एमाले र गठबन्धनसहित सबै दलको बन्दसूची मिलेन, सच्याएर पठाउन आयोगको पत्राचार (सूचीसहित) – Nepal Press

एमाले र गठबन्धनसहित सबै दलको बन्दसूची मिलेन, सच्याएर पठाउन आयोगको पत्राचार (सूचीसहित)

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि ४८ वटै दलले पेस गरेको बन्दसूची नमिलेको निर्वाचन आयोगले जनाएको छ । सबै राजनीतिक दलले पेस गरेको बन्दसूची कानूनी व्यवस्थाअनुसार नमिलेको भन्दै आयोगले दलहरुलाई कानूनी व्यवस्थाअनुसार सच्याउन पत्राचार गरेको छ ।

यस्तै, सात वटै प्रदेशमा २३७ दलले बन्दसूची पेस गरेकोमा २१३ दलले पेस गरेको बन्दसूची कानूनअनुसार नमिलेकाले पत्राचार गरिएको समानुपातिक निर्वाचन प्रणालीका प्रवक्ता तथा आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार प्रदेश एकमा ३३ दल, मधेश प्रदेशमा ३४ दल, वागमती प्रदेशमा ३७ दल, गण्डकी प्रदेशका २३ दल, लुम्बिनी प्रदेशका ३० दल, कर्णाली प्रदेशका २७ दल र सुदूरपश्चिम प्रदेशका २९ दलले पेस गरेको बन्दसूची नमिलेको हो ।

आयोगका अनुसार प्रदेश एकमा दर्ता भएकोमा ३ दल, मधेश प्रदेशमा २ दल, बागमती प्रदेशमा ७ दल, गण्डकी प्रदेशमा ८ दल, लुम्बिनीमा २ दल, कर्णालीमा एक दल र सुदूरपश्चिममा ५ दलले मात्रै बन्दसूची कानून अनुसार पेस गरेका छन् ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यतालिकाअनुसार असोज १० गते अर्थात आजदेखि असोज १६ गतेसम्म राजनीतिक दलले उम्मेदवारको बन्दसूची संशोधन गरेर पेस गर्ने कार्यतालिका छ । यस्तै, १७ गते उम्मेदवारको बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम उम्मेदवारको बन्दसूचीबाट फिर्ता लिन चाहेमा निवेदन दिनुपर्नेछ । १७ गते नै उम्मेदवारको बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएको जानकारी सम्बन्धित राजनीतिक दललाई दिनुपनेछ ।

यस्तै, असोज २० गतेदेखि २२ गतेसम्म उम्मेदवारले नाम फिर्ता लिएको कारण रिक्त हुन आएको स्थानमा सोही समूहको अर्को उम्मेदवारको मनोनयन गरी मनोनित उम्मेदवारको नामावली सम्बन्धित राजनीतिक दलले आयोगमा पेश गर्नुपर्नेछ । २२ गते नै आयोगले उम्मेदवारको बन्दसूचीको सूचना प्रकाशित गर्नेछ ।

असोज २३ गतेदेखि २९ गतेसम्म उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको उम्मेदवारको योग्यता सम्बन्धमा दावी विरोध गर्न निवेदन दिनुपर्नेछ । असोज ३० गतेदेखि कात्तिक ५ गतेसम्म उम्मेदवारको बन्दसूचीमा समावेश उम्मेदवारको योग्यता सम्बन्धी दाबी विरोधको निवेदनमाथि जाँचबुझ र निर्णय गरिनेछ । कात्तिक ८ गते उम्मेदवारको बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन हुने र कात्तिक ९ गते उम्मेदवारको बन्दसूची अन्तिम रुपमा प्रकाशन भइ मंसिर ४ गते निर्वाचन हुनेछ ।

राजनीतिक दलले बुझाएको बन्दसूचीमा कुनैको समावेशी समूह नमिलेको, कुनैको बन्दसूचीमा परेका उम्मेदवारको मञ्जुरीमा पेस नभएको, कुनैमा मतदाता नामावलीको नाम र बन्दसूचीमा पेस भएको नाम नमिलेको र कुनै दलको बन्दसूची पेस गरेका उम्मेदवारको स्वघोषणा पेस नभएको आयोगले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर