बामदेवको दाबी- ओलीले एकताका लागि माओवादी र नेकपा एससँग छलफल गरिरहेका छन् – Nepal Press

बामदेवको दाबी- ओलीले एकताका लागि माओवादी र नेकपा एससँग छलफल गरिरहेका छन्

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एमालेसँग तत्काल एकता भइहाल्ने स्थिति नरहे पनि निर्वाचनपछि कम्युनिष्ट पार्टीहरूसँग एकता हुने बताएका छन् ।

संघ र प्रदेशको निर्वाचनपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँतिने गौतमले दाबी गरेका हुन् ।

मङ्गलवार रुपन्देहीमा पत्रकारसँग कुराकानी गर्दै नेकपा विभाजन नहुँदै र विभाजनपछि आफू कम्युनिष्ट पार्टीलाई एक बनाउनुपर्छ भन्ने अभियानमा लागेको उनको दाबी छ । नेता गौतमले यसकै लागि एकता राष्ट्रिय अभियान गठन गरेर अगाडि बढिरहेको बताएका छन् ।

वाम एकताका लागि नेकपा एस र माओवादीसँग वार्ता भइरहेको बताउँदै उनले भने–‘सके निर्वाचनअघि त्यो हुन नसके निर्वाचनपछि भए पार्टी एकता हुने गरी अभियान अघि बढेको छ, एमाले अध्यक्ष ओलीले पनि नेकपा एससँग पार्टी एकता हुनसक्ने र माओवादीसँग कार्यगत एकता हुनसक्ने गरी छलफल भएको बताएकाले पछि सिंगो एकता अभियान बन्न सक्छ ।’

नेता गौतमले कम्युनिष्ट पार्टी भन्ने तर सधैँभरि कांग्रेस पार्टीसँग मिलेर जाने, गठबन्धन गर्ने हो भने कांग्रेस र कम्युनिष्टका बीचमा कुनै फरक नरहने हुनाले बाम एकताको आवश्यकता बढेको तर्क गरेका छन् ।

गौतमले भने– ‘यदि कम्युनिष्ट पार्टी एकीकृत हुन सकेनन् भने एकता राष्ट्रिय अभियान पार्टीकै रूपमा स्वतन्त्र ढंगले अघि बढ्छ ।’ वाम एकता नभए पनि आगामी निर्वाचनमा आफ्नो पार्टी एक्लै भए पनि सहभागी हुने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर