योगेन्द्र मण्डल भन्छन्- एमालेबाट टिकट पाउने पक्का भएपनि तालमेलले खोसियो, बागी उठेरै जिते – Nepal Press

योगेन्द्र मण्डल भन्छन्- एमालेबाट टिकट पाउने पक्का भएपनि तालमेलले खोसियो, बागी उठेरै जिते

विराटनगर । विराटनगरसँग जोडिएको कटारीमा २५ वर्ष केहि गर्ने जोसका साथ आए योगेन्द्र मण्डल । भरखर भरखर गैर सरकारी संस्थाको लहर चल्दै थियो । मण्डलले पनि जीवन विकास समाज नामक गैर सरकारी संस्था खोले ।

यही संस्थाले सानो सानो समूहमा बचत र ऋणको कारोबार गर्न थाल्यो । पछि मण्डलले जीवन विकास नामक लघुवित्त संस्था स्थापना गरे । मण्डल यी दुवै संस्थाको अध्यक्ष रहे ।

महिलाहरूको आर्थिक विकास र शशक्तिकरणमा उनले नेतृत्व गरेको संस्थाले काम मात्रै गरेन उनको संस्था पनि देश भरी फैलियो । जीवन विकास अहिले देशका अधिकांश जिल्लामा बचत तथा ऋणको कारोबार गर्ने गर्छ ।

यो संस्थाको तीन वर्ष अघि अवकाश लिए । २ वर्ष अघि उनी सक्रिय राजनीतिमा आउने घोषणा गरे । घोषणा मात्रै गरेनन् करिब ५ हजारको संख्या सहित उनी एमाले प्रवेश गरे ।

मोरङको दक्षिणी क्षेत्रमा एमालेका प्रभाव नभएको अवस्थामा योगेन्द्र पार्टी प्रवेश गरेसँगै एमालेको माहोल बन्दै गयो । मण्डल आफै पनि निर्वाचनमा उठ्ने तयारीमा लागेका थिए ।

एमाले अध्यक्ष केपी ओलीबाट पार्टी प्रवेश गरेका मण्डललाई टिकट दिने वचन दिइएको बताइने गरेको थियो । निर्वाचनमा उमेद्वारका लागि उनको नाम सिफारिस भएसँगै एमालेबाट उनै उम्मेदवार बन्ने पक्का थियो । तर जसपासँग अन्तिम समयमा आएर तालमेलको कुरा भयो योगेन्द्रको टिकट एका एक खोसियो ।

उनको ठाउँमा एमालेले जसपाका राजकुमार यादवलाई समर्थन गर्‍यो । पार्टीले टिकट नदिएपछि योगेन्द्र चुप लागेर बसेनन् । उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराए । उनलाई रोक्न एमाले गएन ।

अन्ततः पार्टीले टिकट नदिए पनि मण्डलले निर्वाचन जितेका छन् । उनले २१ हजार ८२० मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका शिवकुमार मण्डलले १७हजार ४८६ मत पाए भने जसपाका उम्मेदवार राजकुमार यादवले १७ हजार ३९० मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर