क्यामेरामेन कमरेड ! – Nepal Press

क्यामेरामेन कमरेड !

खास नाम देवेन्द्र घिमिरे । पार्टीमा भूमिगत हुनुअघिको नाम नास्तिक । साहित्यमा कपिलबन्धु भनेर समेत चिनिन्छ उनलाई । २० वर्ष भूमिगत भएर २०४७ सालको बैशाख १३ गते बुटवल खुलामञ्चबाट मोदनाथ प्रश्रित, जीवराज आश्रितलगायतसँगै खुला भएका थिए उनी पनि । २०७२ सालदेखि उनी पार्टीमा सदस्य छैनन् । उमेरले ७० नाघेपछि पार्टीमा नरहने सोचका साथ नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलमार्फत पार्टी अध्यक्ष केपी ओलीलाई राजीनामा पठाएको सुनाउँदै थिए ।

विद्यार्थी राजनीतिदेखि सक्रिय उनले जेलनेल भोगे । अभाव खेपे । ज्यानको बाजी राखेर पञ्चायती व्यवस्था गुल्टाउन सक्दो प्रयास गरे । गणतन्त्र ल्याउने उनीजस्ता धेरै कमरेडहरुको योगदानलाई नजरअन्दाज गर्नुहुँदैन । पार्टीको वर्तमान नेतृत्वसँग उनले धेरै संगत गरे । उनका समकक्षीहरु नै यतिबेला पार्टीका रैथाने नेता बनेका छन् ।

भूमिगत रहनु, पार्टीको जिम्मेवारी पूरा गर्नु, पार्टीको निर्देशन पालना गरी कम्युनिष्ट चरित्रमा रहेर पार्टीको छवि स्वस्थ र स्वच्छ राख्नु उनीहरुको उच्च नैतिक दायित्व हुने गथ्र्यो उतिबेला । पार्टी तत्कालीन समयका लागि अभिभावक नै थियो । अभिभावक बनेर कार्यकर्ता, नेता र समर्थकहरुलाई सुरक्षा दिने, अगाडि बढ्न प्रेरित गर्ने तत्कालीन समयमा पार्टीका मुख्य काम नै मानिन्थ्यो । सर्वस्व नै पार्टी हुने गर्थ्यो ।

देवेन्द्र नास्तिक राजनीतिमा किन लागे ? उनलाई कम्युनिष्ट बन्नु रहर थियो वा बाध्यता ? कि राजनीति धान्नुपर्ने जिम्मेवारी थियो ? उनको पारिवारिक पृष्ठभूमि राजनीतिक संस्कारयुक्त थियो त ? धेरैलाई जिज्ञासा लाग्नसक्छ । यही आलेखमा यी कुराहरु पुष्टि हुँदै जानेछन् ।

भूमिगत रहनु, पार्टीको जिम्मेवारी पूरा गर्नु, पार्टीको निर्देशन पालना गरी कम्युनिष्ट चरित्रमा रहेर पार्टीको छवि स्वस्थ र स्वच्छ राख्नु उनीहरुको उच्च नैतिक दायित्व हुने गर्थ्याे उतिबेला ।

उनका बाबा २०१५ सालतिर कांग्रेसप्रति आस्था राख्थे । देवेन्द्र १२ वर्षका थिए त्यतिबेला । सोही समयमै हो देवेन्द्रले पार्टीको नाम सुनेको । २०१५ सालमा डाक्टर केआई सिंहको पार्टीको चुनाव चिन्ह धानको बाला रहेछ । उनीहरुले तयार पारेको ‘धानको बाला झुल्यो हजूर देशै रमाइलो’ गीतले मतदाताहरुलाई प्रभाव पारेको अनुभव देवेन्द्रले सुनाउँदै थिए ।

नेपाल कम्युनिष्ट पार्टीको चुनाव चिन्ह भने तीन घोगा मकै र हँसिया थियो । रुपन्देहीबाट त्यतिवेला कम्युनिष्ट पार्टीका उम्मेदवार रामनारायण यादव र लालसिंह भण्डारी थिए । देशभरबाट कम्युनिष्टले चार सीट जितेको थियो ।

जीवराज आश्रितको जीवनकथामा आधारित जिउँदा जीवराजमा उमेरअनुसारका धेरै फोटोहरु प्रयोग भएका छन् । त्यो कसरी र कसले खिचेका फोटोहरु हुन् भन्ने धेरैलाई जिज्ञासा लाग्यो । ती सबै फोटो खिच्ने मान्छे अरु कोही थिएनन्, कमरेड देवेन्द्र नै थिए । उनले बक्सवाला, सानो क्यामेरा चलाउँदा रहेछन् त्यतिबेला । रिल धुन बुटवलको केआर फोटोमा दिँदा रहेछन् ।

त्यतिवेला एउटा रिलमा १२ स्नेप फोटो खिचिनेरहेछ । धुलाई खर्च दुई-तीन रुपैयाँ र रिलको मूल्य करिब पाँच रुपैयाँ पर्दोरहेछ । पछिपछि उनी आफैंले रिल धुन सिकेका रहेछन् । प्रायः उनले दोस्रो हाते (सेकेण्ड ह्याण्ड) क्यामेरा किन्दा रहेछन् । ३०/३५ रुपैयाँमा पाइने रहेछ । नयाँ किन्दा डेढ सय जति पर्दोरहेछ । घरबाट खाजा खान दिएको खर्च जोगाएर उनले क्यामेरा किनेका रहेछन् ।

पुष्पलाल, जीवराज, मोदनाथ, मदन भण्डारी, मनमोहन अधिकारी, माधव नेपाल, झलनाथ खनाल, वामदेव, सहाना, सीपी मैनाली, केपी ओलीसँग उनले खिचेका भूमिगतकालीन फोटोहरु इतिहास बनेर उनकै ल्यापटप र एल्बममा अझै पनि संगृहीत छन् ।

२०२४ सालमा एसएलसी गरेका नास्तिकले मणिग्रामको शान्ति नमुनाबाट प्रारम्भिक शिक्षा थालेका रहेछन् । उनी बुटवलको बुटवल हाइस्कूलमा कक्षा ७ पढ्न गएका थिए । सोही स्कूल पढ्दादेखि नै उनले क्यामेराको प्रयोग गर्न थालेका रहेछन् । उनी क्यामेराको सौखिन रहेछन् । पुष्पलाल, जीवराज, मोदनाथ, मदन भण्डारी, मनमोहन अधिकारी, माधव नेपाल, झलनाथ खनाल, वामदेव, सहाना, सीपी मैनाली, केपी ओलीसँग उनले खिचेका भूमिगतकालीन फोटोहरु इतिहास बनेर उनकै ल्यापटप र एल्बममा अझै पनि संगृहीत छन् ।

देवेन्द्रलाई उनका परिवार राजनीतिमा लागेर वा उनीहरुका प्रेरणाले कम्युनिष्ट राजनीतिप्रति आकर्षित गरेको होइन रहेछ । बरु उनलाई त तराईका छिमेकी सामन्तहरुले कुलापानीमा काम नगरी आफ्ना खेतमा पानी लगाउने, गाउँका बालीनाली जमिनदारका गाईवस्तुले खाइदिँदा पनि अर्मल तिर्न नपर्ने, किसानहरुलाई असमी भनेर सम्बोधन गर्ने दमित चलन र भोगाइका कारण कम्युनिष्ट पार्टीप्रति तानेको रहेछ । सामन्तहरुलाई समाजवाद नल्याइकन ठेगान लगाउन सकिन्न भन्ने उनको तर्क आज पनि जीवितै छ ।

विचरा भएका किसानहरुलाई कसैले साथ र सहयोग नगर्ने तत्कालीन परिस्थिति बुझेर नै उनले सामन्तहरुका विरुद्धमा एकीकृत हुने र लड्ने संकल्प गरेर २०२२ सालतिरै कम्युनिष्ट संगठन पार्टी सेल स्वयम् बनाएर संगठित भएको इतिहास पाइन्छ । २०२४ सालमा रुपन्देहीमा कम्युनिष्ट पार्टीको जिल्ला संगठन निर्माण गरेको तथ्य प्रमाणहरु भेटिन्छन् ।

हुन त देवेन्द्रलाई विद्यार्थी आन्दोलनले नेता बनायो । केही समय उनी शिक्षक भए । अहिले बटौलीको बजारमा रहेको महावीर पुस्तकालय नै उनका लागि राजनीति गर्ने र अध्ययनको खुराक मिल्ने स्थान रहेको उनकै अनुभवबाट थाहा हुन आउँछ । बुटवल, भैरहवा, पग्लिहवा, मणिग्राम उनका अध्ययन र आन्दोलनका लागि उर्बरभूमि थिए । आन्दोलनले उनलाई खरो र दरोमात्र बनाएन । बरु पार्टीको सक्षम संगठक र जुझारु नेता बनायो ।

नेपालमा कम्युनिष्ट पार्टीहरुका एकीकरण, विभाजन, दोषारोपण, एक-अर्काले गर्ने व्यवहार, दुर्व्यवहार, हिलो झ्यापाछ्याप, तानातान र हानाहान गतिलै गरी अध्ययन गर्न सकिन्छ ।

उनी २० वर्ष भूमिगत रहे । उनका भूमिगतकालीन समय कष्टकरमात्र छैनन् बरु त्यहाँबाट कम्युनिष्ट पार्टीका इतिहास, टुटफुट, अन्तकलह, अन्तरद्वन्द्व र उतारचढाव पढ्न पाइन्छ । नेपालमा कम्युनिष्ट पार्टीहरुका एकीकरण, विभाजन, दोषारोपण, एक-अर्काले गर्ने व्यवहार, दुर्व्यवहार, हिलो झ्यापाछ्याप, तानातान र हानाहान गतिलै गरी अध्ययन गर्न सकिन्छ । नेपालमा नागरिकहरु कम्युनिष्ट हुन र बन्न रुचाउँछन् । तर, नेताहरु कुर्ची वा नेतृत्वका लागि किन छिनाझपटी गर्न रुचाउँछन् र सिंगो कम्युनिष्ट पार्टीलाई चिराचिरा बनाउँछन् भन्ने कुरा देवेन्द्रले धेरैलाई बताउन सक्छन् । त्यो उनको राजनीतिक सक्रिय जीवनबाट प्राप्त अनुभव हो ।

२०२४ सालमा नेकपाको रुपन्देही जिल्ला सचिव भएका उनी २०५४ सालमा नेकपा ( एमाले)को केन्द्रीय अनुशासन निरीक्षण कमिटीका सचिव र सातौं अधिवेशनले उनलाई केन्द्रीय सल्लाहकारको भूमिका दिएको थियो । उक्त भूमिकामा उनी १२ वर्षसम्म रहे । पार्टीमा उनले पाएका राजकीय पुरस्कार भनेको २०४९ मा देवदहको वडाध्यक्ष, रुपन्देही जिविस सदस्य र २०५५ मा राष्ट्रियसभा सदस्य थियो । देशका धेरै स्थानमा भूमिगत जीवन बिताएका उनले बंगलादेश, चीन, भारत, रुस, हङकङ, सिंगापुर, जर्मन, डेनमार्क, नर्वे, फ्रान्स र इटालीलगायतका देशमा राजकीय एवम् पारिवारिक भ्रमण गरिसकेका छन् ।

क्यामेरामेन कमरेड देवेन्द्रका मनमा क्यामेराका रिल घुमे झैं मन घुमिरहन्छन् अचेल । आफूले भूमिगतकालमा कम्युनिष्ट पार्टीमा रहेर पार्टी, देश र जनताका लागि गरेका हरेक कामहरु देशभक्तिपूर्ण र गौरव गर्न लायक हुने गर्थे । ‘पार्टीले नेता, कार्यकर्ताहरुका ससाना कुरामा समेत ख्याल गर्थ्यो । पार्टीप्रति स्नेहभाव जागृत हुन्थ्यो । पार्टीमा लाग्नु फाइदाका लागि होइन, बरु पार्टीमा लाग्नु देश र जनताप्रति समर्पित हुनु हो भन्ने लाग्थ्यो’, देवेन्द्र भन्दै थिए ।

प्रजातन्त्र पुनः प्राप्ति र गणतन्त्र आएपछि नेपालका कम्युनिष्ट पार्टीहरुमा दलाल पूँजीपतिहरुको ओइरो लाग्न थाल्यो । नवसामन्तहरुको कम्युनिष्ट पार्टीहरुमा ह्वात्तै प्रवेश बढेर गयो ।

प्रजातन्त्र पुनः प्राप्ति र गणतन्त्र आएपछि नेपालका कम्युनिष्ट पार्टीहरुमा दलाल पूँजीपतिहरुको ओइरो लाग्न थाल्यो । नवसामन्तहरुको कम्युनिष्ट पार्टीहरुमा ह्वात्तै प्रवेश बढेर गयो । कम्युनिष्ट पार्टीका नीति, सिद्धान्त, विचार, दर्शनभन्दा पनि फाइदाका निम्ति पार्टी प्रवेश गर्नेहरुको संख्या उल्लेख्य रहन गयो । हिजो पार्टीका निम्ति जेलनेल, दुःख, पीडा र कष्ट सहेकाहरु पाखा लाग्ने र नवागन्तुक सामन्तका अवशेषहरु श्रीपेच ढल्काउँदै पार्टीमा छोटेराजा बन्न आइपुग्ने र पार्टीमा उनीहरुकै हालीमुहाली चल्न थालेपछि आफ्नै कम्युनिष्ट पार्टीप्रति सम्बन्ध विच्छेद गरेर सादगी जीवन जिउन रहर पलाएको देवेन्द्र कमरेड बताउँदै थिए ।

आज पनि उनलाई आफ्नै कम्युनिष्ट पार्टी र कमरेडली भावना यादगार छ । कम्युनिष्ट पार्टीप्रति कुनै हीनताबोध छैन । कमरेड शब्द र सम्मानप्रति लज्जाबोध छैन । तर, त्यही कम्युनिष्ट पार्टीका केही नेतृत्वप्रति उनको ठूलो गुनासो छ । उनको ऐतिहासिक गर्भे प्रश्न छ- नेपालका कम्युनिष्ट पार्टीहरुले कहिले तय गर्छन् समाजवादको बाटो, कहिले ल्याउँछन् समाजवाद र कहिले देख्लान् नेपालीहरुले साम्यवाद ?

कहिले आउँछ नेपालमा समाजवाद र साम्यवाद ? कहिले होलान् नेपालीहरु सुखी, खुशी ? कहिले हट्छन् सबैखाले विभेद ? कहिले आउला समानता ? कहिले हट्ला हुने खाने र हुँदा खानेबीचको दरार ?

साम्यवादको सपना बोकेर कम्युनिष्ट पार्टीको सिपाही बनेका उनीजस्ता हजारौं निष्ठावान कमरेडहरुका ज्वलन्त र ऐतिहासिक सोधिने प्रश्न हुन्- कहिले आउँछ नेपालमा समाजवाद र साम्यवाद ? कहिले होलान् नेपालीहरु सुखी, खुशी ? कहिले हट्छन् सबैखाले विभेद ? कहिले आउला समानता ? कहिले हट्ला हुने खाने र हुँदा खानेबीचको दरार ?

क्यामेरामेन कमरेड देवेन्द्र जीवनको ७७ औं वसन्त यी नै प्रश्नहरुका बीच बिताइरहेका छन् । सोधिरहेका छन्- नेपालमा सिंगो कम्युनिष्ट पार्टी कहिले बन्ला ? स्थिर राजनीति र कम्युनिष्ट शासन सत्ता नेपालीले कहिले देख्न र भोग्न पाउलान् ? कम्युनिष्ट हुनुको गर्व नेपालीले कहिले गर्लान् ?

‘हँसिया हथौडाको झण्डा दिगो रुपमा सगरमाथामा कहिले फरफराउला ? त्यही झण्डा आफ्नो क्यामेराले कहिले खिच्न पाउलान् ?’, क्यामेरामेन कमरेड देवेन्द्रको अन्तिम प्रश्न हो यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *