६ जना पक्राउ गर्दा पनि प्रहरीले भेटेन भारतबाट चोरिएको करोडभन्दा बढीको गहना – Nepal Press

६ जना पक्राउ गर्दा पनि प्रहरीले भेटेन भारतबाट चोरिएको करोडभन्दा बढीको गहना

कैलाली । भारतबाट करोडभन्दा बढीको गरगहना चोरीमा प्रहरीले अहिलेसम्म ६ जनालाई पक्राउ गरिसकेको छ । तर, चोरिएको भनिएको गहना भने अझै फेला परेको छैन ।

भारतको पन्जाबलगायत क्षेत्रबाट भएको एक करोड बढीको सुनचाँदी चोरीमा पहिलो चरणमा धनगढी र अत्तरियाबाट तीनजना पक्राउ परेका थिए । उनीहरूमध्ये केही चोरीमा संलग्न रहेको र केही ल्याएको गर गहना व्यवस्थापनमा खटिएको प्रहरीको अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ ।

उनीहरूकै बयानका आधारमा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढीका एक सुन व्यवसायीलाई पक्राउ गरेको थियो । त्यसपछि थप दुईजनालाई बैतडीबाट पक्राउ गरेको छ । उनीहरू पनि चोरीमा संलग्न भएको हुनसक्ने प्रहरीको भनाइ छ ।

अहिले प्रहरीले चोरीमा संलग्न व्यक्ति र चोरी भएको सामान दुवै खोजिरहेको छ । तर, ६ जना पक्राउ पर्दा पनि पैसा र सुन चाँदी भेटिएको छैन ।

‘हामीले अहिलेसम्म गहना फेला पार्न सकेका छैनौँ तर, घरमा चोरी भएका अन्य वस्तुहरू भने भेटिएको छ’ एक उच्च अधिकारीले भने, ‘गहनाबाहेकको अन्य बहुमूल्य पुराना वस्तुहरूकै आधारमा हामीले अनुसन्धान गरिरहेका छौँ । ’

भारतबाट सुनचाँदी पैसासहित पुराना सजावटका महँगा वस्तुहरू पनि चोरी गरेर ल्याइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर