नेसन्स लिगमा फ्रान्सको पहिलो जित, क्रोएसिया र बेल्जियम पनि विजयी – Nepal Press

नेसन्स लिगमा फ्रान्सको पहिलो जित, क्रोएसिया र बेल्जियम पनि विजयी

काठमाडौं । यूईएफए नेसन्स लिग-ए फुटबलअन्तर्गत बिहीबार राति भएको खेलमा फ्रान्स, क्रोएसिया र बेल्जियमले जित हात पारेका छन् । घरेलु मैदानमा फ्रान्सले अस्ट्रियालाई २-०, क्रोएसियाले डेनमार्कलाई २-१ र बेल्जियमले पनि वेल्सलाई २-१ गोलले हरायो ।

फ्रान्सको जितमा केलियन एमबाप्पे र ओलिभर जिरोडले गोल गरे । जिरोड फ्रान्सका लागि गोल गर्ने सबैभन्दा पाका खेलाडी पनि बनेका छन् । उनले ३५ वर्ष ३ सय ५७ दिनको उमेरमा गोल गरेका हुन् । जिरोड फ्रान्सका लागि सर्वकालीन सर्वाधिक गोल गर्ने थिएरी हेनरीको कीर्तिमान बराबरी गर्नबाट दुई गोलले मात्र पछाडि छन् । हेनरीले ५१ गोल गरेका थिए ।

समूह-१ मा रहेको फ्रान्सले पहिलो जित हात पारेको हो । पाँच खेलबाट पाँच अंक भएको फ्रान्स तेस्रो स्थानमा रहेको छ । अघिल्ला चार खेलमा फ्रान्सले दुई हार र दुई बराबरीको नतिजा निकालेको थियो ।

यो समूहमा पाँच खेलबाट १० अंक जोडेको क्रोएसिया शीर्षस्थानमा छ । डेनमार्कमाथि जित हात पार्नेक्रममा क्रोएसियाका बोर्न सोसा र लोभ्रो मायरले गोल गरे । डेनमार्कले ७७ औं मिनेटमा खेल बराबरीमा ल्याएको भएपनि मायरले २ मिनेटलगत्तै गोल गरेर घरेलु टोलीलाई फेरि अग्रता दिलाएका थिए । सुरूका दुई खेलमा हार र बराबरीको नतिजा निकालेको क्रोएसिया त्यसयता लगातार तेस्रो खेलमा विजयी भएको हो ।

यता वेल्समाथि बेल्जियमलाई जित दिलाउन केभिन डे ब्रुना र मिची बात्सुयाईले गोल गरे । खेलमा २ गोलले पछाडि परेको अवस्थामा वेल्सले एक गोल फर्काएको थियो ।

नेसन्स लिग-ए कै अर्को खेलमा नेदरल्यान्ड्सले पोल्यान्डलाई २-० ले हरायो । पोल्यान्डको मैदानमा भएको खेलमा नेदरल्यान्ड्सका कोडी गाक्पो र स्टिभन बार्गविनले गोल गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर