्रवेश गर्ने सहज ‘पोजिसन’मा देखिन्छ। उसले अघिल्ला दुई खेलमा एक जित र एक बराबरीको नतिजा निकालेको थियो।

समूहको अन्तिम खेलमा बुधबार  राती मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनासँग खेल्दै छ। यो खेलमा बराबरी खेल्न सके मात्र पनि पोल्यान्ड दोस्रो चरण पुग्ने छ र त्यो उसका लागि ठुलो सफलता हुने छ। पोल्यान्ड सन् १९७४ र १९८२ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो।

अर्जेन्टिनालाई पराजित गर्न सके लेवान्डोस्कीको करियरमा अर्को उल्लेखनीय क्षण बन्ने छ। पोल्यान्डसँग पराजित भएको अवस्थामा अर्जेन्टिना पहिलो चरणबाट बाहिरिने छ र मेस्सीको विश्वकप विदाई विर्सनलायक बन्ने छ। मेस्सीले विश्वकप उपाधि जित्न सकेका छैनन्। लेवान्डोस्कीले अघिल्लो खेलमा मात्र पहिलो विश्वकप गोल गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *