झापाको नतिजा : संघ र प्रदेशमा एमाले पहिलो, राप्रपा र कांग्रेस बराबर – Nepal Press

झापाको नतिजा : संघ र प्रदेशमा एमाले पहिलो, राप्रपा र कांग्रेस बराबर

काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको गणना उत्तरार्द्धतिर पुगेको छ । धेरै क्षेत्र रहेका जिल्लामध्ये ५ क्षेत्र रहेको झापामा बिहीबार नै गणना सकिएको छ ।

झापामा सत्तागठबन्धन र एमाले-राप्रपा तालमेलबीच प्रतिस्पर्धा भएको थियो । नतिजाअनुसार कांग्रेस १, राप्रपा १ र एमालेले ३ क्षेत्रमा जितेको छ ।

झापा १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भए । सत्ता गठबन्धनका साझा उम्मेदवारको रूपमा रहेका शर्माले एमालेका अग्नि खरेललाई भारी मतान्तरले पराजित गरेका हुन् । शर्माले ३९ हजार ६२४ मत प्राप्त गरेका छन् भने खरेलले २५ हजार ३४९ मत ल्याए । उनीहरूबीच १४ हजार २७५ मतको अन्तर रहेको छ । शर्माले आफ्नो तेस्रो प्रयासमा संसदको यात्रामा सफलता हासिल गरेका हुन् । यसअघि उनी वाम गठबन्धनबाट माओवादीका उम्मेदवार सुरेन्द्रकुमार कार्की (राम कार्की) सँग पराजित भएका थिए ।

यस्तै, झापा १ को प्रदेशसभा १ मा गठबन्धनबाटै उम्मेदवार बनेका कांग्रेसका गोपाल तामाङ विजयी बनेका छन् । उनले नेकपा एमालेका प्रत्यासी रविन कोइरालालाई हराए । २३ हजार ४५ मत ल्याएर तामाङ निर्वाचित हुँदा कोइरालाले १८ हजार ६५७ मत प्राप्त गरे । कोइराला चार हजार ३८८ मतले पछि परे ।

प्रदेशसभा २ मा राप्रपाकी सविना बजगाईंले जित निकालिन् । १३ हजार ६१२ मतसहित निर्वाचित बनेकी बजागाईंले माओवादी केन्द्रका श्यामवीर लिम्बूलाई पराजित गरिन् । लिम्बूले १२ हजार २२५ मत प्राप्त गरे ।

झापा २ मा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित बने । उनले २८ हजार ६९७ मतसहित जित हात पारे । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार स्वागत नेपालले २६ हजार ४४१ मत ल्याए । निकै रोमाञ्चक बनेको प्रतिस्पर्धामा गठबन्धनका तर्फबाट लडेका नेकपा माओवादी केन्द्रका हरिकुमार रानाले १३ हजार ९२४ मत ल्याएर तेस्रो स्थानमा रहे ।

क्षेत्र नं. २ प्रदेशसभा १ मा एमालेका एकराज कार्की विजयी भए । उनी १८ हजार ७३१ मतले निर्वाचित हुँदा नेकपा एकीकृत समाजवादीका पुष्पराज पोखरेलले छ हजार १०१ मत ल्याए । कार्कीले २०७४ पनि प्रदेशसभामा जितेका थिए ।

झापा २ (२) मा एमालेका तिलचन पाठक (चिन्तन पाठक) २० हजार १८४ मतसहित विजयी बने । उनले गठबन्धनका उम्मेदवार खगेन्द्र मैनालीलाई पराजित गरेका हुन् । मैनालीले १६ हजार ३४४ मत ल्याए ।

त्यस्तै, झापा क्षेत्र नं. ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले जित निकालेका छन् । लिङदेनले ४० हजार ६४८ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण सिटौलाले ३७ हजार ३७२ मतमा सिमित भए । यसपटक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका सिटौलालाई एमालेको समर्थनमा लिङदेनले हराएका हुन् । यसअघि तत्कालीन कम्युनिष्ट गठबन्धनको तर्फबाट लिङदेनले निर्वाचन जितेका थिए भने सिटौला पराजित बनेका थिए ।

झापा ३ को प्रदेशसभा १ मा कांग्रेसका भूमि प्रसाद राजवंशी विजयी बने । उनले एमालेका बसन्त कमार बानियालाई पराजित गरेका हुन् । राजवंशी २० हजार ७७० मतसहित विजय हुँदा बानिया १९ हजार ७०१ मतमा रोकिए । बानिया गत निर्वाचनमा प्रेदशमा विजयी बनेका थिए ।

झापा ३ प्रदेशसभा २ मा एमालेका छविलाल चुडालले जित हात पारे । चुँडालले १९ हजार ८७५ मत ल्याएर निर्वाचित बनेका हुन् भने माओवादी केन्द्रका पूर्ण सिंह राजवंशीले १३ हजार ८३३ मत प्राप्त गरे ।

झापा क्षेत्र नं. ४ मा एमालेका एलपी साँवा लिम्बू निर्वाचित बनेका छन् । यसअघि पनि विजयी बनेका लिम्बूले कांग्रेसका देउकुमार थेबेलाई पराजित गरेका हुन् । उनले २९ हजार ३१५ मतसहित विजय हासिल गरे भने कांग्रेसका प्रत्यासी थेबे २२ हजार ४४८ मतमा रोकिए ।

झापा क्षेत्र नं. ४ (१) मा एमालेका उम्मेदवार राधाकृष्ण खनाल निर्वाचित भएका छन् । उनले गठबन्धनबाट उठेका नेकपा माओवादी केन्द्रका झलकसिंह दर्लामी मगरलाई पराजित गरेका हुन् । खनालले १३ हजार ९५१ मत ल्याउँदा मगरले १२ हजार ३७३ मत प्राप्त गरे ।

त्यस्तै, झापा ४ (२) मा राप्रपाका भक्तिप्रसाद सिटौला निर्वाचित भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार एकराज उप्रेतीलाई तीन हजार ९७४ मतान्तरले पराजित गरे । सिटौलाले १९ हजार ४५ मत प्राप्त गरे भने उप्रेतीले १५ हजार ७१ मत ल्याएका छन् ।

झापा क्षेत्र नं. ५ मा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारी मतान्तरसहित विजय हासिल गरेका छन् । ७४ मा धेरै अन्तरले निर्वाचित बनेका ओलीले यसपटक पनि कायमै राखे अहिले पनि फराकिलो अन्तरले विजयी बने । ओलीले ५२ हजार ३१९ मत ल्याए भने नेपाली कांग्रेसका २३ हजार ७४३ मत प्राप्त गरे । उनीहरूबीच २८ हजार ५७६ मतको अन्तर छ ।

झापा ५ प्रदेशसभा १ मा एमालेकै हिक्मतकुमार कार्की निर्वाचित भएका छन् । उनले २२ हजार ५३० मतसहित जित्दा गठबन्धनका तर्फबाट कांग्रेसका जीवन कुमार राईले १७ हजार ५८ मत ल्याएका छन् । कार्की यसअघि पनि प्रेदशसभा सदस्यमा निर्वाचित बनेका थिए ।

त्यस्तै, झापा ५ (२) मा एमालेकै होमबहादुर थापा विजयी बनेका छन् । उनले गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका रेवतराज पुरीलाई हराए । थापा २४ हजार १२९ मतसहित निर्वाचित हुँदा पुरीले १७ हजार ३१५ मत ल्याए । उनीहरूबीच ६ हजार ८१४ मतको अन्तर छ ।

राष्ट्रिय राजनीतिमा विशेष भूमिका खेल्ने झापाको समग्रमा परिणाम हेर्दा एमाले सफल भएको देखिन्छ । राप्रपासँगको तालमेलमा क्षेत्र नं. ३ राप्रपा अध्यक्ष लिङदेनलाई दिएर अन्य चार क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको थियो । जसमा क्षेत्र नं. १ मा बाहेक तीन वटा क्षेत्रमा शानदार विजय हासिल गरेको छ । क्षेत्र नं. ३ मा लिङदेन विजयी हुनुमा पनि एमालेको प्रतिष्ठा जोडिन्छ । सत्ता गठबन्धनका बाबजुद पनि यस किसिमको विजय एमालेका लागि सुखद मात्रै नभएर आफ्नो शक्तिको असलरुपमा प्रदर्शनीसमेत हो ।

त्यस्तै, १० प्रदेशसभा सदस्यमध्ये एमालेले झापा १ को प्रदेशसभा २, झापा ४ प्रदेशसभा २ मा राप्रपालाई दिएको थियो । जसमा दुवै जनाले जित निकालेका छन् । झापा १(१) र ३(१) मा एमालेका रविन कोइराला र बसन्त बानिया पराजित हुँदा अन्य क्षेत्रमा एमाले सफल बनेको छ । झापा १(१) र ३(१) मा नेपाली कांग्रेसले प्रदेशसभामा जित निकाल्दा एमालेको समर्थनमा झापा १(२) र ४(२) मा राप्रपाका उम्मेदवारले प्रदेशसभामा स्थान सुरक्षित गरे । अन्य बाँकी ६ क्षेत्रमा नेकपा एमाले विजयी बनेको छ ।

यसरी हेर्दा झापामा एमाले राप्रपा तालमेल सफल भएको भन्न सकिन्छ । झापा ५ मा एमाले अध्यक्ष ओली फराकिलो मतान्तरले विजयी हुनुमा राप्रपाको मत पनि जिम्मेवार छ भने तुलनात्मकरूपमा कम मतान्तरमा जित निकालेका राप्रपा अध्यक्ष लिङदेनलाई पनि एमालेको साथ फलिफाप सिद्ध भएको छ । देशकै परिणाम हेर्दा यी दुवै पार्टीका लागि देशव्यापी चुनावी तालमेल भएको भए फाइदाजनक हुने देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर