सिन्धुमा देखिएन कसैमा उत्साह- गठबन्धनका दुई दल सँगै हिँड्न सकेनन्, नेकपा एस बाहिरै – Nepal Press

सिन्धुमा देखिएन कसैमा उत्साह- गठबन्धनका दुई दल सँगै हिँड्न सकेनन्, नेकपा एस बाहिरै

सिन्धुपाल्चोक । सत्ता गठबन्धनका प्रमुख दल नेपाली कांग्रेस, माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष नेकपा एमाले लगायत सिन्धुपाल्चोकमा साना ठुला राजनीतिक दल देखि स्वतन्त्र उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ताका क्रममा विगतको जस्तो कुनै पनि दलका नेता कार्यकर्ता मात्रै होइन उम्मेदवारहरु समेत उत्साही देखिएनन् ।

सत्ता गठबन्धनको प्रमुख मध्येको नेपाली कांग्रेसको अन्तिम समयमा आएर उम्मेदवारमा हेरफेर भएको थियो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले केन्द्रीय समितिको बैठकमा नै आफ्नो क्षेत्र छाड्नु परे विद्रोह गर्ने धम्की दिएपछि सिन्धुपाल्चोकको राजनीति गरम भएको थियो । बस्नेतले विद्रोह गरेनन् बरु सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराएका छन् ।

बस्नेतले अन्तिम समयमा आएर पार्टीबाट टिकट लिएर मनोनयनका लागि सदरमुकाम चौतारा आएका थिए । बस्नेतले प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा (क)मा आफूनिकट मानकुमारी खडका(मसिना) र प्रतिनिधि सभा क्षेत्र नम्बर २ (ख)मा आफूनिकट कृष्णकुमार तामाङ समीर लाई उम्मेदवार बनाउन सफल भएका थिए ।

उम्मेदवार मनोनयनमा गठबन्धन मध्येको एक माओवादी केन्द्रले संयुक्त रूपमा नाराजुलस सहित कांग्रेसलाई पनि सँगै लैजान खोजेको थियो तर कांग्रेसका कोही पनि नेता कार्यकर्ताहरू संयुक्त जुलुसमा सहभागी नभएपछि माओवादी एक्लै मनोनयन दर्ताका लागि निर्वाचन कार्यालयमा पुगेको थियो ।

माओवादीको बाजागाजा सहित झण्डा ब्यानर भए पनि कांग्रेसको झण्डा ब्यानर केही पनि थिएन । प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा कांग्रेसका केही झण्डा र कार्यकर्ताहरू संयुक्त जुलुसमा सहभागी भएका थिए । प्रतिनिधि सभा क्षेत्र नम्बर २ का गठबन्धनका उम्मेदवार मोहनबहादुर बस्नेत डेङगुका कारण बिरामी भएपछि मनोनयनका लागि निर्वाचन कार्यालयसम्म गाडीमा नै पुगेका थिए ।

प्रतिनिधि सभा क्षेत्र नम्बर १ को मनोनयन दर्ताका लागि कांग्रेस नेताहरू हरिशरण श्रेष्ठ,विष्णु खत्री लगायत केही सीमित नेताहरू मात्रै निर्वाचन कार्यालयमा पुगेका थिए । गठबन्धनतर्फ क्षेत्र नम्बर १ का उम्मेदवार माधव सापकोटाको प्रस्तावक समर्थक कांग्रेस नेताहरू बसेका छन् ।

निर्वाचन सुरक्षा समितिले मनोनयन दर्ताका क्रममा २५ जना भन्दा बढी सहभागी गराउन नदिएपछि थोरै संख्यामा दलका नेता कार्यकर्ताहरू निर्वाचन कार्यालयमा मनोनयनका लागि पुगेका थिए ।

गठबन्धनको तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा माओवादीको तर्फबाट माधव सापकोटा ‘सुबोध’ ले उम्मेदवारी दर्ता गराएका छन्,भने प्रदेश सभा (क)मा कांग्रेसको तर्फबाट मानकुमारी खडका (मसिना)ले उम्मेदवारी दर्ता गराएकी छन् । त्यस्तै प्रदेश सभा (ख)मा माओवादीको तर्फबाट सरल सहयात्री पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभा (क)मा माओवादीको तर्फबाट युवराज दुलाल ‘शरद’ ले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै प्रदेश सभा (ख)मा कृष्णकुमार तामाङ समीर ले उम्मेदवारी दर्ता गराएका छन् ।

माओवादीले उम्मेदवारी दर्ताका लागि गाउँ गाउँबाट नेता कार्यकर्ताहरूलाई बाजागाजा सहित सदरमुकाम उतारे पनि कांग्रेसका भने दुवै क्षेत्रबाट सीमित नेता कार्यकर्ताहरू मात्रै उम्मेदवारी मनोनयनका लागि सदरमुकाम चौतारामा जम्मा भएका थिए । क्षेत्र छाड्नु पर्दा कांग्रेसका नेता कार्यकर्ताहरू निराश देखिएका थिए भने माओवादीका नेता कार्यकर्ताहरू उत्साही नै थिए ।

एमालेमा पनि देखिएन उत्साह

प्रमुख प्रतिपक्ष नेकपा एमालेमा केन्द्रले दुई दिन अघि नै प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवारहरु फाइनल गरे पनि उम्मेदवारी मनोनयनको एक घण्टा अगाडी प्रतिनिधि सभा क्षेत्र नम्बर १ प्रदेश सभा(क)मा उम्मेदवारी हेरफेर गरिएको थियो । पार्टी केन्द्रले एमाले जिल्ला अध्यक्ष समेत रहेका कमल नेपाललाई उम्मेदवार बनाए पनि उनी तयार नभएपछि एमाले नेता युद्धविक्रम तामाङ (डिबी)लाई उम्मेदवार बनाएको थियो ।

स्थानीय निर्वाचनमा ज्यान मार्ने उद्योगमा प्रहरीले उनलाई समेत अभियुक्त बनाएर मुद्दा दर्ता गरेपछि तामाङले पार्टी जिल्ला अध्यक्ष कमल नेपाल मार्फत वारेसबाट उम्मेदवारी दर्ता गराएका थिए ।

प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेकपा एमालेको तर्फबाट पार्टी केन्द्रीय सदस्य सरेश नेपालले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेश सभा (क)मा युद्धविक्रम तामाङ(डिबी) र प्रदेश सभा (ख)मा होमनारयण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेश सभा (क)मा अमानसिं तामाङ र प्रदेश सभा(ख)मा हस्त पण्डित ले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताका लागि एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा,पोलिटब्युरो सदस्य अरुण नेपाल लगायतका नेताहरू पुगेका थिए ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि दुवै क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नारनजंग पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेश सभा (क)मा निर्मला श्रेष्ठ र प्रदेश सभा (ख)मा दीपक थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

क्षेत्र नम्बर २ मा नरसिंह श्रेष्ठ (गोपाल) ले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेश सभा (क)मा बाबुराम खडका र प्रदेश सभा(ख)मा गोविन्द गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । जनता समाजवादी पार्टी(जसपा)ले पनि दुवै क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । क्षेत्र नम्बर १ मा डिबी सिं लामा र क्षेत्र नम्बर २ मा हर्कबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेसका तीन जना बागी

नेपाली कांग्रेसका तीन जना नेताहरूले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा भक्त भण्डारी र रामकुमार जिसीले उम्मेदवारी दर्ता गराएका छन् भने क्षेत्र नम्बर २ मा कांग्रेस नेता बद्री चौलागाईले उम्मेदवारी दर्ता गराएका छन् ।

क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गराएका भण्डारी स्थानीय निर्वाचनमा एमाले छाडेर कांग्रेसमा प्रवेश गरेका स्थानीय नेता हुन् भने जिसी सुनकोसी गाउँपालिका २ का इकाई सभापति हुन् । स्थानीय निर्वाचनमा सुनकोसी गाउँपालिकामा नेकपा एमाले र माओवादी बिच गठबन्धन भएको थियो ।

समाजवादी सहभागी नै भएन

नेकपा एकीकृत समाजवादीका कोही पनि नेता कार्यकर्ताहरू मनोनयनका क्रममा सहभागी भएनन् । प्रतिनिधि सभा र प्रदेश सभामा आफ्ना उम्मेदवारहरु नभएपछि समाजवादीका कोही पनि नेता कार्यकर्ताहरू उम्मेदवार मनोनयनमा सहभागी नभएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *