साता दिन नपुग्दै उप्कियो कालोपत्रे, पूर्वाधार हाकिमका भाइ र नगरपालिका कर्मचारी नै ठेकेदार (भिडिओ) – Nepal Press

साता दिन नपुग्दै उप्कियो कालोपत्रे, पूर्वाधार हाकिमका भाइ र नगरपालिका कर्मचारी नै ठेकेदार (भिडिओ)

कैलाली । शुक्लाफाँटा नगरपालिका-१२ कालागौडीमा कालोपत्रे भएको सडक एक साता नहुँदै भत्किन थालेको छ ।

यो सडक सुदूरपश्चिम प्रदेश सरकारको बजेटअन्तर्गत तीन खण्डमा ४२ लाखको योजना हो । त्यसमा २५ लाखमा सम्झौता भएको थियो । असार मसान्तसम्म सक्ने गरी गत पुस १८ मा ४ मिटर चौडा र ५८० मिटर लम्बाइ कालोपत्रे गर्ने गरी सम्झौता भएको थियो ।

गुणस्तरयुक्त काम नभएपछि अहिले स्थानीयले विरोध गरिरहेका छन् । सडक कालोपत्रे भइरहेको बेलामा पनि स्थानीयले पटक-पटक ठेकेदारलाई गुणस्तरमा प्रश्न उठाएकोमा कसैले चासो नदिएको स्थानीय केशवबहादुर साउँदले बताए ।

‘सडकमा गुणस्तरहीन र कमसल काम भइरहेको भन्दै हामीले प्राविधिकलाई धेरै पटक भनेका थियौँ । हाम्रो कुरा मान्ने भन्दा पनि उल्टै हामीलाई धम्क्याउने काम भयो’ उनले भने ‘मन्त्रीको दबाबका कारण यहाँ सडक निर्माण भइरहेको छ । तिमीहरूले अवरोध गरे अर्को ठाउँमा जान्छौँ यो काम यहीँ छोड्छौँ भन्दै हामीलाई प्राविधिकले हकारे ।’

पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख दीपक नेगीका भाइ प्रकाश नेगीले सडक निर्माणको ठेक्का पाएका हुन् । उनीसँगै ठेकेदारको रूपमा टेकेन्द्रप्रसाद भट्ट पनि लागिरहेका थिए । भट्ट शुक्लाफाँटा नगरपालिकाका कर्मचारी पनि हुन् । उनी नगरपालिकाको योजना शाखामा सवइन्जिनियरको जिम्मेवारीमा छन् ।

पूर्वाधार विकास कार्यालय प्रमुखका भाइ र नगरपालिकाका सवइन्जिनियरले ठेक्का लिएर गरेको काम गुणस्तरीय हुनुपर्नेमा गुणस्तरहीन भएको भन्दै स्थानीयले दुवै निकायप्रति आक्रोश पोखेका थिए ।

पूर्वाधार विकास कार्यालयका प्रमुखले भने पारिवारिक सम्बन्धका कारण ठेक्का उपलब्ध नगराइएको दाबी गरेका छन् । ‘उहाँ मेरो भाइ हो तर, भाइ भएकै कारण ठेक्का पाएको भन्ने कुरा गलत हो’ नेगीले भने, ‘अनलाइन माध्यमबाट ठेक्का गर्दा निष्पक्ष हुन्छ ।’

काम गुणस्तरहीन भएको गुनासो आएपछि निकासा रोकिएको र पुन: कालोपत्रे गर्न लगाइने सूचना अधिकारी हेमराज भट्टले बताए ।

कार्यालय प्रमुखले नेगीले नगरपालिकाका कर्मचारी पनि ठेकेदारको रूपमा काममा संलग्न रहेको पुष्टि गरे । सडक गुणस्तरहीन भएको भन्ने आफूले पनि जानकारी पाएको र त्यसबारे बुझ्न टोली पठाएको उनको जवाफ छ ।

‘पूर्णरूपमा कमसल भएको भन्ने कुरा होइन । केही ठाउँमा भत्किएको भन्ने मैले पनि सुने’ उनले भने ‘यस विषयमा बुझ्न टोली पठाएको छ । तथ्य कुरा त्यसपछि आउँछ ।’

स्थानीयले विरोध गरेपछि शुक्लाफाँटाका नगर प्रमुख (मेयर) रणबहादुर महरा पनि कालोपत्रे सडकको निरीक्षण गर्न पुगेका थिए ।
स्थानीयले योजनाबारे सूचना पार्टीसमेत नराखेको भन्दै विरोध गरेका थिए । योजनामा पटक-पटक भट्ट पुगेपछि नगरपालिकाकै योजना भएको भन्दै मेयरलाई गुनासो गरेका थिए । भट्ट नगरपालिकाको तर्फबाट योजनाको अनुगमन गर्न भन्दा पनि निर्माण व्यवसायीको तर्फबाट हेर्न आएको कुरा पछि उनीहरूले थाहा पाए ।

अनुगमनपछि मेयर महराले नगरपालिका कार्यालयमा निर्माण व्यवसायी ठेकेदारलाई बोलाएर छलफल गरेका थिए । छलफलमा पनि निर्माण व्यवसायीको तर्फबाट नेगी र भट्ट दुवै उपस्थित भएका थिए ।

छलफलका क्रममा नेगीले कालोपत्रे गर्दा तापक्रम नपुगेकाले भत्किएको बताए । उनले भने, ‘तापक्रम पुगेन, बर्खामा हतार हतारमा काम भयो । म्याद पुस मसान्तसम्म भएकाले समस्या आएका ठाउँमा मर्मत गर्छु ।’

मेयर महरासामु ठेकेदार नेगीले सडक मर्मत गर्ने प्रतिबद्धता जनाएका छन् । मेयर महराले कालोपत्रेमा टालो देखिने गरी मर्मत गर्नुभन्दा नयाँ कालोपत्रे नै गर्न निर्देशन दिएका छन् ।

महराले सडकमा गुणस्तरीय काम नभए उपल्लो निकायलाई पत्रसमेत काट्ने बताए । प्रदेश सरकारले गर्ने कामहरू बारे स्थानीय तहलाई जानकारी नगराउँदा पनि यस्ता कामहरू हुने गरेको उनको बुझाइ छ ।

‘प्रदेश सरकारको धेरै योजना गुणस्तरीय नभएको भन्दै हामीलाई स्थानीयले गुनासो गरेका हुन्छन्, यस्ता योजनाहरू गुपचुपमा आउँछन् सम्पन्न हुन्छन्’ उनले भने, ‘हामीलाई जानकारी भए हामी पनि नियमन गर्ने थियौं काम गुणस्तरीय हुने थियो । ’

उनले कालागौडीमा कालोपत्रे सडक मात्र नभई वडा नम्बर १ मा प्रदेश सरकारले गरेको १० लाखको ग्राभेल पनि गुणस्तरहीन भएको बताए ।

‘यहाँ १० लाखको ग्राभेल गरेको भनिएको छ त्यहाँ त्यति काम भएको छैन’ उनले भने ‘यस्ता धेरै कामहरू बजेट सक्नकै लागि भएको देखिन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर