दाम्पत्य दरारको विभत्स श्रृंखला- हत्या, आत्महत्या र सम्बन्ध विच्छेद – Nepal Press

दाम्पत्य दरारको विभत्स श्रृंखला- हत्या, आत्महत्या र सम्बन्ध विच्छेद

वैदेशिक रोजगारी र विवाहेत्तर सम्बन्धले निम्त्याउँदैछ गम्भीर अपराध

काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा आइतबार बिहान मूलढोकाभित्रैबाट बन्द गरिएको घरमा एकै परिवारका सबै ४ जना मृत भेटिए । ४१ वर्षीय दिनेश पाण्डेले ३९ वर्षीया श्रीमती सुनिता, १३ वर्षीया छोरी आशिका र ८ वर्षीय छोरा आशिकको हत्यापछि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

प्रहरीका अनुसार घटनास्थलमा भेटिएको १० पेज लामो सुसाइड नोटमा दिनेशले श्रीमतीसँग चरम गुनासो गरेका छन् । खाना पकाएर नदिने, सँगै सुत्न नमान्नेदेखि श्रीमतीले ट्वाइलेट जाँदा पनि मोबाइल नछाड्ने गरेको सुसाइड नोटमा उल्लेख छ । अनुसन्धान अधिकारीका अनुसार आफूलाई श्रीमती र उनका आफन्तले हेला गर्ने गरेको पनि दिनेशले उल्लेख गरेका छन् ।

‘मैले ६० डिग्रीको तातोमा १२ वर्ष काम गरेर कमाएको सम्पत्तिमा श्रीमतीका आफन्तले रजाइँ गरे’, सुसाइड नोटमा लेखिएको छ ।

यति लामो सुसाइड नोट दिनेशले एकैपटक लेखेका थिए वा पहिल्यैदेखि लेख्दै आएका थिए भन्नेबारे प्रहरीले यकिन हुन सकेको छैन । तर, सुरुका पेजहरु हेर्दा दिनेशले आत्महत्यामात्र गर्न खोजेको देखिने अनुसन्धान अधिकारी बताउँछन् ।

‘सुरुमा श्रीमतीलाई सम्बोधन गर्दै उनले जसरी लेखेका छन्, त्यो हेर्दा उनले आत्महत्यामात्र गर्न खोजेको जस्तो देखिन्छ । त्यसैले उनले सुसाइड नोट पहिल्यैदेखि लेख्न सुरु गरेका थिए वा एकैपटक लेखेका थिए भन्नेबारे अहिले केही भन्न सकिँदैन’, ती अनुसन्धान अधिकृत भन्छन् ।

प्रहरीको प्रारम्भिक निष्कर्ष छ- श्रीमतीमाथि लगातारको आशंकाले यो घटना भएको हो । पछिल्लो समय उनीहरुबीचको सम्बन्ध बिग्रँदै गएको थियो । उनीहरु सम्बन्ध विच्छेद गर्ने छलफलसम्म पुगिसकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सम्बन्ध बिग्रिएपछि उनीहरु तीनपटक प्रहरीमा छलफल गरेर फर्किएको पनि पाइएको छ ।

छोराछोरीलाई एक्लै छाड्न नसकेका कारण उनीहरुलाई पनि सँगै लिएर गएको सुसाइड नोटमा उल्लेख छ । गोरखा स्थायी घर भएको पाण्डे परिवार ४ वर्षअघि तारकेश्वर नगरपालिका- २ पदमसालमा घर बनाएर बस्दै आएको थियो ।

यो विभत्स हत्याकाण्ड एउटा उदाहरण हो । यस्तै घटना समाजमा बढ्न थाल्नु अझ चिन्ताको विषय हो । कोही मान्छे किन यति क्रूर बन्नसक्छ ? प्रश्न यहाँ छ ।

साउन ८ गते राति चितवनको भरतपुर महानगरपालिका- १० मा भएको श्रीमान-श्रीमतीको मृत्यु घटना पनि हत्यापछि आत्महत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । आफ्नै घरको बाहिर चोटग्रस्त अवस्थामा भेटिएका कृष्णप्रसाद आचार्यको उपचारको क्रममा मृत्यु भएको थियो ।

घरभित्र श्रीमती रुस्माको शव विभत्स हत्या भएको अवस्थामा भेटिएकाले प्रहरीले कृष्णले हत्यापछि चार तलामाथिबाट हाम फालेको निष्कर्ष निकालेको थियो । बुबाले आमालाई खुकुरी प्रहार गरेको ११ वर्षीया छोरीले प्रहरीलाई बताएकी थिइन् । सम्बन्ध बिग्रिएपछि कृष्ण र रुस्मा सम्बन्ध विच्छेद गर्ने अन्तिम तयारीमा थिए ।

६ वर्ष साउदी अरब बसेर दुई महिनाअघि मात्र नेपाल फर्किएका कृष्णले श्रीमतीसँग हरेक दिनजसो कुटपिट र विवाद गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो । श्रीमतीमाथि शंका गर्ने गरेका कृष्ण नेपाल आउनेबारे रुस्मालाई पूर्वजानकारी नभएको पाइएको छ । रुस्मा स्थानीय एक विद्यालयमा पढाउँथिन् ।

श्रीमानबाट श्रीमतीको, श्रीमतीबाट श्रीमानको हत्या

प्रहरीको केन्द्रीय तथ्यांकअनुसार गत आर्थिक वर्षमा देशभर कर्तव्य ज्यानका ५९० मुद्दा दर्ता भएको थियो । तीमध्ये श्रीमानले श्रीमतीको ज्यान लिएको ९७ घटना थियो । श्रीमतीले श्रीमानको ज्यान लिएको घटना २८ वटा थियो ।

नातेदारबाट भएका हत्यामा श्रीमानबाट श्रीमतीको हत्या सर्वाधिक छन् । श्रीमतीबाट श्रीमानको हत्या हुने गरेको घटना भने तेस्रो स्थानमा आउँछ । छोराले आमा वा बुबा वा दुवैको हत्या गरेका घटना ३२ वटा थियो ।

आर्थिक वर्ष २०७६/०७७ मा श्रीमानबाट श्रीमतीको हत्या भएका घटना ७० वटा थियो भने श्रीमतीले श्रीमानको हत्या गरेका घटना १७ वटामात्रै रहेको प्रहरीको तथ्यांकले देखाउँछ ।

यस्तै २०७७/०७८ मा देशभर श्रीमानले श्रीमतीको हत्या गरेको घटना ११४ घटना थियो । श्रीमतीले श्रीमानको हत्या गरेका घटना २० वटा थियो । यो प्रहरी कार्यालयमा दर्ता भएका तथ्यांकमात्रै हो ।

यी घटनामा श्रीमानले विभिन्न शंका मानेर पनि श्रीमतीको हत्या गरेको पाइएको छ । श्रीमतीले अन्य पुरुषहरुसँग मिलेर श्रीमानको हत्या गरेको धेरैजसो घटनाले देखाएको छ । यसले के देखाउँछ भने घटनाका मुख्य कारणहरु हुन्, श्रीमानश्रीमतीबीच अश्विवास, शंका–उपशंका वा परपुरुष तथा परस्त्रीसँगको विवाहेत्तर सम्बन्ध ।

सर्वाधिक सम्बन्ध विच्छेदका मुद्दा

हरेक वर्ष अदालतमा दर्ता हुने सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका छन् । आर्थिक वर्ष २०७७/०७८ मा सम्बन्ध विच्छेदका मुद्दा २७ हजार ४२५ वटा दर्ता भएको थियो ।

तीमध्ये १७ जहार ५६७ मुद्दा फर्छ्याेट भएको सर्वोच्च अदालतको तथ्यांक छ । २०७६/०७७ मा सम्बन्ध विच्छेदका मुद्दा २४ हजार ७५० वटा अदालतमा परेको तथ्यांक छ ।

सबैभन्दा बढी काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्दा दर्ता हुने गरेको छ । गत वर्षमात्र काठमाडौंमा सम्बन्ध विच्छेदका मुद्दा ३ हजार ८७७ वटा दर्ता भएको थियो ।

त्यसभन्दा अघिल्ला दुई वर्षमा काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्दा ४ हजार ५७१ वटा दर्ता भएको थियो । अदालतका सूचना अधिकारी दीपक दाहाल विवाहपूर्व र विवाहपछिका ‘बाहिरी’ सम्बन्धसँग जोडिएर धेरै सम्बन्ध विच्छेद हुने गरेको बताउँछन् ।

देशभर सम्बन्ध विच्छेदका घटनाहरु बढिरहे पनि गत आर्थिक वर्षमा त्यो संख्या कति रह्यो भन्ने तथ्यांक तयार भइसकेको छैन । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले देशभरबाट तथ्यांक आइरहेकाले केन्द्रीकृत रुपमा तयार हुन बाँकी रहेको बताए ।

यस्तै गत आर्थिक वर्षमा प्रहरीमा दर्ता भएका ८०९ वटा मुद्दा बहुविवाहसँग सम्बन्धित छन् । आर्थिक वर्ष २०७६/०७७ मा ७३४ र आर्थिक वर्ष २०७७/०७८ मा ८५२ वटा मुद्दा बहुविवाहसम्बन्धी थिए ।

यस्तै आर्थिक वर्ष २०७७/०७८ मा वैवाहिक बलात्कारका मुद्दा देशभरका जिल्ला अदालतमा २२ वटा दर्ता भएका थियो । गत वर्षको तथ्यांक भने आइसकेको छैन । आर्थिक वर्ष २०७६/०७७ मा उक्त संख्या १४ रहेको थियो । फौजदारी अपराध संहिता २०७४ ले श्रीमतीको इच्छाविपरीत यौन सम्बन्ध राखे त्यसलाई वैवाहिक बलात्कार मानिने व्यवस्था गरेको छ ।

सम्बन्ध विच्छेदका घटना बर्सेनि बढे पनि यसको राज्यले सूक्ष्म रुपमा विश्लेषण गरेको देखिँदैन । विवाह गरेको कति समयभित्र धेरै सम्बन्ध विच्छेद भइरहेको छ, कुन उमेर समूहबाट यो बढी भइरहेको छ, केटा वा केटीले कति निवेदन दिएका छन् जस्ता आवश्यक विश्लेषण भएको पाइँदैन ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दाहाल आवश्यक भए पनि अदालतले त्यता ध्यान दिन नसकेको स्वीकार गर्छन् ।

किन बिग्रिन्छ सम्बन्ध ?

विवाह भएपछि कानुनले तोड्नसक्ने अधिकार पनि दिएको छ । एक भएको दम्पतीले आवश्यक परे सम्बन्ध विच्छेद गर्न पाउँछ । सम्बन्ध बिग्रनसक्छ र त्यस्तो अवस्थामा राजीखुशी अलग हुन पाउने गरेरै सम्बन्ध विच्छेदको कानूनी व्यवस्था गरिएको हो ।

पछिल्लो कानूनी व्यवस्थाले पुरुषले पनि सम्बन्ध विच्छेदका लागि निवेदन दिन पाउने व्यवस्था गरेको छ । पुरुषले सम्बन्ध विच्छेद नगरी अर्को विवाह गरे भने बहुविवाहको मुद्दा लाग्छ । महिलाका हकमा भने यो लागू छैन ।

पछिल्लो कानूनी व्यवस्थाले पुरुषले बहुविवाह गरेकी महिलालाई भने कानूनी सजाय हुने व्यवस्था गरेको छ । सम्बन्ध विच्छेदको अवस्थासम्म पुग्नु वा बहुविवाह गर्नु श्रीमान-श्रीमतीबीच सम्बन्ध राम्रो नदेखाउने महत्वपूर्ण सूचक हो । त्योभन्दा पनि डरलाग्दो सूचक भनेको एक अर्काको हत्या वा हत्यापछि आत्महत्यासम्म पुग्ने घटना हो ।

श्रीमान-श्रीमतीबीचको बढ्दो दूरीमा विवाहपूर्वको सम्बन्ध र विवाहपछि परपुरुष वा परस्त्रीसँगको सम्बन्ध प्रमुख कारण रहेकोमा विमति छैन ।

वैदेशिक रोजगारीले ध्वस्त हुँदै घरपरिवार !

काठमाडौं प्रहरी प्रवक्ता दिनेश मैनाली विदेशबाट फर्किएर आएपछि समस्या देखिने क्रम बढेको बताउँछन् ।

‘विदेशबाट घर फर्कंदा कमाएको सम्पत्ति श्रीमतीले सकेको वा लिएर अर्कैसँग हिँडेको अवस्था पनि छ । वैदेशिक रोजगारीमा रहेका श्रीमतीहरु पनि उजुरी लिएर आउने गरेका छन्’, प्रवक्ता मैनालीले भने ।

असारको अन्तिम साता काभ्रेको बनेपाका दिवाकर थापा र सुदिना कर्माचार्य कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित एकै रुखमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।

उनीहरु विवाहित भए पनि ‘एक्स्ट्रा म्यारिटल अफेयर्स’ मा थिए । दिवाकरकी श्रीमती विदेशमा थिइन् भने सुदिनाका श्रीमान बनेपामै व्यापार गर्छन् ।

एक महिनाअघि गायिका दिलमाया सुनार काठमाडौंको नेपालटारस्थित आफ्नै कोठामा मृत फेला परेका थिए । उनको हत्या आरोपमा प्रहरीले प्रेमी सूर्य श्रेष्ठलाई पक्राउ गर्‍यो ।

दिलमाया मृत भेटिएको रात सूर्य उनीसँगै बसेका थिए । गोठाटारमा श्रीमती र छोराछोरीसँग बस्दै आएका सूर्य दिलमायासँग ‘एक्स्ट्रा म्यारिटल अफेयर्स’ मा थिए ।

आफूसँगै बसेको रात दिलमायाले आत्महत्या गरेको दाबी गरे पनि प्रहरीले सूर्यलाई विश्वास गरेन । उनी कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतको थुनछेक आदेशले अहिले पुर्पक्षका लागि थुनामा छन् ।

पाँचथर स्थायी घर भई इटहरीमा बस्दै आएकी सुमित्रा तामाङ धरानको एक होटलमा मृत भेटिएकी थिइन् । उक्त घटनामा प्रहरीले उनका प्रेमीलाई पक्राउ गरेको थियो ।

होटलमा उनीहरु सँगै बसेका थिए । पछि प्रेमी भनिएका व्यक्ति मृतक तामाङलाई छाडेर भागेका थिए । तामाङको हत्या गरेको भन्दै प्रहरीले उनका प्रेमीलाई पक्राउ ग¥यो । तामाङका श्रीमान वैदेशिक रोजगारीमा थिए ।

‘एक्स्ट्रा म्यारिटल अफेयर’कै कारण सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन कोइरालाले श्रीमतीको हत्या गरेको खुलेको थियो ।

‘अहिले विवाह कहिले टुंगिन्छ निश्चित छैन’

अपराधशास्त्रमा स्नातकोत्तर गरेका एसपी मैनाली परिवार एकात्मक बन्दै जानु, शहर केन्द्रित हुनु, सन्तानको उचित हेरचाह नहुनु, प्रविधिमा सहज पहुँच हुनु, देखासिकी गर्नुलगायतलाई समस्याको जड मान्छन् ।

‘पहिला संयुक्त परिवारमा बसोबास हुन्थ्यो । अहिले एकल परिवार त्यो पनि शहरमा बस्न रुचाउँछ । सहज वैदेशिक रोजगारीले गर्दा श्रीमान वा श्रीमती विदेश गइरहेको अवस्था छ । प्रविधिको दुरुपयोग बढ्दो छ । आफ्नोपन र आफन्त भन्ने चिज मानिसहरुले बिर्सन थालेका छन् र विलासी बन्न थालेका छन्’, मैनाली थप्छन् ।

समाजशास्त्री डा. मीना उप्रेती श्रीमान-श्रीमतीबीच सम्बन्ध बिग्रँदा समाज नै बिग्रने बताउँछिन् । सबैभन्दा नजिकको सम्बन्ध नै श्रीमान–श्रीमतीबीच हुने बताउँदै उनी तीव्र महत्वाकांक्षा, एकले अर्कालाई बुझ्न नसक्नु, प्रविधिको दुरुपयोग, विवाहको महत्व घट्दै गइरहेकाले समाज सामाजिक र सांस्कृतिक रुपमा कमजोर बन्दै गएको बताउँछिन् ।

‘२० वर्षअघिको परिवार, १० वर्षअघिको परिवार र आजको परिवारमा निकै सामाजिक परिवर्तन भएको छ । यो निकै डरलाग्दो छ’, उनी भन्छिन् । श्रीमान-श्रीमतीबीच विश्वास र मायाको संकट बढ्दो रहेको र सामाजिक मूल्य र मान्यता पनि ह्रास हुँदै गएको उनको बुझाइ छ ।

‘विवाहका दुइटा पाटा हुन्छन् । एउटा, सामाजिक र अर्को भावनात्मक । माया, प्रेम, विश्वास, सद्भावहरु भावनात्मकमा पर्छन् । सांस्कृतिक पक्षहरु सामाजिकसँग जोडिन्छन्’, त्रिचन्द्र कलेजमा समाजशास्त्र अध्यापन समेत गराउँदै आएकी उप्रेती भन्छिन्, ‘पहिले विवाहका मान्यताहरुमा जन्मौंजन्मसँग सँगै रहने भन्ने हुन्थ्यो । त्यहाँ विश्वास र आदर्श हुने गर्थ्यो । आज विवाह कहिले टुंगिन्छ निश्चित छैन । मानिसहरु पैसा भएपछि सबै कुरा भइहाल्छ नि भन्नेतिर लागेका छन् । जसले गर्दा परिवार तहसनहस भइरहेको छ । एक-अर्काको आवश्यकता बुझ्न र सुन्न छाडेको अवस्था छ ।’

महिलाको सामाजिक-आर्थिक जीवनमा आएको परिवर्तनलाई पुरुषले सहजै स्वीकार र सम्मान गर्न नसक्नु तथा महिलाले पनि त्यसै आधारमा एक-अर्कालाई तुलना गर्ने अवस्था आउनुले पनि दम्पतीबीचको सम्बन्धमा दरार आएको उनको बुझाइ छ । विवाहपूर्व धेरै जनासँग सम्बन्ध हुने भएकाले विवाहपछिको सम्बन्धलाई पनि सामान्य रुपमा लिने चलन बढेको उनी बताउँछिन् ।

‘अहिले विवाहअघिका सम्बन्धका प्रमाणहरु पछिसम्म पनि बाहिर आउनसक्ने सम्भावना रहन्छ प्रविधिले गर्दा’, उप्रेती भन्छिन् ।

वैदेशिक रोजगारी, मोबाइल र सामाजिक सञ्जालले विश्वासको संकट बढाएको उनको भनाइ छ । मानिसहरु भाइरल बन्ने दौडमा लागेको र दुनियासँग सहजै सम्पर्क हुने वातावरण रहेको भन्दै उप्रेती अगाडि थप्छिन्, ‘आज एउटै कोठाभित्र रहँदा पनि श्रीमान, श्रीमती, छोराछोरीहरु मोबाइल र सामाजिक सञ्जालमा झुमिरहेका हुन्छन् । उनीहरुसँग कुराकानी गर्ने फुर्सद छैन । सामाजिक सञ्जालमा अपलोड गरेका तस्वीर र भिडियोमा कति लाइक, कमेन्ट र भ्युज आयो भन्नेमा उनीहरु व्यस्त हुन्छन् । उनीहरुमा भाइरल हुने डरलाग्दो महत्वाकांक्षा देखिन्छ । यसले शंका-उपशंका बढाइरहेका छन् ।’

‘नियमित मनोवैज्ञानिक परीक्षण गरे बच्न र बचाउन सकिन्छ’

मनोविद् सन्देश ढकाल नेपाली समाज मोर्डन र ट्राडिशनलको ट्यान्जिसनमा रहेको बताउँछन् ।

‘हामी आफू मोर्डन हुन खोजिरहेका छौं । तर, आफ्नो वरिपरि रहेकाहरु ट्राडिशनल होस् भन्ने चाहन्छौं । यसले गर्दा समस्याहरु आइरहेका छन् । हामीले कुनै पनि घटनालाई त्यस समाजको परिवेशसँग जोडेर हेर्नुपर्ने हुन्छ’, श्रीमान-श्रीमतीबीचको सम्बन्धमा बढ्दो दरारबारे ढकाल भन्छन् ।

उनले सम्बन्ध बिग्रिएमा सम्बन्ध विच्छेदको विकल्प हुँदाहुँदै किन हत्या वा आत्महत्याको बाटो रोज्छन् भन्नेबारे अगाडि थपे, ‘सम्बन्ध विच्छेद एउटा कानुनी कुरा हो र यसले समय लिन्छ । विवाह वा सम्बन्ध भनेको भावनात्मक विषय पनि हो । यसमा मानिसले कति सोचेर वा कति नसोची निर्णय गर्छ भन्ने कुराले अर्थ राख्छ । त्यो व्यक्तिअनुसार फरक हुनसक्छ ।’

अन्य शारीरिक परीक्षण गरेजस्तै मनोवैज्ञानिक परीक्षण पनि समय–समयमा गरेमा यस्ता समस्याहरु हल गर्न सकिने उनले सुझाव दिए ।

समाजशास्त्री उप्रेती महिलालाई जस्तै पुरुषलाई पनि सम्बन्ध विच्छेदको प्रक्रिया सहज बनाएर यस्ता घटना कम गर्न सकिने बताउँछिन् । ‘तर पारिवारिक सम्बन्धको यस्तो विषय कानूनी उपचारतिर भन्दा पनि सामाजिक सद्भाव बढाउनेतर्फ सबै केन्द्रित हुनुपर्छ’, उनी भन्छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर