चुनावी मैदानमा प्रधानमन्त्री देउवासहित १७ मन्त्री, काे-काे छन् प्रतिस्पर्धी ? – Nepal Press

चुनावी मैदानमा प्रधानमन्त्री देउवासहित १७ मन्त्री, काे-काे छन् प्रतिस्पर्धी ?

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रधानमन्त्रीसहित १७ जना मन्त्रीले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका ७ जना, नेकपा माओवादी केन्द्रका ४ जना र नेकपा (एकीकृत समाजवादी)का ३ जना गरेर १४ जना मन्त्रीले सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका छन् ।

त्यस्तै जनता समाजवादी पार्टी (जसपा) नेपालका ३ जना मन्त्रीले उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनसँग भागबन्डा नमिलेपछि जसपाले केही क्षेत्रमा एमालेसँग चुनावी तालमेल गरेको छ ।

प्रधानमन्त्री देउवाले प्रतिनिधिसभातर्फ डडेल्धुरामा उम्मेदवारी दिएका छन् । २०४८ सालदेखि निरन्तर निर्वाचन जित्दै आएका देउवाले डडेल्धुराबाट सातौं पटक संघीय सांसदका लागि उम्मेदवारी दिएका छन् । देउवाविरुद्ध पूर्व कांग्रेस एवं हाल कांग्रेस बीपीका कर्ण मल्ल प्रमुख प्रतिस्पर्धी हुन् । मल्ललाई एमालेले समर्थन गरेकाे छ ।

गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभातर्फ रुपन्देही क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका छन् । उनी २०७४ सालको निर्वाचनमा समानुपातिकबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । खाणविरुद्ध एमालेसहितकाे गठबन्धनबाट राप्रपाका दीपक बाेहाेरा मुख्य प्रतिस्पर्धी छन् । बाेहाेरालाई जसपाकाे समेत समर्थन रहेकाे छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरी क्षेत्र नम्बर ४ मा उम्मेदवारी दिएका छन् । उनी २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए । कार्कीविरुद्ध एमालेका जगदीशप्रसाद कुसियैत मुख्य प्रतिस्पर्धी छन् । कार्की सत्ता गठबन्धनका साझा उम्मेदवार रहँदा कुसियैतलाई जसपाकाे समर्थन रहेकाे छ ।

कांग्रेसबाटै खानेपानीमन्त्री उमाकान्त चौधरीले बारा क्षेत्र नम्बर १ मा उम्मेदवारी मनोनयन गरेका छन् । चौधरी २०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए । यहाँ चाैधरीका मुख्य प्रतिस्पर्धी एमालेका अच्युतप्रसाद मैनाली उम्मेदवार छन् । मैनाली जसपासँगकाे चुनावी तालमेलका उम्मेदवार हुन् ।

परराष्ट्रमन्त्री नारायण खड्काले उदयपुर क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका छन् । उनी २०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए । यहाँ एमाले र जसपाले मित्रवत प्रतिस्पर्धा गर्ने भएकाले सत्ता गठबन्धनका साझा उम्मेदवार खड्कालाई केही सहज देखिन्छ । एमालेले मञ्जुकुमारी चाैधरी र जसपाले गाेपाल राईलाई उम्मेदवार बनाउँदा लाेसपाले खुशीलाल ठाकुरलाई मैदानमा उतारेकाे छ ।

२०७४ सालको निर्वाचनमा समानुपातिकबाट संघीय सांसद बनेका उद्योगमन्त्री दिलेन्प्रसाद बडूले अहिले दार्चुलामा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् । बडूका मुख्य प्रतिस्पर्धीमा एमालेका गणेशसिंह ठगुन्ना उम्मेदवार रहेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले चितवन २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । २०७४ सालको निर्वाचनमा उनी ललितपुरबाट समानुपातिक सांसद निर्वाचित भएका थिए । श्रेष्ठका मुख्य प्रतिस्पर्धी एमालेका कृष्णभक्त पाेखरेल रहेका छन् । २०७४ सालकाे निर्वाचनमा वाम गठबन्धनबाट विजयी एमालेका पाेखरेललाई यसपटक सत्ता गठबन्धनमाथि जीत दर्ता गर्न सहज भने छैन ।

माओवादी केन्द्रबाट मन्त्रिपरिषदमा रहेका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले ललितपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएकी छन् । उनी २०७४ सालको निर्वाचनमा पनि यसै क्षेत्रबाट निर्वाचित भएकी थिइन् । भुसालविरुद्ध एमालेले अमृत खड्कालाई चुनावी मैदानमा उतारेकाे छ ।

अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिममा उम्मेदवारी दर्ता गराएका छन् । उनी २०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए । शर्माविरुद्ध एमालेले नन्दराम देवकाेटालाई उम्मेदवार उठाएकाे छ ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बाग्लुङ क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका छन् । पौडेल २०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए । पाैडेलका मुख्य प्रतिस्पर्धीमा एमालेकी मञ्जु शर्मा रहेकी छन् ।

माओवादीबाटै युवा तथा खेलकुदमन्त्री बनेका महेश्वरजंग गहतराजले बाँके क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गराएका छन् । २०७४ सालमा उनी यसै क्षेत्रबाट निर्वाचित भएका थिए । यहाँ एमाले र जसपाले मित्रवत प्रतिस्पर्धा गर्ने भएकाले गहतराजलाई निर्वाचन सहज देखिन्छ । एमालेले सूर्यप्रसाद ढकाल र जसपाले रामकुमार यादवलाई उम्मेदवार बनाएकाे छ । राप्रपाले आनन्दबाबु काफ्लेलाई मैदानमा उतारेकाे छ ।

एकीकृत समाजवादीबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका जीवनराज श्रेष्ठले काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ८ मा उम्मेदवारी दिएका छन् । २०७४ सालमा उनी यसै क्षेत्रबाट निर्वाचित भएका थिए । सत्ता गठबन्धनका साझा उम्मेदवार श्रेष्ठविरुद्ध एमाले, जसपा र राप्रपाले छुट्टाछुट्टै उम्मेदवार खडा गरेका छन् । एमालेबाट शिवसुन्दर राजवैद्य जसपाबाट  मनाेजकुमार खड्गी र राप्रपाबाट प्रकाश रिमाल उम्मेदवार बनेका छन् ।

एकीकृत समाजवादीबाटै सहरी विकासमन्त्री बनेका मेटमणि चौधरी दाङ क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका छन् । उनी २०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए । यहाँ सत्ता गठबन्धाका साझा उम्मेदवार चाैधरीका मुख्य प्रतिस्पर्धीमा एमालेकी शान्ता चाैधरी रहेकी छन् । शान्तालाई जसपाकाे समर्थन रहेकाे छ ।

एकीकृत समाजवादीकै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले अछाम क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन् । यसअघि राष्ट्रियसभा सदस्य थिए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मन्त्री कुँवर अहिले उम्मेदवारी दिएको क्षेत्रबाटै निर्वाचित भएका थिए । कुँवरलाई एमालेका झपटबहादुर बाेहराले कडा चुनाैती दिनेछन् । पूर्वमाओवादी बाेहराले एमालेका वरिष्ठ नेता भीम रावललाई पछि पार्दै टिकट हात पारेका थिए । रावललाई माथ खुवाएका बाेहराले कुँवरलाई पछि पार्न सक्छन् कि सक्दैनन् मंसिर ४ सम्म प्रतीक्षा गर्नैपर्नेछ ।

जनता समाजवादी पार्टीबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका राजेन्द्रप्रसाद श्रेष्ठले काठमाडाैं क्षेत्र नम्बर ७ बाट उम्मेदवारी दिएका छन् । २०७४ साल समानुपातिकबाट संघीय सांसद भएका श्रेष्ठले यसपटक प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् । उनकाे मुख्य प्रतिस्पर्धीमा सत्ता गठबन्धनबाट माओवादीकाे चुनाव चिन्हमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पुत्री मानुषी यमी भट्टराई रहेकी छन् ।

यहाँ एमालेले समेत आफ्नाे उम्मेदवारी दिएकाे छ । एमालेका श्यामकुमार घिमिरे चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै एमालेसँग केही क्षेत्रमा तालमेल गरेकाे राप्रपाबाट ध्रुवविक्रम मल्ल उम्मेदवार हुँदा २०७४ सालमा यस क्षेत्रबाट निर्वाचन जितेका एमाले नेता रामवीर मानन्धरले समेत स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

जसपाबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका मोहम्मद इस्तियाक राईले बाँके क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका छन् । उनी एमालेसँगको गठबन्धनका साझा उम्मेदवार हुन् । राई २०७४ सालको निर्वाचनमा पनि यसै क्षेत्रबाट निर्वाचित भएका थिए । यसपटक राईलाई निर्वाचन जित्न सत्ता गठबन्धन बाधक देखिएकाे छ । सत्ता गठबन्धनबाट कांग्रेसका सुदीपनरसिंह राणा उम्मेदवार छन् ।  सत्ता गठबन्धनसँगै राईलाई चुनाव जित्न राप्रपाका महामन्त्री धवलशमशेर राणा अर्काे बाधक देखिन्छन् ।

जसपाबाटै वन तथा वातावरणमन्त्री रहेका प्रदीप यादवले पर्सा क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका छन् । यहाँ उनका प्रमुख प्रतिस्पर्धी लाेसपाका लक्ष्मणलाल कर्ण उम्मेदवार छन् । कर्णलाई सत्ता गठबन्धनकाे समर्थन रहेकाे छ । कर्ण र यादव दुवै संघीय संसदका पूर्व सदस्य हुन् ।

६ मन्त्री र २ राज्यमन्त्री बनेनन् उम्मेदवार

संघीय मन्त्रिपरिषदका २४ सदस्यमध्ये १६ जना मन्त्रीले उम्मेदवारी दिए पनि आठ जना उम्मेदवार बनेनन् ।

जसमा कांग्रेसबाट महिला बालबालिकामन्त्री बनेकी उमा रेग्मी र माओवादी केन्द्रबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बनेकी शशि श्रेष्ठ र एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री भएको भवानीप्रसाद खापुङ उम्मेदवार बनेन् ।

जसपाका कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमारसिंह यादव भने राष्ट्रियसभा सदस्य हुन् ।

गैरसांसदबाट मन्त्री बनेका कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा पनि उम्मेदवार बनेनन् । माओवादी केन्द्रबाट शिक्षा राज्यमन्त्री बोधमायाकुमारी यादव र एकीकृत समाजवादीका स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीले पनि चुनावी प्रतिस्पर्धामा उत्रिएनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *