मतदाता नामावली संकलनको समय थप्न जनमत पार्टीको माग – Nepal Press

मतदाता नामावली संकलनको समय थप्न जनमत पार्टीको माग

जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले मतदाता नामावली संकलन कार्यका लागि समय थप्न माग गरेको छ ।

जनकपुरधामस्थित मधेस प्रदेश निर्वाचन कार्यालयमार्फत निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाउँदै जनमतले समय अभावले धेरै योग्य नागरिक मतदाता नामावलीमा नाम लेखाउन नसकेकाले समय थप गर्न माग गरेको हो ।

जनमत पार्टीका नेता बीपी साहले अहिले पनि जिल्ला निर्वाचन कार्यालयहरुमा मतदाता नामावलीमा नाम समावेश गराउनेहरुको भीड बढिरहेकाले समय थप गर्न प्रदेश निर्वाचन कार्यालय प्रमुख श्रीधर पन्थीलाई ज्ञापनपत्र बुझाएको जानकारी दिए ।

पालिकास्तरमा पुगेर पनि फोटोसहितको मतदाता नामावली संकलन गर्नुपर्ने जनमत पार्टीको माग छ । स्थानीयस्तरमा प्रचारप्रसार नहुँदा धेरै योग्य नागरिकहरुलाई मतदाता नामावलीमा नाम लेखाउनेबारे जानकारीसमेत नभएकाले स्थानीयस्तरमा प्रचारप्रसार गर्न माग गरिएको छ ।

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर अहिले मतदाता नामावली संकलन भइरहेको छ । असार मसान्तसम्म मात्र नाम संकलन हुने निर्वाचन आयोगले जनाएको छ । तर, निर्वाचन कार्यालयहरुमा अहिले पनि मतदाता नामावलीमा नाम लेखाउनेहरुको भीड देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर