कांग्रेसका अधिकांश मन्त्रीले टिकट पाउँदा मुख्यमन्त्रीसहित माओवादीका प्रभावशाली नेता रेसबाहिर – Nepal Press
लुम्बिनी प्रदेश

कांग्रेसका अधिकांश मन्त्रीले टिकट पाउँदा मुख्यमन्त्रीसहित माओवादीका प्रभावशाली नेता रेसबाहिर

रूपन्देही । सत्तारुढ गठबन्धनमा ‘नरमकरम’ मिलाउँदा प्रभावशाली नेताहरू टिकटबाट वञ्चित भएका छन । लुम्बिनीका २६ संघीय निर्वाचन क्षेत्रमा ७ र ५२ प्रदेश निर्वाचन क्षेत्रमध्ये १८ ठाउँमा मात्र माओवादीका उम्मेदवार छन् ।

लुम्बिनी प्रदेशसभाको पहिलो कार्यकालमा दुईजना मुख्यमन्त्री भए । हालका मुख्यमन्त्री कुलप्रसाद केसीले पनि टिकट पाएका छैनन् । एमाले महासचिव एवं लुम्बिनीका संस्थापक मुख्यमन्त्री शंकर पोखरेल अहिले दाङ-२ बाट चुनावी मैदानमा छन् । २०७४ मा पोखरेल प्रदेशमा लडेका थिए भने माओवादीका कृष्णबहादुर महरा प्रतिनिधिसभामा विजयी भएका थिए । अहिले पोखरेलसँग माओवादीकै रेखा शर्मा गठबन्धनबाट प्रतिस्पर्धामा छिन् ।

पुनः मुख्यमन्त्री बन्ने प्रयासमा रहेका माओवादी नेता केसीले भने टिकट नै पाएनन् । सुरुमा संघीय निर्वाचन लड्ने गरी एक क्षेत्र रहेको रोल्पामा उनले प्रयास गरे । नेता वर्षमान पुनले नछोड्ने भएपछि उनी प्रदेशकै मुख्यमन्त्री सुनिश्चित गरी प्रदेशसभामै लड्ने तयारीमा थिए । प्रदेशतर्फ २ क्षेत्र रहेको रोल्पामा गठबन्धनले एक क्षेत्र कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनलाई दिने सहमति गर्‍यो । अर्को क्षेत्रमा अघिल्लो चुनावमा उनैलाई सहयोग गरेका माओवादीका पोलिटब्युरो सदस्य जोखबहादुर महरा थिए ।

महराले यसपटक प्रदेश नछोड्ने भएपछि केसीलाई अर्को समस्या पर्‍यो । रोल्पाबाट सम्भावना कम देखेका केसीले त्यसपछि दाङको क्षेत्र नं. १ (१) मा चासो देखाए र अधिकतम प्रयास पनि गरे । तर, प्रदेशमा सुरूमा आन्तरिक मामिला तथा कानुन मन्त्री र डेढ वर्ष मुख्यमन्त्री भएका केसी बढी विवादमा फसेकाले टिकटका लागि केन्द्रको ‘नोटिस’ मा नपरेको माओवादीनिकट स्रोत बताउँछ ।

केसीका प्रेस संयोजक भएर काम गरेका रोल्पाका पत्रकार मानसिंह विकले पनि संघीय र प्रदेश दुवैतर्फ चासो देखाएको भएपनि गठबन्धनकै कारण केसीले टिकट नपाएको बताए ।

माओवादीले लुम्बिनी प्रदेशमा मन्त्री भएका अधिकांश नेतालाई यसपटक टिकट दिएको छैन । दुईपटक गरेर माओवादीबाट ६ जना मन्त्री बनेका थिए । दुईजना राज्यमन्त्री भए । तीमध्ये यसपटक बहालवाला स्वास्थ्यमन्त्री इन्द्रजित थारु दाङ १ (१) बाट र पूर्वसामाजिक विकासमन्त्री सुदर्शन बराल गुल्मी १ (१) बाट उम्मेदवार बनेका छन् ।

केसीसँगै बहालवाला अर्थ तथा सहकारीमन्त्री प्यूठानका कृष्णध्वज खड्का, आन्तरिक मामिला तथा कानून तथा सञ्चारमन्त्री बर्दियाका तिलकराम शर्मा, स्वास्थ्य राज्यमन्त्री दाङकी विमला वली खत्री, अर्थ तथा सहकारी राज्यमन्त्री कपिलवस्तुकी सुष्मा यादवले पनि टिकट पाएनन् ।

भौतिक पूर्वाधार विकासमन्त्री रहेका जसपाका सहसराम यादव कांग्रेसमा प्रवेश गरेर टिकट लिएका छन् ।

कांग्रेसबाट मन्त्री बनेका भने सबैले टिकट पाएका छन् । पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री दाङका डिल्ली चौधरी मुख्यमन्त्रीको दाबेदारीसहित दाङको ३ (१) बाट मैदानमा छन् । त्यस्तै वन तथा वातावरणमन्त्री सुरेन्द्रबहादुर हमाल बाँके २ (२) बाट, शिक्षा तथा खेलकुदमन्त्री बसिउद्धिन खाँ रूपन्देही ४ (२) बाट र ऊर्जा‚ जलस्रोत तथा सिंचाइमन्त्री वीरबहादुर राना पाल्पा २ (१) बाट चुनाव लड्दैछन् ।

एमालेबाट मन्त्री बनेका नवलपरासी पश्चिमका वैजनाथ चौधरीले अन्तिममा टिकट पाएनन् भने लीला गिरी रूपन्देहीको २ (१) बाट उम्मेदवार बनेका छन् । कांग्रेसको प्रदेशसभाका प्रमुख सचेतक फकरुद्धिन खानले कांग्रेसका धेरै प्रदेशसभा सदस्यले अहिले पनि टिकट पाएको बताए । त्यस्तै प्यूठानका कृष्णध्वज खड्काकी श्रीमती रेखा शर्मा दाङ- २ बाट प्रत्यक्षमा लड्दै छन् । त्यस्तै लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती एकमात्र क्षेत्र रहेको पूर्वी रुकुमबाट प्रतिनिधिसभामा चुनाव लड्दै छन् ।

दुई संघीय मन्त्री उम्मेदवार

लुम्बिनी प्रदेशबाट दुई संघीय मन्त्री उम्मेदवार बनेका छन् ।

रुपन्देही क्षेत्र नम्बर ३ बाट गृहमन्त्री बालकृष्ण खाण र दाङ क्षेत्र नम्बर १ बाट सहरी विकास मन्त्री मेटमणि चौधरी प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार छन् । गृहमन्त्री खाणले एमालेको समर्थनमा उम्मेदवार बनेका राप्रपाका दीपक बोहरासँग प्रतिस्पर्धा गर्नेछन् भने दाङ-१ मा मन्त्री चौधरीले एमालेकी शान्ता चौधरीसँग प्रतिस्पर्धा गर्नेछन् ।

केही दिनअघिसम्म बाँके क्षेत्र नम्बर २ बाट भौतिक पूर्वाधार मन्त्री रहेका मोहम्मद इस्तियाक राई सरकारबाट हटेका छन् । बाँके-२ मा राईले जसपाबाट उम्मेदवारी दिएका छन् । उनले राप्रपा नेता धवलशमशेर राणा र नेपाली कांग्रेसमा सुदीप नरसिंह राणासँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

लुम्बिनी प्रदेशका १६ जना मन्त्रीमध्ये टिकट पाउनेहरू

१ पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री दाङका डिल्ली चौधरी दाङ ३ को १ कांग्रेस

२ स्वास्थ्यमन्त्री इन्द्रजित चौधरी दाङ १ को १ माओवादी

३. वन तथा वातावरणमन्त्री सुरेन्द्रबहादुर हमाल बाँके २ को २ कांग्रेस

४. कांग्रेसका शिक्षा तथा खेलकुदमन्त्री बसिउद्धिन खाँ रूपन्देही ४ को १ कांग्रेस

५ ऊर्जा‚ जलस्रोत तथा सिंचाइमन्त्री वीरबहादुर राना पाल्पा २ को १ कांग्रेस

६. भौतिक पूर्वाधार विकासमन्त्री सहसराम यादव कपिलवस्तु १ को २ कांग्रेस

टिकट नपाएका मन्त्री

१. टिकट नपाउने मुख्यमन्त्री रोल्पाका कुलप्रसाद केसी (माओवादी)

२. अर्थ तथा सहकारीमन्त्री प्यूठानका कृष्णध्वज खड्का (माओवादी)

३. आन्तरिक मामिला तथा सञ्चारमन्त्री बर्दियाका तिलकराम शर्मा (माओवादी)

४. अर्थ तथा सहकारी राज्यमन्त्री कपिलवस्तुकी सुष्मा यादव (माओवादी)

५ श्रम तथा यातायात व्यवस्थामन्त्री पाल्पाकी पुर्मती ढेंगा (जसपा)

६ कृषि, तथा भूमि व्यवस्थामन्त्री बर्दियाकी सुमन शर्मा रायमाझी (जसपा)

७. महिला बालबालिका तथा समाज कल्याण मन्त्री पाल्पा रमा घर्ती (एस)

८. अजय शाही उद्योग, वाणिज्य तथा आपूर्ति नवलपरासी स्वतन्त्र

९. अर्जुन श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री कांग्रेस

१०. रिना नेपाल विक, पर्यटन, ग्रामीण तथा शहरी विकास राज्यमन्त्री कांग्रेस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर