रविको पार्टीबाट काठमाडौं ८ का उम्मेदवार विराजभक्त भन्छन्- मेरो प्रतिस्पर्धा पात्र होइन, प्रवृत्तिसँग – Nepal Press
नेपाल टक

रविको पार्टीबाट काठमाडौं ८ का उम्मेदवार विराजभक्त भन्छन्- मेरो प्रतिस्पर्धा पात्र होइन, प्रवृत्तिसँग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले आफ्नो प्रतिस्पर्धा कुनै व्यक्तिसँग नभएर प्रवृत्तिसँग भएको जिकिर गरेका छन् ।

विवेकशील साझा पार्टी छाडेर रविको पार्टीबाट काठमाडौं-८ बाट प्रतिनिधिसभाको उम्मेदवार रहेका श्रेष्ठले आजको दिनमा सिटामोल नपाएर बिरामीले ज्यान गुमाउनुपर्ने अवस्थासँग आफ्नो प्रतिस्पर्धा भएको बताएका हुन् ।

नेपाल प्रेससँगको भिडिओ वार्तालापमा उनले भने, ‘आजको समयमा व्यक्तिलाई प्रतिस्पर्धी मान्नै हुन्न । डेंगु लागेको बेला सिटामोल नपाउने समस्या, स्वच्छ र स्वस्थ खानेपानीको समस्या, बेरोजगारीको समस्या, व्यवस्थित बसोबासको समस्या, ट्राफिक जामको समस्यासँग जुध्ने हो । व्यक्तिसँग होइन ।’

आम नागरिकको घरघरमा जाँदा धेरै ठूलो अपेक्षा जनताको नभएको उनको भनाइ छ । अहिले पनि जनतालाई धुलो धुवाँबाट मुक्ति, व्यवस्थित सडक, नियमित पानी आउने, फोहोरको व्यवस्थापनका कुराहरू नै मुख्य समस्याका रूपमा रहेको श्रेष्ठ औंल्याउँछन् ।

विभिन्न सामाजिक आन्दोलनमा सक्रिय भूमिका र प्रदेशसभाको पाँच वर्षे अनुभवले पनि जनतासँग नजिक हुन अझ सहज भएको उनी सुनाउँछन् । आफू निर्वाचनमा विजयी भएपनि/नभएपनि सुलभ स्वास्थ्य, शिक्षा, अपाङ्गमैत्री सडक, ट्राफिक व्यवस्थापनतर्फ ध्यान केन्द्रित हुने श्रेष्ठले बताए ।

उनले भने, ‘म निर्वाचन हुने/नहुने सहायक कुरा हो । तर, पर्यटनको विकास, सामाजिक काम, चोरिएका मूर्ति फिर्ता लिने टिमलाई गरेको सहयोगलाई जनताले नजिकबाट हेरेका छन् ।’

वागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषालाई कामकाजी भाषा बनाउन आफूले खेलेको भूमिकालाई जनताले नजिकबाट हेरेको श्रेष्ठको भनाइ छ । ठूला सपना देखाएर जनतालाई मूर्ख बनाउने भन्दा आवश्यकताका आधारमा नीति निर्माण र त्यसको सफल कार्यान्वयनमा आफ्नो ध्यान केन्द्रित गर्ने श्रेष्ठले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर