रघुवीरले शीर्ष नेतालाई भनिसकेका थिए- असोज २२ पछि प्रभु साह एमालेमा हुँदैनन् – Nepal Press

रघुवीरले शीर्ष नेतालाई भनिसकेका थिए- असोज २२ पछि प्रभु साह एमालेमा हुँदैनन्

संदिग्ध गतिविधिको छनक ओलीले पाइसकेका थिए, धन्न रौतहटको मात्र टिकट थमाए

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाबाट पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा प्रभु साहका संदिग्ध गतिविधिबारे पार्टीमा पहिले नै जानकारी आएको खुलासा गरे । प्रभुका संदिग्ध गतिविधि के थिए भनेर उनले खुलाएका छैनन् । तर, प्रभुको एमालेलाई मधेसमा खाली गराउने षड्यन्त्र भने धन्न सफल हुन नपाएको बताएका छन् ।

आफूसहित रौतहटका चारवटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभाको टिकट लिएर गएका साहले अन्तिममा स्वतन्त्र उम्मेदवारी दिएपछि एमालेमा खैलाबैला मच्चिएको छ । साहले टिकट नदिएपछि एमालेका उम्मेदवारहरुलाई अन्तिममा केन्द्रीय कार्यालयबाट अर्को टिकट पठाइएको थियो ।

साहले एमालेका उम्मेदवार खडा भएका ठाउँमा बागी दिएका छैनन् । तर, आफूले पाएको टिकटसमेत छाडेर आफूनिकटले पाएका तथा जसपाले पाएका ठाउँमा स्वतन्त्र उम्मेदवारी हालेका छन् । मधेसका अन्य एमालेका बागीलाई पनि उनले आफ्नै समूहका भनेका छन् ।

संदिग्ध गतिविधि र महासेठ निवासको सम्झौता

के प्रभु साह संदिग्ध गतिविधिमा थिए ? यसबारेमा अझै एमालेले खुलाइसकेको छैन । तर, पार्टीका केही नेताहरुबीचको अनौपचारिक छलफलका क्रममा एमाले सचिव तथा मधेस प्रदेश इन्चार्ज रघुवीर महासेठले केही दिनअघि भनेका रहेछन्– हेर्दै जानुस्, प्रभु साह असोज २२ गतेपछि एमालेमा रहँदैनन् । तपाईंहरुले मलाई विश्वास गर्नुहुन्न । तर, हेर्दै जानुस् ।

नभन्दै प्रभु साहले त्यस्तै गरे । उनी अध्यक्ष केपी ओलीसँग असोज २१ सम्म पनि सम्पर्कमै थिए । उनले रौतहटलगायत मधेसका केही जिल्लामा विशेषगरी आफूले ल्याएका समूहको टिकट एकमुष्ट रुपमा आफूलाई जिम्मा लगाउन आग्रह गरेका थिए भने जसपासँगको तालमेलमा असहमति जनाएका थिए ।

ओलीले प्रभु साहले भने जसरी मधेसको अरु जिल्लाको टिकट त उनलाई जिम्मा लगाएनन् । तर, रौतहटका एमालेले पाएका सीटको टिकट थमाएर पठाए । उनले जसपा तालमेलको औचित्य पुष्टि गर्न पनि खोजे । तर, प्रभुको बारेमा केही सूचना ओलीलाई आइसकेको थियो ।

ओली निकट स्रोतले भन्यो, ‘प्रभु साह संदिग्ध र आपराधिक मनोवृत्तिको मान्छे हो भन्ने थाहै थियो । तर पनि मधेसमा माओवादीको एउटा खम्बा भएको र पार्टी कमजोर भएको ठाउँमा उसलाई प्रयोग हामीले पनि गर्न खोजेको हो । पछिल्लो समय प्रचण्ड र बाबुराम एकै ठाउँमा पुगेपछि प्रभु साह उनीहरुसँग सम्पर्कमा पुगेको हामीलाई जानकारी आइसकेको थियो ।’

त्यसो त प्रभु साह पछिल्लो समय भड्किनुको अर्को कारण जसपासँगको तालमेल हो । उनी जसपासँग तालमेलको विपक्षमा थिए । त्योभन्दा पनि बढी चाहिँ रघुवीर महासेठ हाबी भएकोमा उनको रिस हो । महासेठ निवासमा एमाले र जसपाबीच तालमेलको सहमति भएपछि एमालेमा आफ्नो भूमिका उनले कमजोर देखे र रघुवीर बलियो बनेको बुझेपछि उनी बाटो तताउनेतिर लागे ।

प्रचण्ड-बाबुराम-माधव र प्रभु साह फ्याक्टर

एमाले नेताहरुको बुझाइमा प्रभु साह सधैं बाबुरामकै मान्छे हुन् । बाबुरामले माओवादी छाडेपछि भने उनी केही समय कतै लागेनन् । तर, बाबुरामको पार्टीको भर नहुने भएकाले उनले माओवादी छाड्न चाहेनन् । नेकपा विभाजनको वेला उनले कहिले प्रचण्ड गुट र कहिले केपी ओली गुटमा ओहोरदोहोर गरिरहे ।

खासमा उनी त्यसबेला प्रचण्ड छाडेर ओलीतिर लाग्नुमा राजनीतिक कारणभन्दा पनि रौतहटमा माधव नेपालसँगको व्यक्तिगत रिसइबीमात्र थियो । नेकपाकालमा उनले रौतहटमा एकलौटी गर्न खोज्दा माधव नेपालले प्रचण्डमार्फत त्यसो हुन दिएनन् । माधव नेपालको साथ लिएर ओली ढाल्न हिँडेका प्रचण्डलाई प्रभु साहका लागि माधव चिढ्याउन सम्भव थिएन ।

त्यसैले अन्तिममा नेकपा विभाजनकाल अर्थात संसद विघटनपछि प्रचण्ड माधव समूहकै बैठकमा भाग लिएका साह माधव नेपाल दोस्रो अध्यक्ष बनेपछि ओलीतिर लागे । त्यसमा उनको तत्कालको अर्को स्वार्थ भनेको मन्त्री बन्ने थियो । मन्त्रीबाट हटेपछि र संसद पुनःस्थापनापछि साह माओवादीतिरै जान खोजेका थिए । तर, प्रचण्डले खासै भाउ दिएनन् ।

माओवादीमा पनि उनको मात्रिका यादवलगायतका नेताहरुसँग चरम अन्तरविरोध रहेकाले एमालेमै बलियो बन्न आफ्नै शक्ति बनाउनेतिर लागे । उनको पेलान र निरंकुश शैलीका कारण रौतहटका अधिकांश एमाले माधव नेपालतिर लागे । प्रभु साहकै कारण रौतहटमा माधव नेपाल बलियो बनेको एमाले नेताहरुको विश्लेषण छ ।

पछिल्लो समय प्रभु साह पार्टीको संस्थागत गतिविधिमा भन्दा व्यक्तिगत रुपमा आफू बलियो बन्नेमा मात्र केन्द्रित थिए । उनले मधेसको अध्यक्ष मागेका थिए । तर, ओलीले दिएनन् । मधेसको अध्यक्ष बनेर रौतहटजस्तै प्रदेशभरि नै आफ्नो शक्ति निर्माण गर्ने र एमाले कमजोर बनाउने खेल बुझेपछि रघुवीर महासेठहरुले अ‍ोलीलाई त्यसबारे अवगत गराए ।

माओवादीबाटै एमाले बनेकी ज्वालाकुमारी साहले समेत प्रभुको विगत र आगतबारे सबै ब्रिफिङ गरेपछि ओलीले पनि प्रभुलाई दूरीमै राख्न थाले । ज्वालाकुमारीलाई बरु प्रदेश अध्यक्ष बनाए । त्यसको प्रभुले विरोध गरेर समानान्तर जिल्ला कमिटीहरुसमेत गठन गरे । महाधिवेशनपछि त्यो विवाद एक हदसम्म हल भयो ।

पछिल्लो पटक जनकपुर, सिरहालगायतका जिल्ला ठूला आमसभा र पार्टी प्रवेश हुँदा प्रभु साह कतै देखिएनन् । बरु उनी रौतहटका विभिन्न दलका नेताहरु विशेषगरी स्थानीय तह चुनावमा हारेकाहरुलाई बोक्दै बालकोट गएर पार्टी प्रवेश गराउँदै थिए । त्यसको एकमात्र उद्देश्य आफू चुनाव जित्ने र आफू बलियो बन्नेबाहेक एमाले बनाउने थिएन भन्ने नेताहरुले बुझेका थिए ।

अन्तिममा जसपासँग एमालेको तालमेल भएपछि कतिपय क्षेत्र जसपालाई छाड्नुपर्ने भयो । त्यसो गर्दा प्रभु साहले टिकटको आश्वासन दिएर एमाले प्रवेश गराएकाहरु भड्किने भएपछि उनले एमालेलाई खाली गराउने खेल खेलेको सूचना अन्तिममा मात्र पार्टी नेताहरुले पाए ।

एक नेताले भने, ‘पार्टीको टिकट लिएर गएका प्रभु साहसँग एमालेले तोकेका उम्मेवारहरुले मनोनयनका लागि टिकट माग्न थालेपछि उनी पख्नुस् भन्न थालेछन् । उम्मेदवारहरुले प्रभु साहले टिकट दिएनन्, यिनको नियत ठीक छैन भन्ने खबर माथि गरे । हामीले पख्नुस् स्थायी कमिटी सदस्य हुन्, त्यस्तो कसरी गर्न सक्छन् भन्यौं । तर, अन्तिममा ५ बज्न लाग्दा पनि उनले टिकट नदिएर स्वतन्त्र उम्मेदवार उठाउन थालेपछि केन्द्रीय कार्यालयबाट अर्को टिकट ह्वाट्एपमा पठाइयो र आधिकारिक टिकट निर्वाचन आयोगमा पठाएर दर्ता गरियो ।’

जबकि पार्टी अध्यक्ष ओलीसहितका नेताहरुसँग साहले आफू पार्टीकै टिकटबाट चुनाव लड्ने जानकारी गराइरहेका थिए । अन्ततः प्रभुले एमालेको टिकट च्यातेर स्वतन्त्र उम्मेदवारी दिए र आफू निकटहरुलाई पनि स्वतन्त्र उम्मेदवार बनाए । यसपटक उनले रौतहटमा आफ्नो शक्ति परीक्षण गर्न खोजेका छन् ।

रौतहटमा पार्टीभन्दा शक्तिशाली

रौतहटमा प्रभु साह आफैंमा एउटा शक्ति हुन् । उनले एकपटक स्थानीय चुनावमा श्रीमती र पीएलाई मेयर जिताएका थिए । दोस्रोपटक पनि श्रीमतीले मेयर जितेकी छन् भने पीए हारे । प्रभु साहले आफू एमालेमा नरहने हो भने रौतहटमा एमाले नै नरहने बताउने गरेका छन् ।

हुन पनि जो वास्तविक एमाले थिए, तीमध्ये धेरैजसो उनकै कारण नेकपा एसमा लागिसकेका छन् । जो बाँकी छन् कि त प्रभु साहसँगै एमाले भएकाहरु छन् कि पछि प्रवेश गरेकाहरु छन् । प्रभु साह २०६४ सालदेखि लगातार रौतहटमा चुनाव जित्ने नेता हुन् र उनको व्यक्तिगत पकड छ । दलबाहिर रहँदा पनि उनको त्यो पकड कायमै रहन्छ कि रहँदैन त्यसका लागि भने अब कम्तिमा ३९ दिन पर्खिनुपर्छ ।

यदि प्रभु स्वतन्त्र उठेर पनि जिते र आफ्नो टीम जिताए भने उनी एउटा शक्तिका रुपमा रहिरहनेछन् । अब एमालेबाट भने उनको राजनीति के हुन्छ ? पार्टीले दिएको टिकट नलिएर स्वतन्त्र उम्मेदवार उठ्ने र उठाउने कार्य गरेपछि स्वतः एमाले रहेनन् । उनीसँगै केन्द्रीय सदस्य कुन्दन कुशवाह, उपेन्द्र साहलगायतका नेता पनि स्वतन्त्र उम्मेदवार बनेका छन् ।

एमालेले अहिले चुनावअघि नै उनीमाथि कुनै कारबाही भने नगर्ने भएको छ । रौतहटमा एमालेले जसपालाई प्रतिनिधिसभाको क्षेत्र नम्बर २ र प्रदेशसभातर्फ १ (ख), २ (ख), ३ (क) र ४ (क) मा उम्मेदवार छाडेको छ । ती सबै सीटमा साहले स्वतन्त्र उम्मेदवार उठाए पनि एमालेले भने जसपालाई उनीहरु पार्टीका उम्मेदवार नभएको प्रस्ट पारिसकेको मधेस इन्चार्ज महासेठले बताए ।


प्रतिक्रिया

One thought on “रघुवीरले शीर्ष नेतालाई भनिसकेका थिए- असोज २२ पछि प्रभु साह एमालेमा हुँदैनन्

  1. स्वतन्त्र उठेकाहरूलाई उम्मेदवारी फिर्ता गराउन रघुविरले पहल गर्दा कतिपयले माने भने राम्रै हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर