जेलमै ‘ध्यान’, फेरिँदै कैदीको जीवनशैली – Nepal Press

जेलमै ‘ध्यान’, फेरिँदै कैदीको जीवनशैली

हेटौँडा । सामान्यतया कुनै अपराध गरेर प्रमाणित भएपछि मानिसहरूलाई जेल सजाय हुने गर्दछ । पछिल्लो समय जेल शब्द प्रयोग गर्न नपाउने, कारागार या सुधार गृह भनिनुपर्ने बहस पनि चलिरहेको छ ।

जेलमा रहँदा पनि कैदीवन्दीको जीवन बिताएका धेरै मानिसहरूको आनीबानीमा परिवर्तन नआउने, जेलबाट छुटेपछि पुनः अपराधमा सक्रिय हुने घटना बढ्दै गएपछि मकवानपुरको भीम फेदी गाउँपालिकामा रहेको ‘भीम फेदी कारागार’ ले नियमित ‘विपश्याना ध्यान’ कक्षाहरू सञ्चालन गर्न थालेको छ ।

गत वर्षको पुस महिनामा गृह मन्त्रालयले कारागारमा यस्ता प्रकारका ध्यान शिविर सञ्चालनको अनुमति दिएसँगै भीम फेदी कारागारमा हालसम्म ३ वटा शिविर सञ्चालन गरिएको जेलर मदन लामा थिङले बताए ।

आफूलाई पनि ‘विपश्याना ध्यान’ शिविरबारे थाहा नभएको तर यो शिविरको प्रबन्ध मिलाउने संस्था ‘नेपाल विपश्याना सेन्टर’ र कारागार व्यवस्था विभागका निर्देशक झंकनाथ ढकालले सल्लाह र सुझाव दिएपछि पहिलो पटक जेठ १३ गतेबाट १० दिनसम्म ३० जना कैदीवन्दीको लागि शिविर आयोजना गरिएको थिङले बताए ।

जेलमा नियमित बस्ने स्थान भन्दा केहि पर महिला कैदीबन्दीको लागि निर्माण गरिएको तर हालसम्म प्रयोगमा नआएको भवनमा लगेर उनीहरूलाई ध्यान शिविरमा सहभागी गराउने गरिएको उनले बताए ।

१० दिनसम्म कठोर अनुशासन पालना गरेर गरिने ध्यानले कैदीबन्दीको आचरणमा सुधार, उनीहरूको सोचमा परिवर्तन, जीवनलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आएको पाइएको उनको अनुभव छ ।

शिविरबाट पुनः पुरानै स्थानमा फर्कँदा उनीहरूले शान्तिको महसुस गरेको पाइएकोले थप दुई चरणका शिविरहरू सञ्चालन गरिएको उनले बताए ।

हालसम्म भीम फेदीमा १ सय १८ जना कैदी बन्दीले शिविरबाट लाभ पाएका छन् । थिङ भन्छन् ‘शिविरमा गएका अधिकांशको आनिबानीमा आएको परिवर्तनले त म आफै चकित भएको छु ।’

कारागारमा ७ सय ४६ स्वदेशी र भारतीय ४८ जना कैदी छन् भने २ सय २७ स्वदेशी र १५ जना भारतीय बन्दी छन् । सबै स्वदेशी तथा विदेशी कैदी बन्दीलाई शिविरमा सहभागी गराउने लक्ष्य राखेको उनले बताए ।

अपराधकर्मबाट शारिरिक तथा मानसिक अवस्थामा समेत समस्या हुने गरेका कैदी समेत ध्यान शिविरबाट निकै फेरिएको आफूले पाएको भन्दै थिङले सरकारले यस्ता प्रकारको कार्यक्रमलाई थप प्रभावकारी ढंगबाट अघि बढाउनुपर्ने बत्ताउँछन् ।

नेपालको कारागारमा २०५२–०५३ मा नख्खु जेलमा शिविर भए पनि सरकारको नीतिको कारण यसले निरन्तरता भने पाउन सकेन तर विश्वका दुई दर्जन बढी देशको कारागारमा यो शिविरको अभ्यास भएको पाइन्छ ।

विभागका निर्देशक ढकाल पनि नख्खुमा गरिएको शिविरको नतिजा राम्रो देखिएकोले भीम फेदीलाई अनुमति दिएको बत्ताउँछन् । भीम फेदीमा पनि पहिलो चरणको नतिजा राम्रो आएपछि दोस्रो तथा तेस्रो चरणको शिविरहरू सञ्चालन भएको उनको भनाई छ ।

अपराध गरेर जेल सजाय पाएकाहरूमा छटपटीपन धेरै हुने, पश्चतापले गर्दा मानसिक समस्या समेत आउने गरेको भन्दै उनले यस्ता खाले ध्यान शिविरले उनीहरूको जीवनमा ऊर्जा थप्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर