वृद्धभत्ता हिनामिना आरोपबारे काठमाडौं-४ का वडाध्यक्ष भन्छन्- कांग्रेसीहरूले मविरुद्ध षड्यन्त्र गरे – Nepal Press

वृद्धभत्ता हिनामिना आरोपबारे काठमाडौं-४ का वडाध्यक्ष भन्छन्- कांग्रेसीहरूले मविरुद्ध षड्यन्त्र गरे

काठमाडौं । काठमाडौं महानगरपालिका-४ का वडाध्यक्ष दिनेश महर्जनले नेपाली कांग्रेसले आफूविरुद्ध षड्यन्त्र गरिरहेको बताएका छन् ।

सरकारी लिखतसम्बन्धी कसुरमा अदालतले पक्राउ पुर्जी जारी गरेपछि महर्जनले उनले संलग्न नै नभएको घटनामा आफूलाई प्रतिवादी बनाइएको, जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने भनिसकेको अवस्थामा महान्यायधिवक्ता कार्यालयले स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा मुद्दा चलाउने निर्णय गरेकाले आफ्नो राजनीतिक जीवनलाई नै लक्षित गरी कांग्रेसका नेताले षड्यन्त्र गरिरहेको महर्जनको दाबी छ ।

वृद्ध भत्ताबापतको आफ्नो रकम हिनामिना गरेको भन्दै चिजमाया लिम्बुले जिल्ला सरकारी वकिल कार्यालयमार्फत २०७८ असार १७ गते काठमाडौं महानगरपालिका-४ का तत्कालीन वडाध्यक्ष मोहनबहादुर विष्ट तथा सदस्यहरू ध्रुवप्रसाद त्रिपाठी र महर्जनविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। तीनै जनाविरुद्ध पक्राउ पुर्जी पनि जारी भएको थियो । महर्जन त्यतिबेला वडा सदस्य थिए ।

उनीहरूले २०७८ साउन २४ गते जिल्ला सरकारी वकिल कार्यालयमा उपस्थित भएर बयान दिएका थिए । आरोपीले जाहेरीकर्ताको छोराहरू आफ्नो राजनीतिक प्रतिस्पर्धी भएको, जाहेरीकर्ताले पाउनुपर्ने नियमित वृद्ध भत्ताबापतको रकम बुझाउनेक्रममा जाहेरीकर्ताको नाम नजिकै नाम रहेकी वृद्ध महिलाको सहीछाप हुन गएको उनीहरूको बयान थियो ।

हाजिरी जमानीमा छाड्दा प्रमाण नस्ट नहुने भन्दै तीनैजनालाई प्रहरीले हाजिरी जमानी छाडेको थियो ।

अनुसन्धानका क्रममा आरोपीले पैसा हिनामिना नगरेको र मानवीय त्रुटीका कारण चिजमाया लिम्बुले पैसा लिइसकेको भनेर कागजमा देखिएको भन्दै प्रहरीले मुद्दा चलाउनु नपर्ने राय सरकारी वकिल कार्यालयलाई २०७८ मंसिर १० गते अनुसन्धान प्रतिवेदन बुझाएको थियो । लिम्बुको नाममा सहीछाप गरेको भनिएका व्यक्तिको सहीछाप फरेन्सिक परीक्षण गर्दा मिलेपछि मानवीय त्रुटी भएको प्रहरीले निष्कर्ष निकालेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयले दिएको रायमा सहमति जनाउँदै सक्कल फाइल महान्यायधिवक्ताको कार्यालय पठाइएको थियो । महान्यायधिवक्ता कार्यालयले चैत ८ गते काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयको निर्णय उल्टाएर बस्नेत, महर्जन र त्रिपाठी तीनै जनाविरुद्ध मुद्दा चलाउने निर्णय गरेको थियो ।

वैशाख १३ गते काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीलाई जिम्मा बुझिलिने व्यक्तिमार्फत थप अनुसन्धान गरी अभियोगपत्र दायर गर्ने प्रयोजनका लागि कार्यालयमा उपस्थित गराउनू भनी पत्र पठाएको थियो । सरकारी वकिल कार्यालयले अभियोग पत्र दर्ता गरेपछि असार २ गते अदालतले आरोपी तीनै जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

के भन्छन् महर्जन ?

कोरोना महामारीको समयमा वडाले घर-घरमा पुग‍ेर आफन्तमार्फत हस्ताक्षर गर्न लगाएर वृद्धवृद्धालाई भत्ता वितरण गरिएको थियो । स्थानीय पुन्यकुमारी सेढाईलाई भत्ता दिनका लागि तत्कालीन अध्यक्ष विष्टसहितको टोली टुसालस्थित उहाँको घरमा पुगेको रहेछ । त्यहाँ त्रिपाठी जी र म दुवै जना थिएनौँ ।

वृद्धलाई बाहिरको मान्छेले किन भेट्नु भनेर बुहारीलाई भित्र हस्ताक्षर गर्न पठाइएको रहेछ । त्यतिबेला सेढाईले १२ हजार पाउनु भएको थियो । त्यसको झन्डै दुई हप्तापछि चिजमायाको नाति भत्ता लिन भन्दै वडा कार्यालय आउनु भएको रहेछ । तर, हजुरआमाको नाममा पैसा बुझिलिएको सहीछाप देखिएपछि उहाँहरूले विवाद गर्न सुरु गर्नुभयो ।

सूचीमा नजिकै नाम रहनु भएकी सेढाईको हस्ताक्षर लिम्बुको नाममा पर्न गएको रहेछ । पछि सेढाईसँगै गएर बुझ्दा पनि उहाँले आफूले वृद्धभत्ता लिएको भनी स्वीकारेकाले यसमा विवाद गरिरहनु पर्ने विषय थिएन । मानवीय त्रुटि भएको पक्कै हो । लिम्बुको खातामा पनि पैसा पठाइसकिएको थियो त्यसपछि । तर, मेरो राजनीतिक करिअरलाई लक्षित गरेर मैले स्थानीय निर्वाचनमा अध्यक्षका लागि मनोनयन दर्ता गरेको भोलिपल्ट वैशाख १३ गते मेरो नाममा चिठ्ठी आयो, प्रहरीबाट । यसमा नेपाली कांग्रेसका नेताको योजनामा महान्यायधिवक्ता कार्यालयबाट षड्यन्त्र भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर