मूल्य प्रतिस्पर्धाले घाटामा हैटाैंडा सिमेन्ट, जग्गा बेच्ने तयारी – Nepal Press

मूल्य प्रतिस्पर्धाले घाटामा हैटाैंडा सिमेन्ट, जग्गा बेच्ने तयारी

हेटौंडा । कुनै समय थियो, बलियो घर बनाउन मानिसहरु हेटौंडा सिमेन्ट किन्न महिनौंसम्म पनि कुरेर बस्थे । गुणस्तरीय भएकाले सर्वसाधारणमा हेटौंडा सिमेन्टप्रति आकर्षण थियो । तर, अहिले स्थिति फेरिएको छ । हेटौंडा सिमेन्ट बिक्री नभएर गोदाममै थन्किएको छ ।

निजी उद्योगका सिमेन्टसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसकेर हेटौंडा सिमेन्ट गोदाममा थुप्रिन परेको हो । वर्षौंदेखि घाटा सहेर जेनतेन चलिरहेको उद्योगबाट उत्पादित सिमेन्ट बिक्री हुन छोडेपछि उद्योग थप संकटमा परेको छ ।

उत्पादन लागतभन्दा डेढ सय रुपैयाँ घाटा सहेर बेच्न खोज्दा पनि सिमेन्ट बिक्री नभएको उद्योगले जनाएको छ । जसकारण उद्योग बन्द हुने अवस्थामा पुगेको छ ।

उद्योगले एक बोरा सिमेन्ट उत्पादन गर्न ९०० रुपैयाँ खर्च लाग्ने जनाएको छ । तर, प्रतिस्पर्धाको कारण प्रतिबोरा १५४ रुपैयाँ कम मूल्यमा बिक्री गर्दासमेत सिमेन्ट बिक्रीमा समस्या आएको उद्योगले बताएको हो । उद्योगमा ३ लाख बोरा सिमेन्ट स्टकमा बसेको छ ।

बजारमा रहेका अन्य सिमेन्टभन्दा महंगो भएको कारण बिक्री गर्न समस्या भएको हेटौंडा सिमेन्ट उद्योगका महाप्रवन्धक बसन्तकुमार पाण्डे बताउँछन् । नेपालप्रेसँग कुरा गर्दै पाण्डेले भने, ‘हामीसँग नयाँ प्रविधि छैन । पुरानै मेसिनलाई मर्मत गरेर दैनिक उत्पादन गर्नुपरेको छ । त्यसमाथि बजारमा प्रतिस्पर्धामा उत्रन कठिन भएको छ ।’

गत वर्ष उद्योगले ८५ हजार २०० मेट्रिक टन सिमेन्ट उत्पादन गरेको थियो । जसमा हालसम्म ८० हजार ६०० मेट्रिक टनमात्रै बिक्री भएको उनले बताए । उनका अनुसार बजारमा प्रतिस्पर्धा गर्न नसकिएपछि उत्पादन पनि घटाउँदै आएको छ ।

आर्थिक वर्ष २०७४/०७५ मा एक लाख ९ हजार मेट्रिक टन उत्पादन गरेको उद्योगले पाँच वर्षको अन्तरालमा ८० हजार मेट्रिक टनमात्र उत्पादन गरेको छ ।

हेटौंडा कपडा उद्योगकै हालत हुने डर

एसियाली विकास बैंक (एडीबी)को सहयोगमा २०३३ साल असोज १३ गते स्थापना भएको उद्योगको उत्पादन हेटौंडा सिमेन्ट नेपालकै शान हुने गर्दथ्यो । सिमेन्टको परनिर्भरता हटाउन तत्कालीन राजा वीरेन्द्र शाहको पहलमा स्थापित उद्योग उनैले उद्घाटन गरेका थिए ।

‘शक्ति’ ब्राण्डको नामले प्याकेजिङ हुने गरेको सिमेन्ट उद्योगले स्थापनाकालबाटै नाफा देख्न भने सकेन । चार दशकको अवधिमा उद्योगले करिब चार वटा आर्थिक वर्षमा मात्र केही नाफा गरेको छ ।

हेटौंडाको शानको रुपमा रहने गरेका हेटौंडा कपडा उद्योग र सिमेन्ट उद्योगमध्ये कपडा उद्योग २०५९ सालबाटै पूर्ण रुपमा बन्द छ । तर, घाटा सहेरै भए पनि हेटौंडा सिमेन्टले जेनतेन उत्पादन गरिरहेको छ । पछिल्लो अवस्थाले सिमेन्ट उद्योगको हालत कपडा उद्योगकै जस्तो हुने हो कि भन्ने चिन्ता बढाएको छ ।

महाप्रवन्धक पाण्डे भन्छन्, ‘सबैको विश्वास र भरोसा जितेको हेटौंडा सिमेन्ट उद्योग यही हिसाबले कति दिन टिक्छ भन्नेमा शंका मान्नु स्वाभाविक हो । उद्योग कसरी बचाउन सकिन्छ भनेर कैयौं दृष्टिकोणबाट अध्ययन गरिरहेका छौं ।’

उद्योगलाई नयाँ प्रविधिमा लगेर अन्य उद्योगसँग प्रतिस्पर्धा गर्ने बनाउन विभिन्न स्किम तयार गरिएको महाप्रवन्धक पाण्डे बताउँछन् । उद्योगको सयाैं विघा जमिन अहिले वनजंगलमा परिणत भएको छ । उक्त जमिनमध्ये केही बिघा बिक्री गरेर भए पनि नयाँ प्रविधिको मेसिन जडान गर्न सके उद्योगले पुनः गति लिने उनको भनाइ छ ।

पाण्डे भन्छन्, ‘हामीसँग प्रयोग नभएको सयौं विघा जमिन छ । प्रदेशको राजधानी हेटौंडा भएपछि यहाँ राष्ट्र बैंकले जग्गा खोजी गरेको रहेछ । हाम्रो प्रयोग नभएको करिब १२ विघा जति जमिन अर्को सरकारी निकायलाई बेच्न सक्यौं भने केही अर्ब रकम आउँछ र केही सरकारले सहयोग गर्दा नयाँ प्लान्ट जडान गर्न सकिन्छ । यसो हुँदा उद्योग प्रतिस्पर्धी बन्छ ।’

एउटा सरकारी मन्त्रालयबाट अर्को सरकारी मन्त्रालयमा जग्गा बिक्री गर्ने विषय मन्त्रिपरिषद्को भएको भन्दै उनले यो विषयमा आफूले जानकारी गराइसकेको बताए ।

उद्योग बचाउन नयाँ प्रविधि आवश्यक रहेको भन्दै पाण्डेले दैनिक ७५० टन उत्पादन क्षमता रहेको उद्योगलाई पूर्ण रुपमा सञ्चालन गर्नमात्र तत्काल १ अर्बसम्म खर्च गर्नुपर्ने बताए ।

थोत्रो मेसिनले कहिलेसम्म धान्ने ?

२०४२ सालमा जडान भएको मेसिनको कारण उद्योगको मर्मत खर्च आकाशिएको छ । आज एउटा सामान बिग्रन्छ, भोलि अर्को । ‘बनाएर साध्य नै नहुने भयो, सबै खर्च प्रडक्सन कस्टमा जोड्दा उत्पादित सिमेन्टको भाउ बढाउनुको विकल्पै हुँदैन’, पाण्डेको गुनासो छ ।

तीन महिना अघिमात्र महाप्रवन्धक भएर आएका पाण्डेले प्रडक्सन कस्ट कम गर्न फजुल खर्च कटौतीको प्रयास गरेको बताए । तर, दैनिक मेसिनमा आउने समस्याको कारण उद्योग नै बन्द गर्नुपर्ने, नियमित उत्पादनलाई रोक्नुपर्ने समस्याले आजित बनाएको उनको भनाइ छ ।

उद्योगमा कर्मचारी समस्या पनि उस्तै छ । ६५५ जनाको दरबन्दी रहेको उद्योगमा हाल २२२ जनामात्र कार्यरत छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर