किशोरी बलात्कार प्रयास गर्ने वडाध्यक्ष धरौटीमा छुटे, फूलमालाले स्वागत – Nepal Press

किशोरी बलात्कार प्रयास गर्ने वडाध्यक्ष धरौटीमा छुटे, फूलमालाले स्वागत

हेटोंडा । १४ वर्षकी किशोरीमाथि बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेका मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष भुवनसिं घलान २४ हजार रुपैयाँमा धरौटीमा छुटेका छन् ।

पक्राउ परेको एक सातामा वडाध्यक्ष घलानलाई जिल्ला अदालत मकवानपुरले २४ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । उनलाई प्रहरीले असार २८ गते पक्राउ गरेको थियो ।

वडाध्यक्ष रिहा भए पनि किशोरी भने सेफ हाउसमा छिन् । गत असार १८-१९ गते हेटौंडामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन आएकी कैलाश– ९ को कालिका माविकी विद्यार्थीले आफूलाई वडाध्यक्षले बलात्कारको प्रयास गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

हेटौंडा– १ जरुवाटोलस्थित असन गेष्ट हाउसको तेस्रो तलामा १९ गते राति १२ः३० बजे वडाध्यक्षले बलात्कार गर्ने उद्देश्यले शरीरको संवेदनशील अंगहरु सुम्सुम्याएको जाहेरीमा विद्यार्थीले उल्लेख गरेकी थिइन् ।

घटना १९ गते रातिको भए पनि किशोरीले असार २२ गते आफ्नो आमालाई घटनाको बारेमा बताउँदै वडाध्यक्षविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । प्रहरीले २२ गते उजुरी बुझ्न आनाकानी गरेपछि २३ गते महिला अधिकारकर्मीको सहयोगमा जाहेरी दर्ता भएको थियो ।

बलात्कार प्रयासको आरोप लागेका वडाध्यक्ष धरौटीमा रिहा हुँदा उनलाई फूलमालाले स्वागत गरिएको छ ।


प्रतिक्रिया

One thought on “किशोरी बलात्कार प्रयास गर्ने वडाध्यक्ष धरौटीमा छुटे, फूलमालाले स्वागत

  1. बिचरा बालिका ले पक्कै पनि आफ्नो इज्जत लाई त्यसै दाउमा लगाइनीन हाेला तर यहाँ छानबिन निश्पक्ष हुनुपर्ने हाे अनि वडा अध्यक्षकाे पक्षमा निर्णय हुदैमा फूलमालाले स्वागत गर्नुपर्ने जस्तो पनि लाग्दैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर