चर्चित स्वतन्त्र र प्रमुख दलका बागी- कसले कुन चिन्ह पाए ? – Nepal Press

चर्चित स्वतन्त्र र प्रमुख दलका बागी- कसले कुन चिन्ह पाए ?

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरेको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारहरुलाई चुवान चिन्ह प्रदान गरेको हो ।

नेकपा एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाले त्रिभुज चिन्ह पाएका छन् । एमाले छाडेर रुपन्देही–१ स्वतन्त्र उम्मेदवारी दिएका भुसाललाई सत्ता गठबन्धनले समर्थन गरेको छ ।

नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्न डडेल्धुरा पुगेका स्वतन्त्र उम्मेदवार सागर ढकालले चुनाव चिन्ह ‘सिरिञ्ज’ पाएका छन् ।

एमालेबाट टिकट वितरणमा असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह चापाकल(ट्युब वेल) चिन्ह पाएका छन् । उनले रौतहट ३ बाट उम्मेदवारी दिएका छन् ।

यस्तै, तनहुँ १ मा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी दिएका नेता गोविन्दराज जोशीले कैँची चुनाव चिन्ह पाएका छन् । उनलाई २०७४ को निर्वाचनमा कांग्रेसले कारवाही गरेको थियो ।

चितवन ३ मा गठबन्धनको विरोधमा स्वतन्त्र उम्मेदवारी दिएका दिनेश कोइरालाले माछा चुनाव चिन्ह पाएका छन् भने चतवन ३ मै स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले सूर्यमुखी फूल चुनाव चिन्ह पाएका छन् ।

काठमाडौंमा ५ मा स्वतन्त्र उम्मेदवरी दिएका रञ्जु दर्शन सेल रोटी चुनाव चिन्ह पाएकी छन्। उनी ०७४ सालको निर्वाचनमा काठमाडौं महानगरपालिका प्रमुखमा पराजित भएकी थिइन् ।

यस्तै, झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उम्मेदवारी दिएका युग पाठकले पुलती चुनाव चिन्ह पाएका छन् । झापा २ मा स्वतन्त्र उठेका अधिवक्ता स्वागत नेपालले भने गोर्खालीको निशानी क्रस खुकुरी चुनाव चिह्न पाएका छन् । यस्तै, झापा ४ मा स्वतन्त्र उम्मेदवारी दिएकी खुश्बु ओलीले क्रस खुकुरी चुनाव चिन्ह पाएकी छन् ।

उता सर्लाही ४ बाट उम्मेदवारी दर्ता गराएका अमरेश कुमार सिंहले माछा चिन्ह प्राप्त गरेका छन् । त्यस्तै, सुनसरी १ बाट चुनावी मैदानमा उत्रिएका मनोज मेन्यांबोले खरायो चुनाव चिन्ह पाएका छन् ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची २९ बाट प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवारलाई निर्वाचन चिन्ह दिएको निर्वाचन आयोगका प्रवक्ता एवम् सहसचिव शालिग्राम शर्माले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार सोहि निर्देशिकाको अनुसूची ३० बाट प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवारलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन चिन्ह उपलब्ध गराएको हो ।


प्रतिक्रिया

One thought on “चर्चित स्वतन्त्र र प्रमुख दलका बागी- कसले कुन चिन्ह पाए ?

  1. पुतली ले बत्ति त निभाउन सक्दैन, बरु आफै जलेर मर्छ। बरा सूर्यलाई के नाप्न सक्नू? यसो सूर्य हुदा डाडापाखा चाही डुल्छ! दशगजामा उभिएर नेपालतिर ढुङ्गा हान्ने घुन-पुतली!

Leave a Reply

Your email address will not be published. Required fields are marked *