सुनसरी ३ : भगवतीले जिते संसद भवनमा पहिलो इन्ट्री, गच्छदारले जितेपनि नो इन्ट्री – Nepal Press
आमचुनाव-७९

सुनसरी ३ : भगवतीले जिते संसद भवनमा पहिलो इन्ट्री, गच्छदारले जितेपनि नो इन्ट्री

विराटनगर । सुनसरी क्षेत्र नम्बर ३ का ६३ हजार ६२२ मतदाता यसपटक पनि दुई छिमेकीको प्रतिस्पर्धामा निर्णयक हुने छन् । अर्थात् प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सत्ता गठबन्धनका विजयकुमार गच्छदार र एमाले-जसपा गठबन्धनकी भगवती चौधरी राजनीतिक रूपले प्रतिस्पर्धी भएपनि छिमेकी हुन् ।

यसअघि २०७० र २०७४ को निर्वाचनमा यी दुवैजना मैदानमा थिए । दुईटै चुनाव गच्छदारले जिते ।

विजय र भगवतीको जात र समुदायमा मात्रै मिल्ने होइन । उनीहरूको गाँउ पनि एउटै हो । दुवै तत्कालीन भलुवा गाविसमा जन्मिएका हुन् । दुहवी नगरपालिकाभित्र पर्ने भलुवाका छिमेकी दुवैजना मोरङ्गिया थारु हुन् । उमेर र राजनीतिक यात्राको हिसाबले विजय भगवतीभन्दा सिनियर हुन् ।

आफूभन्दा अग्रजलाई असाध्यै मान र श्रद्धा गर्ने थारु समुदायका यी दुई अगुवा नेताका बीचमा राजनीतिक आस्था र चुनावी प्रतिस्पर्धाले ‘जानी दुस्मन’ बनाएको छ । २०७० मा ३ सय ६२ मतको फरकले गच्छदार विजयी भएका थिए । उनले १७ हजार ५ सय २४ मत ल्याउँदा भगवती १७ हजार १६२ मतमा रोकिइन् । तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको अध्यक्ष रहेका गच्छदारले चुनाव जित्दा कांग्रेसकी गोमा अन्सारी पराजुलीले १० हजार ८ सय ६ मत पाएकी थिइन् ।

७४ मा भने भगवती ३ सय २१ मतले पराजित भइन् । चौधरीले ३८ हजार ६५१ मत ल्याइन् भने गच्छदारले ३८ हजार ९७२ मत पाए । परिणामप्रति असन्तुष्ट जनाउँदै भगवती २०७४ साल पुस ११ गते सर्वोच्च गइन् । लतपतिएको र बदर मतसमेत रुख चिन्हमा गणना गरिएको उनको आरोप थियो ।

उनले भनेकी थिइन्- ‘मतगणनाको १९औँ लटमा नौ वटा अर्धकट्टीसहितको मतपत्र पाइएको, निर्वाचन अधिकृतले सिरियल नम्बर हेर्न दिइएन ।’

रिट परेको तेस्रो दिन पुस १४ मा संवैधानिक इजलासले कारण देखाउ आदेश जारी गर्‍यो । तर, अर्को चुनाव आइसक्दासम्म संवैधानिक इजलासमै विचाराधीन छ ।

यसअघि गच्छदार सुनसरी क्षेत्र नम्बर २ र ३ बाट २०४८ सालयता निर्वाचन जित्दै आएका छन् । गच्छदारले सुनसरीबाट ४८, ५१, ५६, ६४ र ७४ मा जिते । उनी १८ पटक मन्त्री बन्दा ५ पटक त उपप्रधानमन्त्री नै बने ।

यस्तो छ स्थानीय चुनावको मतभार

सुनसरी- ३ मा इटहरी उपमहानगरपालिका ६, ७, ८, ९, १०, ११, १२, १३, १४ र १५ नम्बर वडा गरेर १० वटा वडा पर्छन् । त्यस्तै गढी गाउँपालिका सबै वडा, दुहवी नगरपालिकाको सबै वडा, बर्जु गाउँपालिकाको सबै वडा र इनरुवा नपा-७ पर्छन् ।

इटहरीका १० मध्ये एमालेले ६ वटा वडा जितेको छ । १४ नम्बर वडामा बागी उठेका रमेश चौधरी विजयी भएपनि उनी एमालेमै फर्किसकेका छन् । उपमहानगरका १० वटा वडामा एमालेका वडा अध्यक्षलाई ११ हजार ५६६ मत खसेको थियो । गठबन्धनका वडाअध्क्षले १० हजार ३१० मत ल्यएका थिए ।

दुहवी नगरपालिकाका ९ वटा वडामध्ये ७ वटा वडामा कांग्रेसले विजय हासिल गरेको छ । वडाध्यक्षमा कांग्रेसले दुहवी नगरपालिकामा ८ हजार ३२३ मत पाएको छ ।

एमालेले वडाध्यक्षमा ६ हजार ६ सय ४८ मत पाएको छ । वडाध्यक्षमा यति धेरै मतान्तरले मत खास्दा पनि मेयरमा झिनो मतले कांग्रेस उम्मेदवार विजयी भए । कांग्रेसका वेद गच्छदारले ११ हजार ९२६ मत ल्याउँदा एमालेका विनय पोखरेलले ११ हजार ४६१ मत पाएका छन् ।

६ वटा वडा रहेको गढी गाँउपालिकामा अध्यक्ष र उपाध्यक्षसहित एमालेले ५ वडाध्यक्ष जितेको छ । कांग्रेसले एउटा मात्रै वडा जितेको छ । वर्जुमा पनि एमालले अध्यक्ष उपाध्यक्ष जित्दा कांग्रेस २ वटा वडामा विजयी भएको छ ।

गढीमा एमालेको ६ हजार ३२२ र कांग्रेसको ४ हजार ४४१ मतभार छ । वर्जुमा कांग्रेसलाई ७ हजार ८०९ र एमालेलाई वडा अध्यक्षमा ७ हजार ५८१ मत आएको छ । इनरुवा नगरपालिकाको ७ नम्बर वडामा कांग्रेस विजयी भएको छ । सो वडामा कांग्रेसले १२ सय १४ र एमालेले १०३४ मत पाएको छ ।

जिते पनि गच्छदारलाई सदनमा ‘नो इन्ट्री’

सत्ता र शक्तिको वरिपरि रहिरहने गच्छदारलाई यस पटक भ्रष्टाचार मुद्दाको कारण चुनौती थपिएको छ । गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सरकारी जग्गा व्यक्तिको बनाउन मन्त्रिपरिषद्‍मा प्रस्ताव लैजान विभागीय मन्त्रीको रूपमा गैरकानूनी कार्य गरेको उनीमाथिको अभियोग-पत्रमा उल्लेख छ ।

२०७६ माघ २२ मा गच्छदारविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर भएको हो । मुद्दा दायर भएपछि गच्छदारको सांसद पद निलम्बनमा छ । फरारको सूचीमा रहेका उनी देउवा नेतृत्वको सरकार बनेलगत्तै  २०७८ असार २८ गते विशेष अदालतमा हाजिर भए । त्यही दिन उनलाई १० लाख धरौटीमा छाड्ने आदेश भएको थियो ।

विशेष अदालतमा मुद्दा दायर भएपछि सांसद पदबाट निलम्बित भएका गच्छदारलाई कांग्रेसले पुनः उम्मेदवार बनाउनुको बाध्यता कसैले बुझेका छैनन् । यदि उनले जिते भने पनि संसद भवनमा प्रवेश पाउँने छैनन् । सुनसरी ३ फेरि पनि प्रतिनिधित्वविहीन हुनेछ । किनभने गच्छादरमाथिको मुद्दा किनारा कहिले लाग्ने भन्ने टुंगो छैन ।

जनमतबाट आफूमाथिको आरोपको जवाफ फर्काउने भन्दै उनी मतदातामाझ हिँडेका छन् । तर, गच्छदारलाई सारथीहरूले नै छाडेपछि टाउको दुखाईको विषय बनेको छ । लामो समय सँगै रहेका धेरै नेता-कार्यकर्ता भोटसम्म मागिदिन हिँडेका छैनन् ।

निर्वाचनको मुखमा सहयोगी मिलिराम विश्वासले कांग्रेस छाडे । कांग्रेसको गाँउ नगर अधिबेशनका बेला उनकै उम्मेदवार बनेका टेकचन्द्र विश्वास एमाले प्रवेश गरिसकेका छन् । उनका विश्वासपात्र प्रदीप चौधरी र पूर्वराज्यमन्त्री सुमित्राकुमारी थरुनी पनि आजसम्म चुनावी प्रचारप्रसारमा हिँडेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर