चुनावी मैदानमा माओवादी पदाधिकारी- तीन नेतालाई छैन डर, अरु सबैलाई कांग्रेसको भर – Nepal Press

चुनावी मैदानमा माओवादी पदाधिकारी- तीन नेतालाई छैन डर, अरु सबैलाई कांग्रेसको भर

काठमाडौं । यदि राजनीतिक दलहरु एक्लाएक्लै प्रतिस्पर्धा गर्ने हो भने नेकपा माअ‍ोवादी केन्द्रले कति सीट जित्ला ? आम मान्छेले अनुमान लगाउने भनेको रोल्पा, रुकुम पूर्व र पश्चिम अनि गोरखा २ नै माओवादीका सबैभन्दा सुरक्षित निर्वाचन क्षेत्र हुन् ।

संयोग नै मान्नुपर्छ गोरखा २, रोल्पा र रुकुममा माओवादी पार्टीका मुख्य नेताहरु प्रचण्ड, वर्षमान पुन र जनार्दन शर्मा उम्मेदवार छन् र एक्लै चुनाव जित्न सकिने ती क्षेत्रमा दोस्रो मत बोकेको कांग्रेससमेत साथमा भएपछि तीनैजना पदाधिकारी सेफ जोनमा देखिन्छन् ।

२०७४ सालमा वाम गठबन्धन (एमाले-माओवादी) गरेर माओवादी केन्द्रले प्रत्यक्षमा ३६ सीट जितेको थियो । वाम गठबन्धनपछिको पार्टी एकता टुटेपछि माओवादी अहिले नेपाल कांग्रेस नेतृत्वको गठबन्धनमा छ ।

कांग्रेसलाई एक्लाएर एकजुट भएका कम्युनिष्टहरू छिन्नभिन्न भएसँगै देशको राजनीतिक परिवेश बदलिएको छ । अहिले माओवादी कांग्रेससहित नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन गरेर चुनावी मैदानमा छ ।

माओवादीले यसअघिको सहयात्री एमालेलाई मुख्य प्रतिस्पर्धी मानेको छ । गत निर्वाचनमा दोस्रो शक्ति बनेको माओवादीले गठबन्धनको कारण ४६ सीटमा मात्रै उम्मेदवार खडा गरेको छ । त्यसमा पनि एमाले छाडेका नेताहरू घनश्याम भुसाल, प्रभु शाहलगायत केही नेताहरूलाई सघाएको छ ।

माओवादीका २१ पदाधिकारीमध्ये १० जनामात्रै चुनावी प्रतिस्पर्धामा छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका १९ पदाधिकारीमध्ये १५ जना चुनावी मैदानमा उत्रिँदा माओवादीका ११ जना पदाधिकारी ‘रिङ’ बाहिरै छन् ।

पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्य छाडेर गोरखा २ बाट चुनाव लड्ने योजनामा थिए । तर, ब्याक भए । उनी २०७४ सालको निर्वाचनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए ।

उपाध्यक्ष कृष्णबहादुर महरालाई दाङ २ बाट चुनाव लड्न पार्टीले आग्रह गरे पनि अस्वीकार गरे । समानुपातिकमा नाम रहेका महरा पनि चर्को आलोचनापछि चुनावी प्रतिस्पर्धाबाट ब्याक भए ।

चुनावी मैदानमा उभिएका माओवादीका १० पदाधिकारीको चुनावी अवस्था कस्तो छ ? हेरौं हिसाबकिताबः

गोरखामा प्रचण्ड सुरक्षित

२०७४ सालमा चितवन ३ बाट निर्वाचित अध्यक्ष प्रचण्ड यसपटक गोरखा २ मा उम्मेदवार बनेका छन् । चितवनमा असहज परिस्थिति बनेपछि प्रचण्डले गोरखा रोजेका हुन् । तर, त्यो कुरा प्रचण्ड स्वीकार गर्दैनन् ।

चितवनमा चुनाव हार्ने डरले प्रचण्ड गोरखा आएको कुरा सत्य नभएको वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ बताउँछन् । काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा उनले भनेका थिए, ‘कमरेड प्रचण्डमात्रै त्यस्तो नेता हुनुहुन्छ, जसले निरन्तर एउटै निर्वाचन क्षेत्रमा डुबिरहने पूँजीवादी संसदवादको मान्यतालाई चिर्नुभयो । कहिल्यै पनि एउटै निर्वाचन क्षेत्रमा दोहो¥याएर लड्नुभएको छैन । यही चिन्तन र सोचका कारण उहाँले यसपालि गोरखा रोज्नुभएको हो ।’

प्रचण्डको जीत गोरखामा निश्चित भएको उनले दाबी गरे । ‘हामी गोरखालीहरू उहाँलाई नेपालको चुनावी इतिहासमै सबैभन्दा बढी मतान्तरले जिताउन चाहन्छौं’, श्रेष्ठको भनाइ थियो ।

प्रचण्डले अहिलेसम्म एउटै निर्वाचन क्षेत्रबाट दोहो¥याएर लडेका पनि छैनन् । पहिलो संविधानसभा चुनावमा रोल्पा र काठमाडौंबाट विजयी भएका थिए उनी । तर, दोस्रोमा काठमाडौं र सिराहाबाट चुुनाव लड्दा काठमाडौंमा हारेका थिए ।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनको नतिजाअनुसार गोरखामा माओवादी पहिलो पार्टी हो । प्रचण्डले उम्मेदवारी दिएको गोरखा २ मा एमालेले अब्दुश मियाँलाई अघि सारेको छ । मियाँ हालैमात्र एमाले प्रवेश गरेका हुन् । जनतामाझ नभिजेका प्रतिस्पर्धी भएपछि प्रचण्डको जीत थप सहज बनेको माओवादी नेताहरूको बुझाइ छ ।

स्थानीय निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतअनुसार गोरखा २ मा माओवादीको २२ हजार २५०, कांग्रेसको २१ हजार १३६, एमालेको ७ हजार ९२६, जसपाको ७ हजार ५०४ र राप्रपाको ८७८ मत रहेको छ ।

एमाले र जसपाबीचको मत जोड्दा पनि माओवादी एक्लैको मतलाई उछिन्न सक्ने अवस्था छैन । तर, प्रचण्डलाई कांग्रेस र नेकपा एसको पनि साथ भएकाले फराकिलो मतान्तरसहित जीत हुने देखिएको छ । प्रचण्डको व्यक्तित्वको हिसाबले पनि थप भोट तान्नसक्ने नेताहरू दाबी गर्छन् । गोरखाको जसपा भनेकै बाबुराम समूह भएकाले सो मत पनि प्रचण्डमै जानेछ ।

लमजुङमा देवलाई कांग्रेसको भर

महासचिव देवप्रसाद गुरूङलाई लमजुङबाट चुनाव जित्न यसपटक सहज छैन । २०७४ सालको निर्वाचनमा एउटै मोेर्चाबाट विजयी भएका एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङ उनीविरूद्ध मैदानमा छन् । २०७४ सालमा प्रदेशसभामा जितेर गण्डकी प्रदेशको मुख्यमन्त्रीसमेत भएका गुरूङ अहिले संघमा लड्दैछन् ।

गत स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मतअनुसार एक्लाएक्लैमा एमाले अगाडि छ । एमालेले ४० हजार १९७, कांग्रेसले ३५ हजार २७६, माओवादीले ६ हजार १२७, राप्रपाले १ हजार १८४ र जसपाले १९० मत ल्याएको छ । यो मतअनुसार गुरूङद्वयबीच कडा टक्कर हुने देखिन्छ ।

व्यक्तिगत रुपमा देव गुरुङभन्दा पीएस गुरुङ लोकप्रिय हुनु ,जनमतमा एमाले अगाडि हुनु र पीएसको आफ्नै गाउँपालिका क्लोसोथरमा एमालेले क्लीन स्वीप गर्नुले एमाले बलियो देखिन्छ यो जिल्लामा ।

तर, गठबन्धन भएकाले आफ्नो जीत निश्चित भएको दाबी गर्छन् महासचिव गुरूङ । उनी भन्छन्, ‘हामी एकजुट भएर लाग्नसके लमजुङमा मात्रै नभएर देशैभर गठबन्धनको जीत सुनिश्चित छ । यो गठबन्धन चुनावसम्म मात्रै नभएर आगामी सरकार निर्माणसम्म जान्छ ।’

रोल्पामा वर्षमानलाई ‘नो टेन्सन’

२०७४ सालको निर्वाचनमा कांग्रेसका अमरसिंह पुनमगरलाई २० हजार मतान्तरले हराएका उपमहासचिव वर्षमान पुन रोल्पामा सुरक्षित छन् । गत निर्वाचनमा उनले ४० हजार ६४७ मत ल्याउँदा कांग्रेसका पुनले १९ हजार ९०६ मत पाएका थिए ।

अहिले कांग्रेस सत्ता गठबन्धनमै छ । पुनविरूद्ध एमालेले पूर्व माओवादी लडाकु कमाण्डर पूर्ण बुढामगरलाई अघि सारेको छ । स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतअनुसार एक्लाएक्लैमा माओवादी पहिलो शक्ति छ । माओवादीले ४० हजार ७९१, कांग्रेसले २४ हजार ६६४, एमालेले १५ हजार ३०१, राप्रपाले १ हजार २१८ र नेकपा एसले ९५० मत ल्याएको छ ।

वर्षमान पुनः पार्टीको शीर्षस्थ नेता र भावी अर्थमन्त्रीका रुपमा प्रचार भएकाले पनि उनी सेफजोनमा देखिन्छन् ।

रुकुम पश्चिममा जनार्दनको पल्ला भारी

रुकुम पश्चिममा २०७४ सालको निर्वाचनमा वाम गठबन्धनबाट भारी मत ल्याएर विजयी उपमहासचिव जनार्दन शर्माको अहिले पनि पल्ला भारी छ । गत निर्वाचनमा शर्माले ३४ हजार ४०२ मत ल्याएका थिए । उनका प्रतिद्वन्द्वी कांग्रेसका गोपालजीजंग शाहले १५ हजार ६५९ मत ल्याएका थिए ।

गत वैशाखमा भएको स्थानीय निर्वाचनको मतअनुसार रूकुम पश्चिममा माओवादी पहिलो शक्ति हो । यहाँ माओवादीको ३७ हजार १०२, कांग्रेसको २६ हजार ६२०, एमालेको ६ हजार १२४, नेकपा एसको १३० र राप्रपाको १०८ मत छ ।

जाजरकोटमा शक्ति कांग्रेसविना कमजोर

२०७४ सालको निर्वाचनमा वाम गठबन्धनबाट विजयी शक्तिबहादुर बस्नेतलाई अहिले जाजरकोटमा कांग्रेसकै भर देखिन्छ । गत निर्वाचनमा बस्नेत ३२ हजार २८१ मतसहित विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी कांग्रेसका राजीवविक्रम शाहले २३ हजार २८९ मत ल्याएका थिए ।

अहिले बस्नेतविरूद्ध २०७४ का सहयात्री एमालेका निरज आचार्य चुनावी मैदानमा छन् । स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मतअनुसार जाजरकोटमा एमाले पहिलो शक्ति हो ।

यहाँ एमालेको २४ हजार ४, कांग्रेसको २२ हजार ३४२, माओवादीको १८ हजार ६२२, नेकपा एसको २ हजार ३३४, राप्रपाको १३४ र जसपाको २४ मत रहेको छ । त्यसैले बस्नेतको जीत कांग्रेसमा निर्भर रहन्छ ।

कांग्रेसका राजीवविक्रम प्रतिनिधिसभाका दाबेदार थिए । तर, गठबन्धनमा शक्तिले पाएपछि उनी प्रदेशमा झरेका छन् ।

धुनषामा मातृकालाई साना दल निर्णायक

२०७४ सालमा धनुषा १ बाट विजयी उपमहासचिव मातृका यादव अहिले पनि जीतको खोजीमा छन् । उनले गत निर्वाचनमा फोरम नेपालका दीपक कार्कीलाई हराएका थिए । यादवले २६ हजार ४१४ मत ल्याउँदा कार्की १७ हजार २८१ मतमा रोकिएका थिए । कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना १५ हजार ६७९ मतसहित तेस्रो भएका थिए ।

गठबन्धनको आडमा चुनावी मैदानमा उत्रिएका यादवविरूद्ध एमाले-जसपा गठबन्धनले जसपाका दीपक कार्कीलाई नै उम्मेदवार बनाएको छ । गत स्थानीय निर्वाचनको मतअनुसार यहाँ कांग्रेस पहिलो पार्टी हो । त्यसैले एमाले जसपाको गठबन्धनविरुद्ध जीत निकाल्न यादवलाई कांग्रेसको भर पर्नुपर्ने देखिएको छ ।

यहाँ कांग्रेसको १८ हजार ५१४, एमालेको १६ हजार ५८१, माओवादीको १२ हजार ३४३, जसपाको ९ हजार २०, लोसपाको ६ हजार ६२४, राप्रपाको ४ हजार ९४६, जनमत पार्टीको ३ हजार ३२०, नेकपा एसको २ हजार ९३७ मत रहेको छ । यस आधारमा यादवलाई जीत निश्चित गर्न कांग्रेससँगै साना दलका मत पनि निर्णायक देखिन्छ ।

महोत्तरीमा गिरिराजमणिलाई चौथो जीतको चुनौती

उपमहासचिव गिरिराजमणि पोखरेल २०६४ सालदेखि निरन्तर महोत्तरी १ बाट विजयी भएका थिए । अघिल्लो चुनावमा वाम गठबन्धनको तर्फबाट पोखरेलले २३ हजार ७७६ मत ल्याउँदा उनका प्रतिस्पर्धी संघीय समाजवादी फोरमका लक्ष्मी महतो कोइरीले १९ हजार ४९२ मत ल्याएका थिए । कांग्रेसका सीताराम भण्डारी ९ हजार ४७५ मतसहित तेस्रो स्थानमा रहेका थिए ।

अहिले सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका पोखरेलविरूद्ध एमाले-जसपा गठबन्धनले लक्ष्मी महतोलाई नै अगाडि सारेको छ । कोइरी अहिले जसपा छाडेर एमालेबाट उम्मेदवार बनेका छन् ।

रोचक कुरा चाहिँ के छ भने हालै सम्पन्न स्थानीय तह निर्वाचनमा गौशाला नगरपालिकाको मेयर जितेका दीपेन्द्र महतो लक्ष्मीका छोरा हुन् । त्यसैले पनि यहाँ लक्ष्मी महतो धेरै बलियो बनेर आइरहेका छन् ।

गत स्थानीय तह निर्वाचनको मतअनुसार माओवादी पहिलो शक्ति छ । तर, यहाँ बर्दिबासको मेयरमा कांग्रेसका बागीले जितेका थिए भने जसपाको मत एमालेतिर थपिँदा परिणाम उल्टिने खतरा पनि माओवादीले महसुस गरिरहेको छ ।

महोत्तरीमा माओवादीको १५ हजार ८८८, कांग्रेसको १३ हजार १४६, एमालेको ८ हजार ३४, जसपाको ७ हजार २३४, लोसपाको ७ हजार ६९, नेकपा एसको १ हजार ५०८ र राप्रपाको ४७८ मत रहेको छ ।

ललितपुरमा पम्फालाई चुनौती

ऊर्जामन्त्री रहेकी माओवादी उपमहासचिव पम्फा भुसाललाई ललितपुर ३ मा जीत निकाल्न चुनौती देखिन्छ । २०७४ को निर्वाचनमा २४ हजार ३६ मत ल्याएर विजयी भुसाललाई अहिले कांग्रेसको भर देखिन्छ ।

उनले कांग्रेसका मदनबहादुर अमात्यलाई हराएकी थिइन् । अहिले उनीविरूद्ध एमालेले अमृत खड्कालाई अघि बढाएको छ । तर, एमालेको उम्मेदवार खड्का हाइ प्रोफाइल नभए पनि स्थानीयस्तरमा भिजेका नेता हुन् ।

स्थानीय तह निर्वाचनको मतअनुसार यहाँ कांग्रेस पहिलो पार्टी हो । त्यसैले पम्फाले कांग्रेसको मतमै भर पर्नुपर्नेछ । यहाँ कांग्रेसको १८ हजार ५४५, एमालेको १७ हजार ७०९, माओवादीको ७ हजार ७२७, नेकपा एसको ५ हजार १२९ र राप्रपाको ४ हजार ३४२ मत छ ।

माओवादीका सोही क्षेत्रका जिल्ला सहइन्चार्ज सरोज डंगोल, हालै ललितपुर उपमहानगरको उपमेयरमा गठबन्धनबाट हारेका बाबुराजा बज्राचार्यसहित माओवादीको ठूलै टीम एमाले प्रवेश गरेकाले पनि पम्फालाई चुनौती थपिएको छ ।

बागलुङमा देवेन्द्रलाई डर

शिक्षामन्त्री रहेका माओवादी सचिव देवेन्द्र पौडेल २०७४ को निर्वाचनमा बागलुङ २ विजयी भएका थिए । वाम गठबन्धनबाट उनले कांग्रेस उम्मेदवार नरबहादुर पुन ‘निरज’ लाई ८ हजार ९२२ मतान्तरले हराएका थिए ।

पौडेलले २८ हजार ८२७ मत ल्याउँदा कांग्रेसका पूर्वसांसद निरज पुनले १९ हजार ९५ मत ल्याएका थिए । कांग्रेसका पुनलाई हराएका मन्त्री पौडेल अहिले कांग्रेसकै आडमा चुनाव जित्ने तयारीमा छन् । उनीविरूद्ध एमालेले मञ्जु शर्मा चालिसेलाई चुनावी मैदानमा उतारेको छ । गठबन्धनबाट आफूले चुनाव जित्नेमा विश्वस्त रहेको पौडैल दाबी गर्छन् ।

यो क्षेत्रमा एमाले तुलनात्मक रुपमा कमजोर भएकाले देवेन्द्र ढुक्क छन् । तर, एमालेले उठाएकी उम्मेदवार मञ्जु गत स्थानीय चुनावमा गल्कोट नगरपालिकाको मेयरमा कांग्रेसबाट बागी उठेर एक्लै ३५ सय मत ल्याएकी लोकप्रिय महिला हुन् ।

मञ्जु यसबीचमा एमाले प्रवेश गरेर उम्मेदवार बन्दा प्रदेशमा माओवादीका बागी प्रकाश घर्तीलाई एमालेले समर्थन गरेकाले माओवादीको गढ मानिने ताराखोलाको मत प्रकाशले एमालेतिर प्रभावित पार्ने सम्भावना पनि उत्तिकै छ ।

गत स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मतअनुसार एमाले पहिलो शक्ति हो । एमालेको १९ हजार ३०, कांग्रेसको १७ हजार ७५१, माओवादीको ९ हजार ७५१, राजमोको ६ हजार ६७८, नेकपा एसको ३८८ मत रहेको छ ।

कपिलवस्तुमा चक्रपाणिलाई बागीको त्रास

पूर्वमन्त्रीसमेत रहेका चक्रपाणि खनाललाई कांग्रेसको बागी उम्मेदवारको त्रास छ । २०७४ सालमा कपिलवस्तु १ बाट विजयी खनाल अहिले गठबन्धनको आडमा दोहोरिने दाउमा छन् ।

गत निर्वाचनमा खनालले २९ हजार ७९९ मत ल्याउँदा कांग्रेसका दीपकुमार उपाध्यायले २८ हजार ८५३ मत ल्याएका थिए । उनीविरूद्ध एमालेले संविधानसभा सदस्य बलराम अधिकारीलाई मैदानमा उतारेको छ । तर, कांग्रेसबाटै प्रभावशाली नेता ललित गुरूङ गठबन्धनको बागी उम्मेदवार बनेकाले खनाललाई चुनौती बनेको छ ।

यहाँ कांग्रेस पहिलो पार्टी भए पनि बागी उम्मेदवार गुरूङले मत काट्नसक्ने आँकलन छ । त्यस्तो अवस्थामा एमालेलाई जसपाले सघाए खनाललाई झन् ठूलो चुनौती पर्नेछ ।

कपिलवस्तु १ मा कांग्रेसको २८ हजार २७१, एमालेको २६ हजार ८२३, जसपाको १३ हजार ५१०, माओवादीको ९ हजार ३३८, नेकपा एसको ३ हजार ७२२, लोसपाको ३ हजार ४२४ र राप्रपाको २ हजार ४८० मत छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर